खेलकुद

आइपीएल जित्‍न दबाब थियो : जयवर्धने

इकागज |
कात्तिक २६, २०७७ बुधबार १८:३९ बजे

मगंलबार इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधी पाँचौ पटक कब्जा गर्दै मुम्बई इन्डियन्स प्रतियोगिताकै सर्वाधिक सफल टोली बन्यो । मम्बईले यस अघि सन् २०१३, १५, १७ र १९ मा आइपीएल जितेका थियो । रोचक के छ भने मुम्बईले यस अघि विजोर वर्षहरूमा मात्र आइपीएलको उपाधी हात पारेको थियो । तर यस पटक उसले  जोर वर्षमा पनि उपाधी जित्यो । अब भाग्यवादीहरुले मुम्बईले विजोर वर्षमा मात्र उपाधी जित्छ भन्‍न सक्दैनन् । 

यसैबीच मुम्बईका प्रशिक्षक माहेला जयवर्धनेले आफ्नो टीमले विजोर वर्षमा उपाधी जित्‍न नसक्ने अन्धविश्‍वासलाई तोड्न यसपटकको संस्करण जित्‍नै पर्ने दवाबबाट गुज्रेको बताए । त्यसैगरी डिफेन्डिङ च्याम्पियन भएकाले आफ्नो टीम स्वत प्रतियोगिताको दाबेदार हुनपुगेकाले पनि थप दबाब पर्न गएको उनको भनाइ थियो । 


‘यसपटकको प्रतियोगिता सजिलो थिएन । मुम्बईले उपाधी कयौं पटक जितेको तर लगातार जित्‍न नसकेको परिपेक्षमा हामीलाई यो पटक जित्‍न दबाब त हुने नै भयो । त्यसकारण पनि खेलाडीहरुलाई त्यही अनुरुप उत्प्ररेणा दिन जरुरी थियो । हामीले त्यहीअनुरुपको अभ्यास र तयारी गरेका थियौं,’ जयवर्धनेले भने । 

सन् २०११ को आइपीएलको उपाधी भिडन्तमा चेन्‍नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई हरायो । त्यस प्रतियोगिता चेन्‍नईले एकपक्षिय रुपमा कब्जा जमाएको भनेर विश्लेषण गरियो । 

यसपटक पनि मुम्बईलाई टक्कर दिन कुनै पनि टीम सफल नभएको भनियो । पहिलो खेलमै पराजय भोगेको मुम्बईले समूहचरणमा १८ अंक बटुल्यो । उपाधी भिडन्तमा आमनेसामने हुनुभन्दा पहिले नै मुम्बईले दिल्ली क्यापिटल्सलाई दुईपटक पराजित गर्‍यो । मुम्बईले आइपीएलमा कुनै पनि बिन्दुमा बलियो चुनौतीको सामना गर्नुपरेन । मुम्बई ब्याटिङमा बलियो देखियो । मध्यक्रममा समेत किइरोन पोर्लाड र हार्दिक पान्डेयजस्ता खेलाडीहरूले मुम्बईका लागि लोभलाग्दो प्रर्दशन गरे । उनीहरु यस प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी मध्येका थिए । 

‘सायद छक्का प्रहार गर्ने क्षमता मुम्बईको डिएनएसँग नै जोडिएको छ । हाम्रा धेरै खेलाडीहरु छक्का प्रहार गर्नमा माहिर नै छन् । हामीले प्रतियोगिता भर नै आक्रामक खेल खेल्ने प्रयास गर्‍यौं । ब्यक्तिगत रुपमा मैले खेलाडीलाई उनीहरुको आ आफ्नो भुमिका सम्झाउने प्रयत्न गरे । खेलाडीहरुले त्यस अनुसार नै खेल्ने प्रयत्न गरे । जसले गर्दा हामीलाई सजिलो भयो,’ जयवर्धनेले थपे । 


 


Author

थप समाचार
x