खेलकुद

उद्घाटनमा झल्किने छ सात प्रदेशको संस्कृति

खेलकुद 'कुम्भमेला' औपचारिक रूपमा आजदेखि सुरु हुँदै

इकागज |
असोज २८, २०७९ शुक्रबार ६:५३ बजे

कास्की- ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आजदेखि औपचारिक सुरु हुँदैछ । प्रतियोगिताको आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्दै छन् । राष्ट्रिय खेलकुदको उद्घाटनका लागि उपराष्ट्रपति पुन पोखरा आइसकेका छन् । 

राष्ट्रिय खेलकुदको अपनत्व प्रदेशवासीलाई गराउन यसपटक नवौँ संस्करणमा गण्डकीका आठ जिल्लामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म एक साता प्रतियोगिताअन्तर्गतका खेल आयोजना गरिएसँगै प्रदेशभर खेलकुदको माहोल तातेको छ ।    
    
हिमाली जिल्ला मनाङ, मुस्ताङ र लमजुङबाहेकका जिल्लाले खेल आयोजनाको अवसर पाएका छन् । कोभिड–१९ महामारीको प्रभावले हरेक दुई–दुई वर्षमा हुनुपर्ने प्रतियोगिता तोकिएको समयभन्दा डेढ वर्ष ढिला गरी आयोजना भयो । विसं २०७७ फागुन अन्तिम साताका लागि तय भएको नवौँ कोरोनाकै कारण पटक–पटक स्थगन हुँदै आएको थियो ।    
    
प्रतियोगिताको अन्तिम तयारीले मुख्य आयोजनास्थल पर्यटकीय सहर पोखरा खेलकुदमय बनेको हो । खेलाडी, खेलकुदकर्मीसहित विभिन्न पेशा व्यवसायीहरू उत्साहित बनेका छन् । विसं २०७६ मङ्सिरमा १३औँ दक्षिण एसियाली खेलकुदपछि पर्यटकीय सहर पोखराले पहिलोपटक घरेलु खेलकुदको सर्वोच्च प्रतियोगिताको आतिथ्यता प्रदान गर्दैछ । यसअघि विसं २०४० मा पोखरामा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद भएको थियो । 
    
प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । कतिपय खेलका पूर्वाधार निर्माण र स्तरोन्नतिमा ढिलाइ भए पनि समग्रमा राष्ट्रिय खेलकुदलाई भव्य बनाउने गरी तयारीका काम भएका छन् ।    
    
खेलस्थल, प्रतियोगिता सञ्चालन, समारोह सुरक्षा, खेल सामग्री सबै हिसाबले प्रतियोगिताको तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बताए ।    
    
उद्घाटनमा झल्किने छ सात प्रदेशको संस्कृति    
    
 राष्ट्रिय खेलकुदको भव्य उद्घाटनका लागि पोखरा रङ्गशालामा दुई सातादेखि तयारी भइरहेको छ । रङ्गशालाभित्र र बाहिरसमेत नेपाली सेना, विद्यालयका विद्यार्थी तथा विभिन्न सांस्कृतिक समूहहरूको तयारी छ । शुक्रबार साँझ ४ बजे प्रतियोगिता विधिवत उद्घाटन गर्ने कार्यक्रम छ । पोखरा रङ्गशाला उद्घाटन समारोहका लागि सिङ्गारिएको छ । ठाउँ–ठाउँमा स्वागतबोर्ड, ब्यानर र बत्तीले साँझमा झिलीमिली छ ।    
    
उद्घाटनमा देशका सात प्रदेशको संस्कार र संस्कृति गीत, सङ्गीत, नृत्य र झाँकीको माध्यमबाट समारोहमा झल्किनेछ । नेपाली सांस्कृतिक विविधतालाई राष्ट्रिय खेलकुदको उद्घाटनले प्रतिनिधित्व गर्नेछ । नेपालको भूगोल र ठाउँ विशेषअनुसारको मौलिक संस्कृति प्रस्तुत गर्ने गरी नृत्य र झाँकी प्रदर्शन हुने समारोह उपसमितिले जनाएको छ । उद्घाटन समारोह दुई घण्टाको हुनेछ ।    
    
प्रदेश नं १ को राई-लिम्बूको चर्चित साकेला नृत्य, मधेसको सतार र धिमाल जातिको मौलिक नृत्य, बागमतीको नेवारी संस्कृति, गण्डकीको कौडा, घाँटु र लोकगीत, लुम्बिनीको थारू संस्कृति, कर्णालीको मगर समुदायको झ्याउरे र सुदूरपश्चिमको हुर्केली गीत र झाँकी प्रस्तुत समारोहमा प्रदर्शन हुनेछ । 
    
राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य एवं समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले उद्घाटन समारोहलाई भव्य बनाएर राम्रो सन्देश देशभर दिने गरी उद्घाटन समारोहको तयारी गरिएको बताए ।    
    
नेपालको हिमाल, पहाड र तराईको भौगोलिक विधिधता र त्यसभित्रको जातिय र सांस्कृतिक फरकपनलाई झल्काउने गरी झाँकीहरु प्रस्तुत गरिने उनले जानकारी दिए। 'उद्घाटन समारोहले समग्र प्रतियोगिताको विशेष अर्थ राख्दछ । नेपालको इतिहासमै पर्यटकीय र खेलकुदको सहरमा राम्रो र उल्लासमय वातावरणमा उद्घाटन समारोह बनाउने छौँ, सिङ्गो देश खेलकुदमय हुनेछ,' उनले भने ।
    
 पोखरा रङ्गशालाको अत्याधुनिक फुटबल स्टेडियममा नेपाली सेनाको मार्चपासबाट उद्घाटन समारोह सुरुआत हुनेछ । सेनाका तीन सय जनाले मार्चपास गर्नेछन् । मार्चपासपछि सलामी अर्पणको कार्यक्रम हुनेछ । त्यसपछि सेनाको एक टुकडीले नाच प्रस्तुत गर्नेछ । नेपाली सेनाका १८ जना महिलाको टोलीले सात प्रदेश, विभाग र खेल सङ्घको झण्डा बोकेर रङ्गशालामा मार्चपास गर्नेछन् ।    
    
संस्कृतिको अनुपम नमूना गण्डकी प्रदेशको विभिन्न जाति, जनजाति र समुदायको संस्कार र संस्कृति झल्कने १२ वटा झाँकी प्रस्तुत हुनेछ । गण्डकी प्रदेशको चर्चित मगर समुदायको कौडा, गुरुङको घाँटु, हिमाली भोटेको याक लगायतका नृत्य प्रस्तुत प्रदर्शन हुनेछ ।    
    
पोखरा रङ्गशालाको खेल मैदान ढाकिने गरी चार सय विद्यार्थीले खेलकुदसँग सम्बन्धित र अन्य यहाँको मौलिक गीतमा नृत्य गर्नेछन् । नृत्यका लागि चार सय जनाका दरले तीन वटा समूह बनाइएको छ । तीनवटै समुहले फरक फरक गीतमा नृत्य प्रस्तुत गर्नेछन् ।
    
'गण्डकी प्रदेश लोकसंस्कृतिको खानी भएकाले यहाँका जातजातिको विभिन्न किसिमका सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ । साथै देशका सातै प्रदेशका संस्कार र संस्कृति अनुसारका झाँकी हुनेछन् । जसले खेलकुदका माध्यमबाट देशलाई एकतावद्ध बनाउने छ,' समारोह उपसमितिका संयोजक कुँवरले भने ।    
    
चर्चित लोक गायक शिव परियार, कुन्ति मोक्तान, रचना रिमाल सहितको छ जनाको टोलीले पूरै रङ्गशाला गुञ्जने गरी स्टेजबाट गीत प्रस्तुत गर्नेछन् । सो गीतमा व्यावसायिक नृत्य गर्ने ४० जना कलाकारको समूहले मैदानमा नृत्य प्रस्तुत गर्नेछन् ।    
    
समारोहलाई भव्य र उल्लासमय बनाउन उद्घाटन समारोहको अन्तिममा आतसवाजीको तयारी गरिएको छ । भारतको लखनउबाट आएको आतबाजीको समूहले केहीदिनदेखी नेपाली सेनाको ब्यारेकमा बसेर तयारी गरिरहेको छ ।    
    
सातवटा प्रदेशलाई समेट्ने गरी पूर्वदेखि पश्चिमसम्मको संस्कृति देखाउने नृत्य र झाँकीले राष्ट्रिय भाव दर्शाउने समारोहको झाँकी तथा नृत्य उपसमितिका संयोजक नन्दा बस्यालले बताए । त्यससँगै गण्डकीका विभिन्न समुदायको संस्कृतिले प्रदेशसवासीलाई राष्ट्रिय खेलकुदको अपनत्व हुने उनको भनाइ छ । उनले भने- 'छोटो समयमा समारोहका लागि तयारी गरेका छौँ । सांस्कृतिक, झाँकी राम्रो हुन्छ । अग्रज कलाकारसँग सहकार्य गरेर समारोहलाई रङ्गीचङ्गी बनाउने र खेलकुदका माध्यमबाट राम्रो सन्देश दिने गरी लागि परेका छौँ,' प्रतियोगिताको समारोहको तयारीका लागि मात्र रु तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ ।    
    
 तयार छन् खेलस्थल


 राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै केही खेल सुरु भइसकेको छन् । महिला क्रिकेट, फेन्सिङ, ह्याण्डबल लगायतका केही खेल असोज २३ देखि नै सुरु भएका छन् । अधिकाँश खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन् ।    
    
विशेषगरी पूर्वाधार अभाव र समयलाई मध्यनजर गरी कतिपय खेल अघि सारिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहतको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेल हुनेछन् । पुरुष क्रिकेट राजधानी काठमाडौँमा सम्पन्न भइसकेको छ । सुटिङ पनि काठमाडौँमै हुनेछ । बाँकी खेलहरु अधिकाँस पोखरा रङ्गशालामा हुनेछन् । पोखरामा २७ खेलहरु हुनेछन् । पुरुष बास्केटबल पोखरा र महिला बास्केटबल तनहुँमा हुँदैछ । बाँकी खेलहरु गोरखा, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा र नवलपुर गरी छ जिल्लामा हुँदैछ ।    
    
प्रतियोगिताका लागि सबै खेलस्थलहरु तयारी अवस्थामा रहेको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताए । केही खेलका सामान्य मर्मत र सरसफाईका काम बाँकी रहेको गुनासो आएको छ । खेल सञ्चालन अघि खेलस्थलमा सबै काम सकिने गुरुङले बताए । 'तोकिएका सबै खेलस्थलहरुको मर्मत तथा स्तरोन्नतिको काम सकिएको छ । प्रतियोगिता सञ्चालनका लागि अब कुनै समस्या छैन,' उनले भने । 
    
राखेपले खेलस्थलको पूर्वाधार स्तरोन्नतिका लागि एक करोड बजेट छुट्टाएकामा पूर्वाधार स्तरोन्नतिको कामका लागि दुई करोड खर्च लाग्ने अनुमान गरिएको बताइन्छ । राष्ट्रिय खेलकुदकमा सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन विभागीय र गैरआवासीय नेपाली(एनआरएनए)को गरी ११ टोलीको सहभागिता छ । प्रतियोगितामा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र छ सय कास्य गरी एक हजार तीन सय ८४ पदकका लागि आठ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । हालसम्मको पदक तालिकामा बागमती प्रदेशले अग्रता बनाएको छ ।    
    
स्थानीय सरकारको साथ    
    
राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी संघीय सरकारको हो । स्थानीय आयोजकका रुपमा गण्डकी प्रदेश सरकारले काम गरेको छ । प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले पनि प्रतियोगिता भव्य बनाउन प्रचारप्रसारमा साथ दिएको छ ।  यसैगरी महानगरले प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई पुरस्कार घोषणा गरेर प्रोत्साहन गरेको हो । महानगरले प्रचार प्रसारका माध्यमबाट पोखरालाई खेलकुदमय बनाउन सहरका मुख्यस्थल र महानगरका प्रवेशनाकाहरुमा स्वागतद्धार र प्रचार सामग्री राखेको छ ।    

राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन महानगरले आफ्नो तर्फबाट काम अघि बढाएको हो । महानगर प्रमुख धनराज आचार्यले पोखरा खेलकुदमय भएको छ भन्ने हिसावले प्रतियोगिताको प्रचार प्रसार गरिएको बताए । 'पोखरा खेलकुदमय छ भन्ने बनाउन विद्युतिय डिस्प्ले बोर्ड, रोड व्यानर, स्वागत गेट लगायतबाट प्रचार प्रसार गरेका छौँ,'  उनले भने ।
    
महानगरपालिकाले खेलका लागि पोखरा आउने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई यातायात, होटल, सपिङ मल लगायतमा छुट तथा सहुलियतका लागि समेत सम्बन्धित पक्षसँग आग्रह गरिएको जनाएको छ ।   'राष्ट्रिय खेलकुद देशकै गौरव हो यसलाई सफल बनाउन सबैले आआफ्नो ठाउँबाट सानो भएपनि योगदान गर्नुहोस् भनेर होटल व्यवसायी, यातायात व्यवसायी तथा नीजि क्षेत्रसँग आह्वान गरेका छौँ,' आचार्यले भने ।    
    
महानगरले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता महानगरका खेलाडीहरुलाई व्यक्तिगत विधातर्फ स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई क्रमश १५ हजार, १० हजार र पाँच हजार नगद सहितसम्मान पत्र प्रदान गर्ने घोषणा गरेको छ ।    
    
 यसैगरी टिम खेलतर्फ पदक विजेतालाई नगद पाँच-पाँच हजार दरले पुरस्कार दिइने महानगरले जनाएको छ ।     
    
 राष्ट्रिय खेलकुदको चार दशक    
    
 नेपालमा विसं २०३८ देखी राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो । राष्ट्रिय खेलकुद आयोजनाले चार दशक पार गरिसकेको छ । हेरक दुई-दुई वर्षमा राष्ट्रिय खेलकुद हुने भएपनि राजनीतिक तथा विभिन्न कारणले सो अनुसार हुन सकेको छैन ।    
    
 राष्ट्रिय खेलुदको पहिलो संस्करण विसं २०३८ भदौ २७ देखि असोज ४ सम्म राजधानी काठमाडौँमा भएको थियो । सुरुआतमा देशका १४ अञ्चलको प्रतिनिधित्व हुने गरी प्रतियोगिता सञ्चालन हुने गरेको थियो।    
    
 विसं २०४० मा पोखरामा दोस्रो संस्करण हुँदा, विसं २०४२ मा तेस्रो संकरण विरगञ्जमा भएको थियो । तेस्रो आयोजनाको १३ वर्षपछि विसं २०५३ मा नेपालगञ्जमा चौथो संस्करणको राष्ट्रिय खेलकुद आयोजना गरियो । गणतन्त्र स्थापनापछि विसं २०६५ मा राजधानी काठमाडौँमा पाँचौँ संस्करण भयो । विगतमा राजाले उद्घाटन गर्ने परम्परा रहेको राष्ट्रिय खेलकुद पहिलो पटक तत्कालीन राष्ट्रपति रामवरण यादले गरेका थिए ।    
    
 सुदूरपश्चिममा विसं २०६८ मा छैटौँ संस्करणको राष्ट्रिय खेलकुद भएकामा सातौ संस्करण विराटनगरमा विसं २०७३ मा आयोजना गरियो । नेपालगञ्जमा विसं २०७५ चैतमा आठौँ राष्ट्रिय खेलकुद भएको थियो । आठौँ राष्ट्रिय खेलकुदको साढे तीन वर्षपछि गण्डकी प्रदेशमा अहिले नवौँ सुरु भएको हो ।


Author

थप समाचार
x