डच टिमको पहिलो जित
काठमाडौँ: त्रिकोणात्मक टी-ट्वान्टी श्रृंखलामा नेदरल्यान्ड्सले पहिलो जित हासिल गरेको छ । श्रृंखलाको उद्घाटन खेलमा घरेलु टिम नेपालसँग पराजित भएको नेदरल्यान्ड्सले आइतबार मलेसियामाथि १५ रनको जित दर्ता गर्यो ।
टस जितेर ब्याटिङ रोजेको डच टिमले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १९१ रन बनायो । नेदरल्यान्ड्सले तयार गरेको योगफलमा म्याक्स ओ डोडको शतक सम्मिलित थियो । उता मलेसियाले २० ओभरमा आठ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो ।
त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी श्रृंखलामा पहिलो जितको खोजीमा रहेको नेदरल्यान्ड्सका डोडले ७३ बल सामना गर्दा १३३ रन बनाए । उनले प्रहार गरेको शतक श्रृंखलाकै पहिलो शतक हो । डच टिमका लागि स्कट एडवार्डस र बेन कुपरले क्रमशः ३१ र २० रनको योगदान गरे । बलिङतर्फ मलेसियाका पवनदिप सिंह र अनवर रहमानले एक-एक विकेट हात पारे ।
खेलमा मलेसियाका ब्याट्सम्यानहरुले खराब सुरुवात गरे । ओपनरद्वय सैयद अजिज र अनवर अरुदिन सस्तैमा समेटिए । अजिजले सात रन बनाउँदा अरदिन छ रनमा पभेलियन फर्के । त्यस्तै तेस्रो नम्बरमा ब्यटिङ गर्न आएका कप्तान अहमद फैज शून्यमा आउट भए ।
पराजित टिमका लागि बिरनदिप सिंहले सर्वाधिक ८७ रन जोडे । तर उनको विष्फोटक ब्याटिङले मलेसियाको हार टार्न सकेन । मलेसियाका लागि शरविन मुनियान्डी र अमिनुद्दिन राम्लीले क्रमशः २८ र २६ रन बनाए ।
नेदरल्यान्ड्सका लागि आर्यन दत्त, बास डे लिडे र सेबस्टियन ब्राटले २-२ विकेट लिए । अनि फिलिप्पे बोइसभान र पिटर सिलारले एक-एक विकेट थपे ।
श्रृंखलाको तेस्रो खेलमा सोमबार नेपाल र मलेरिया भिड्नेछन् । श्रृंखलामा दुई खेलको समाप्तीसँगै नेपाल र नेदरल्यान्ड्सको दुई-दुई अंक भएको छ । समान अंक भएपनि रन रेटका आधारमा आयोजक टोली शीर्षस्थानमा छ भने डच टिम दोस्रो स्थानमा रहेको छ । अंकविहिन मलेसिया अन्तिममा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया