खेलकुद

खेलाडीको सपना बन्यो भलिबल कोर्ट

इकागज |
असोज २१, २०७९ शुक्रबार १०:५९ बजे

मकवानपुर - मकवानपुर खेलाडीको लागि उर्वर भूमि मानिन्छ । मकवानपुरबाट विभिन्न विधामा खेलाडीहरूले अन्तराष्ट्रिय स्तरमा सहभागिता जनाएका छन् । विभिन्न समयमा विजयी भएर समेत जिल्लाको नाम राख्न सफल भएका छन् ।

तर खेलाडीको सम्भावना उच्च भए पनि खेल क्षेत्रको लगानीमा भने समस्या रहेको छ । खेलाडीहरूको लागि आवश्यक बजेटको लगानी गर्न नसकेकै कारण जिल्लामा आवश्यक मात्रामा कोर्टहरू बन्न सकेका छैनन् । यसले खेलक्षेत्रमा समेत निरासा हाबी हुन थालेको खेल पत्रकार सुवास बिडारी बाउँछन् । यसैको एउटा उदाहरण हो वर्षौदेखि निर्माण कार्य अधुरो रहेको भलिबल कोर्ट ।


बजेट अभावमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ हुप्रचौरमा निर्माणधीन भलिबल प्रशिक्षण सेन्टरको निर्माण कार्य अधुरो भएको धेरै समय भयो । प्रदेश र संघीय सरकारले आवश्यक बजेट विनियोजन नगर्दा आठ वर्षअघि निर्माण सुरु भएको बहुउद्देश्यीय भलिबल कोर्टले हालसम्म पूर्णता पाएको छैन । करिब साढे दुई कठ्ठा क्षेत्रफलमा फैलिएको प्रशिक्षण सेन्टर हालसम्म जालीले घेर्ने र दर्शक बस्न सिमेन्टको प्यारापिटको केही अंश मात्रै निर्माण भएको छ ।

जिल्ला भलिबल संघले स्थानीय तहमा जनप्रतिनिधि आएसँगै हेटौंडा उपमहानगरपालिकाको २५ लाख रुपैयाँ सहयोगमा निर्माण कार्य सुरु गरेको थियो । हालसम्म प्रशिक्षण सेन्टर निर्माण गर्न करिब ३५ लाख रुपैयाँ खर्च भइसकेको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरले तीन लाख, तत्कालीन जिल्ला विकास समितिले ५ लाख र भलिबल संघले दुई लाख रुपैयाँ बजेट भौतिक पूर्वाधार निर्माणमा भएको थियो ।

पछिल्लो समयमा जिल्लामा भलिबल प्रतियोगिताको बाढी नै आएपछि संघले प्रशिक्षण सेन्टर निर्माणलाई तीव्र पार्न लबिङ गरिरहेको छ । ‘हामीलाई चालु आर्थिक वर्षमा पनि उपमहानगरबाट १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । प्रदेश र संघीय सरकारले बेवास्ता गर्दा चाहेर पनि छिट्टै योजना पूर्ण गर्न नसक्ने भलिबल संघका जिल्ला अध्यक्ष वसन्तकुमार सिटौलाले बताए ।

प्रशिक्षण सेन्टरलाई इन्डोर वा आउटडोर कुन रूपमा विकसित गर्ने अझै टुंगो लागिसकेको छैन । इन्डोर बनाउनका लागि अझै करिब एक करोड रुपैयाँ खर्च अनुमान गरिएको छ । आउटडोरका लागि ५० लाख रुपैयाँ भए पुग्ने अध्यक्ष सिटौलाले बताए । 'अन्य स्थानीय तहसँग पनि हामीले बजेट मागेका छौं, तर, सकारात्मक प्रतिक्रिया पाएका छैनौं,' उनले भने । अध्यक्ष सिटौला प्रदेश र संघीय सरकारको बजेटमा यस योजना समावेश गर्न सकेको खण्डमा सहजै छिट्टै निर्माण सम्पन्न हुने बताउँछन् ।

प्रशिक्षण सेन्टरमा करिब ३ हजार दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने लक्ष्य राखिएको छ । 'तत्काल हाम्रो उद्देश्य १५ सय दर्शक अट्ने क्षमताको प्यारापिटसहित दुईटा कोर्ट, एउटा चेन्जिङ रुम र मञ्च निर्माण गर्ने हो,' उनले प्रशिक्षण केन्द्र नहुँदा खेलाडी उत्पादनमा असर परेको बताए । 

खेलाडीको लागि खेल भन्दा ठुलो कुरा केही हुदैन, खेलेर पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने विश्वास दिलाउँन यही अनुसारको खेल र खेलको लागि आवश्यक भौतिक पूर्वाधार चाहिने संघकी उपाध्यक्ष तथा भलिबलको राष्ट्रिय खेलाडी चुडा खड्का बताउँछिन् । 'स्थानीय, प्रदेश तथा संघीय सरकारले खेलक्षेत्रको योगदानलाई बुझ्नु जरुरी छ, बोलेर मात्रै हैन, योगदान गरेर देखाउनु जरुरी छ,' खड्काले भनिन् ।

'नयाँ पुस्तालाई खेलमा आकर्षण गराउँन नियमित रूपमा प्रशिक्षण सञ्चालन गर्न नसक्दा हाम्रो जिल्लाबाट राष्ट्रियस्तरका खेलाडी उत्पादनमा कमी आउन थालेको छ' खड्काले भनिन्, 'खेलाडी उत्पादन गर्न हामीलाई प्रशिक्षण सेन्टर आवश्यक छ ।' संघले खेलाडी, रेफ्री र प्रशिक्षक सँगसँगै उत्पादन गर्ने तयारी गरिरहेको सिटौलाले दाबी गरे । 'हामी अब रेफ्री र प्रशिक्षकको तालिम सञ्चालन गर्छौं । स्थानीय तहसँग समन्वय गरेर मासिक तलब नै दिएर प्रशिक्षक व्यवस्था गर्नेछौं । यसको तयारी अन्तिम चरणमा पुगिसकेको छ,' उनले भने । सिटौलाले प्रशिक्षक नियुक्त भएसँगै जिल्लाको दसवटै स्थानीय तहमा प्रशिक्षणको व्यवस्था मिलाइने बताए ।

पछिल्लो समय स्थानीय तहमा समेत भलिबल संघ गठन भइरहेका छन् । जसका कारण पनि प्रतियोगिताको संख्या बर्सेनि बढिरहेको छ । दसैंको अवसर पारेर जिल्लाभर असोज महिनामा मात्र १५ भलिबल प्रतियोगिता सञ्चालन भएको संघले जनाएको छ । सरकारले भलिबललाई राष्ट्रिय खेलको रूपमा अगाडि बढाएसँगै यसप्रति युवापुस्ताको क्रेज बढेको पाइन्छ ।

प्रशिक्षण सेन्टर नहुँदा नियमित प्रशिक्षणमा समस्या भइरहेको भलिबलका पूर्वराष्ट्रिय खेलाडी सन्तोष श्रेष्ठले बताए । '१२ महिना प्रशिक्षण गर्न इन्डोर हल आवश्यक पर्छ । यस प्रशिक्षण सेन्टरलाई सोही अनुरुप विकास गर्नुपर्छ भन्ने हाम्रो माग रहँदै आएको छ,' उनले भने । उनले महिला र पुरुष भलिबल टोलीलाई नियमित रूपमा प्रशिक्षण व्यवस्था मिलाउन दुइटा कोर्ट आवश्यक रहेको बताए ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरका सचिव राजन दाहालले भलिबल प्रशिक्षण केन्द्रको स्तरोन्नति गर्न लामो समयदेखि प्रयत्न गरेको दाबी गरे । 'हाम्रो समितिमा पूर्वाधार निर्माण गर्न खासै धेरै बजेट हुँदैन । हामीलाई माथिल्लो निकाय राष्ट्रिय खेलकुद परिषद् र संघीय सरकारमा आवश्यक बजेट विनियोजन गर्न पटक–पटक सिफारिस गरेकै थियौं,' उनले भने ।

धेरै राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको यस हुप्रचौरमा रहेको क्रिकेट र फुटबल मैदानको कथा पनि भलिबल प्रशिक्षण केन्द्रकै जस्तो छ । हाल मकवानपुर जिल्ला स्तरीय खेल हुँदा समेत दर्शक व्यवस्थापनलगायतको पाटोमा समस्या रहँदै आएको छ ।
 


Author

थप समाचार
x