बोका जुनियर्स र बम्बोनेराको आकर्षण
काठमाडौँ : म्यानचेस्टर युनाइटेडमा एडिन्सन काभानीको प्रदर्शन सन्तोषजनक छ । ओल्ड ट्रार्फोडमा उनले आफूलाई प्रमाणित गरेका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फ्री-एजेन्टका रुपमा युनाइटेड पुगेका काभानीको नाममा सात लिग गोल छ ।
एक वर्षको सम्झौँता गरेका काभानीलाई युनाइटेड थप केही वर्ष क्लबमा राख्न चाहन्छ । तर काभानी भने दक्षिण अमेरिका फर्कन चाहन्छन् । तर उरुग्वे होइन, अर्जेन्टिना । उनी जान चाहेका क्लब हो, बोका जुनियर्स । काभानी मात्रै होइन, लुकास टोरेराको चाहना पनि बोका जुनियर्स जाने हो । हाल एथलेटिको म्याड्रिडमा रहेका टोरेरा सिजनको अन्त्यमा आर्सनल फर्कनेछन् । तर उरुग्वेकै मिडफिल्डर टोरेरा अर्को सिजन आर्सनलबाट खेल्न इच्छुक छैनन् । किन की उनलाई पनि ब्यूएनोस एरिसकै क्लबले तानेको छ ।
‘बोका जुनियर्सबाट खेल्ने मेरो सपना हो । मेरो निर्णय प्रष्ट छ । म अर्जेन्टिना जान चाहन्छु । म २५ वर्षको भए । बोका जुनियर्स जाने र त्यहाँ उपाधि जित्ने यो सही उमेर हो,’ गत साता टोरेराले एक अन्तवार्तामा भनेका छन् ।
टोरेरा मात्रै होइन काभानीका पिताले पनि बोका जुनियर्सबारेमा यस्तै धारणा ब्यक्त गरेका छन् । ‘काभानी बोका जुनियर्सको जर्सी लगाउन चाहन्छन् । त्यसकारण उ दक्षिण अमेरिका फर्कने सम्भावना बलियो छ,’ काभानी सिनियरले भने ।
त्यसो त काभानी र टोरेरा मात्रै होइन नाम चलेका धेरै खेलाडीले बोका जुनियर्समा खेल्ने इच्छा ब्यक्त गर्दै आएका छन् । सन् २०१९ मा साओ पाओलो जानुअघि डानी आल्भेस पनि बोका जुनियर्ससँग जोडिएका थिए । आल्भेससँगै पेरुका स्टार खेलाडी पाआलो गुरेरो पनि बोका जुनियर्स जाने हल्ला चलेको थियो । एएस रोमाका डानियल डे रोस्सीले त केही महिना अर्जेन्टिनियन क्लबमा बिताए पनि ।
बम्बोनेरा
बम्बोनेरा रंगशाला बोका जुनियर्सको घरेलु मैदान हो । भनिन्छ बम्बोनेराको जस्तो वातावरण विश्वका कमै रंगशालामा अनुभुती गरिन्छ । ‘बम्बोनेराको वातावरणले गर्दा नै म बोका जुनियर्सलाई सम्मान गर्छु,’ सन् २००९ मा ब्राजिलियन मिडफिल्डर फेलिपे मेलोले भनेका थिए । कोभिड-१९ ले अन्य फुटबल रंगशालालाई जस्तै बोम्बेनेरालाई पनि असर गरेको छ । जब दर्शक फर्कनेछन्, बम्बोनेरा ब्युझनेछ ।
बम्बोनेराको स्वरुप अन्य रंगशालाको भन्दा फरक छ । जग्गा थोरै भएकाले बम्बोनेरा अस्वभाविकरुपमा अग्लो बनाइएको हो । पहिलो पटक बम्बोनेरा पुग्ने फुटबल प्रेमीले सकभर तलकै सिट लिएको राम्रो । स्थानीय यही सल्लाह दिन्छन् । करिब ६० हजार दर्शक अट्ने बम्बोनेराको तीन दिशामा ठूला प्याराफिट छन् । बोका जुनियर्सले चौथौँ प्याराफिट बनाउन नचाहेको होइन । तर स्थानियले जग्गा छाड्न मानेनन् ।
बम्बोनेरामा जब बोका जुनियर्सले गोल गर्छ, दर्शकको ‘सेलब्रेसन’ कमालको हुन्छ । रंगशालाबाट निस्कने ध्वनीले ला रोका गुञ्जयमान हुन्छ । पहिलो पटक बम्बोनेरा पुग्नेका लागि त्यहाँको वातावरण बिर्सनै नसकिने क्षण बन्छ ।
म्याराडोना र रिकेल्मी
काभानी र टोरेरा बोका जुनियर्स जान उत्साहित छन् । अनि बोका जुनियर्स आफैँ पनि कभानी र टोरेरा जस्ता स्थापित नाम भित्र्याउन आतुर छ । सन् २००० ताका, बोका जुनियर्सले गज्जबको टिम बनाएको थियो । प्रशिक्षक थिए कार्लोस बियान्ची । त्यसबखत बोका जुनियर्सले तीन पटक कोपा लिर्बेटाडोरेस जित्यो । अनि दुई पटक इन्टरकोन्टिनेन्टल कप पनि । त्यो पनि रियल म्याड्रिड र एसी मिलानलाई हराएर । त्यसपछि बोका जुनियर्सलाई समर्थन गर्नेको संख्या दक्षिण अमेरिकामा व्यापक बढ्यो । त्यति मात्रै होइन, जापानमा समेत बोका जुनियर्सका समर्थक देखिन थाले ।
सन् २००० ताका, बोका जुनियर्सले गज्जबको टिम बनाएको थियो । प्रशिक्षक थिए, कार्लोस बियान्ची । त्यसबखत बोका जुनियर्सले तीन पटक कोपा लिर्बेटाडोरेस जित्यो । अनि दुई पटक इन्टरकोन्टिनेन्टल कप पनि । त्यो पनि रियल म्याड्रिड र एसी मिलानलाई हराएर । त्यसपछि बोका जुनियर्सलाई समर्थन गर्नेको संख्या दक्षिण अमेरिकामा व्यापक बढ्यो । त्यति मात्रै होइन, जापानमा समेत बोका जुनियर्सका समर्थक देखिन थाले ।
त्यतिबेलाका बोका जुनियर्सका ठूला स्टार थिए, जुवान रोमन रिकेल्मी । बोका जुनियर्सको इतिहासमा सबैभन्दा ठूला आइकन म्याराडोना नै हुन् । त्यसपछि नाम आउँछ, रिकेल्मीको । उनै रिकेल्मी अहिले क्लब उपाध्यक्ष छन् । काभानी र टोरेरासँग छलफल गर्ने जिम्मा रिकेल्मीकै हो ।
घर फर्कने चाहना
कोभिड-१९ ले धेरै मानिसहरूलाई घरभन्दा बाहिर अड्कायो । धेरैले घरलाई मिस गरे । फरक महादेशमा रहेका दक्षिण अमेरिकी फुटबलरहरू ‘होम सिक’ भएको खबर पनि आए । ‘म घरबाट नजिक रहन चाहन्छु । मैले बुवालाई धेरै मिस गरे । घर भन्दा टाढा रहेको यो युरोपमा मैले चैनका साथ खेल्न सकेको छैन । त्यसकारण पनि म युरोप छाड्न चाहन्छु,’ टोरेराले भनेका छन् ।
काभानीका लागि पनि परिवार महत्वपूर्ण छ । ‘एडिन्सन परिवारसँग रहन चाहन्छ । त्यसकारण उसले दक्षिण अमेरिकाकै लिग खेल्ने इच्छा राखेको हो । म पनि एडिन्सन आफ्नै महादेश फर्केको हेर्न चाहन्छु । तर उरुग्वेको लिग खेलेर नाम चलेको प्रतियोगिता जित्न सम्भव छैन । त्यसैले दक्षिण अमेरिकमै ठूलो लिग रोज्न आवश्यक छ,’ काभानीका पिताले हालै एक अन्तवार्तामा भनेका छन् ।
काभानी र टोरेरा जस्ता खेलाडीहरू दक्षिण अमेरिका फर्कन चाहिरहेका बेला बिर्सन नहुने अर्को तथ्य छ । त्यो भनेको, बोका जुनियर्सकै उत्पादन रिकेल्मी, लियान्द्रो पारोडेस र कार्लोस टेभेजको युरोप यात्रा । अर्जेन्टिनाको लिगमा नाम बनाएपछि ती तीन खेलाडी युरोप हानिएका थिए । कारण ? आर्थिक रुपमा थप बलियो बन्न ।
बोका जुनियर्स युरोपका क्लबहरू जस्तो धनी छैन । त्यसकै कारण हो आल्भेसले बोका जुनियर्स आउने चाह राखे पनि स्थान्तरण सम्भव नभएको । आल्भेस हाल ब्राजिलमा छन् । साओ पाओलोमा वर्षको पाँच मिलियन अमेरिकी डलर कमाउँछन् । यद्यपि यो तलब आल्भेसले बार्सिलोना वा युभेन्टसमा पाएको तलब भन्दा कम हो । तर बोका जुनियर्समा सर्वाधिक तलब भएका टेभेजको कमाई भन्दा चाँहि धेरै ।
फेरि बोका जुनियर्ससँग स्थान्तरणका लागि खर्च गर्ने ठूलो बजेट पनि छैन । आर्सनलले टोरेराका लागि माग्ने स्थान्तरण रकम बोका जुनियर्सले तिर्न सक्ने अवस्था छैन । त्यसकारण टोरेराले भने जस्तै ‘लोन मुभ’ नै एक मात्र उपाय हो । यद्यपि उरुग्वेका दुई खेलाडी अनुबन्ध हुने सम्भावना कम छ ।
तर बोका जुनियर्सकै मार्कस रोजो भने आशावादी छन् । विशेष गरी काभानीको स्थान्तरणको विषयमा । छ महिनाअघि मात्रै म्यानचेस्टर युनाइटेडबाट बोका जुनियर्स आएका रोजोले काभानीसँगै समुन्द्रमा माछा मार्ने सपना बुनेका छन् । ‘काभानी बोका जुनियर्स आएपछि हामी माछा मार्न जानेछौँ । मैले उसलाई यो योजना सुनाइसकेको छु । इंगल्यान्डमा छँदा उ मलाई फिसिङ गर्न जाउँ भनिरहेको हुन्थ्यो । मैले उसलाई अर्जेन्टिना आएपछि फिसिङ जानुपर्छ भनेको छु,’ रोजोले आफ्नो योजना सुनाए । (गोलडट कमबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया