नवौं राष्ट्रिय खेलकुद : दर्शक तान्न नसकेको उद्घाटन र आतिसबाजी
पोखरा- गण्डकी प्रदेशको राजधानी पोखरास्थित पोखरा रंगशालामा शुक्रबार राति नवौं राष्ट्रिय खेलकुदको औपचारिकरुपमा सुरुवात भयो । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएर आउन नसक्ने भएपछि उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात भएको घोषणा गरेका थिए ।
झाँकी, मार्चपास, सांस्कृतिक कार्यक्रम, खेलाडीहरूको हल्लीखल्ली तथा आतिसबाजी हेर्दा लाग्थ्यो उद्घाटन समारोह भव्य आयोजना भयो भनेर । तर दुर्भाग्य, राष्ट्रिय खेलकुदको उद्घाटनमा पोखराबासीको उपस्थिति न्यून थियो ।
त्यहाँ थिए त केवल सहभागिता जनाउन आएका खेलाडी तथा पदाधिकारी, आयोजक समिति सदस्य, सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउने स्कुले बालबालिका तथा केही संख्यामा खेलकुद पत्रकार । उद्घाटन समारोहका अतिथिको रुपमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, संघीय सरकारका मन्त्री तथा पदाधिकारी तथा अन्य पाहुनाबाहेक १६ हजार ५ सय दर्शक क्षमताको पोखरा रंगशालाको दशर्कतिरको स्थान खाली थियो । अबेर रातिसम्म आतिसबाजी चल्दै गर्दा भने मानिसहरू बाटोमा उभिएर फोटो खिच्दै गरेका भेटिन्थे ।
राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने भनिएपनि अधिकांश खेल तथा समारोहहरू पोखरामा आयोजना भइरहेको छ तर एक हिसाबले हेर्ने हो भने पोखराबासीले राष्ट्रिय खेलकुदलाई लिएर अपनत्व अनुभव नगरेको देखिन्थ्यो ।
अर्कोतर्फ राष्ट्रिय खेलकुद प्रदेशस्तरमा आयोजना हुने भनिए पनि केन्द्रकै हालीमुहाली तथा नियन्त्रणमा भइरहेका कारण पनि स्थानीय सरकार तथा स्थानीयबासीको खासै चासो देखिदैन् । उनीहरूले अपनत्व लिन नसकेको भान हुन्छ । स्थानीय पदाधिकारीहरूले पनि उद्घाटनमा स्थानीयको उपस्थिति नहुनुले समारोहलाई खल्लो बनाएको स्वीकार्छन् ।
उद्घाटन समारोहमा बोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेश खेलकुदलाई माया गर्ने प्रदेश रहेको दाबी गरे । तर दर्शकको उपस्थितिले भने त्यो स्वीकार गर्न नसकिने देखाएको थियो ।
यता उपराष्ट्रपति पुनले राष्ट्रिय खेलकुद आयोजनामा श्रोत र साधनको अभाव हुने गरेको र आगामी दिनमा ती समस्या समाधानका लागि पहल गरिनुपर्ने बताएका थिए ।
राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टिम र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी जम्मा ११ टिमको सहभागिता रहेको छ । ३६ खेलका विभिन्न विधामा ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
कोभिड महामारी तथा विविध कारणले तोकिएको समय भन्दा ४ वर्षपछि राष्ट्रिय खेलकुद आयोजना हुँदैछ । गण्डकीमा भने ३९ वर्षपछि राष्ट्रिय खेलकुद आयोजना हुँदैछ । यसअघि २०४० मा यस क्षेत्रमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया