खेलकुद

बच्चामा कुनै पनि खेल नखेलेका दिपकले कायम गरे कीर्तिमान

इकागज |
असोज ३०, २०७९ आइतबार १४:२७ बजे

पोखरा- त्रिभुवन आर्मी क्लबका दिपक अधिकारीले पुरुषको १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण जितेका छन् । पोखरा रंगशालामा एथलेटिक्सतर्फको १० हजार मिटर दौडमा दिपकले नेपाल एपीएफ क्लबका गोपी चन्द्र पार्कीको कीर्तिमान भंग गरे ।

दिपकले निर्धारित दूरी ३० मिनेट १०.३० सेकेन्डमा पुरा गरे । उनले १३ औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता गोपी चन्द्रको राष्ट्रिय कीर्तिमान तोडे । यसअघि, पार्कीको ३० मिनेट ३०.९९ सकेन्डको राष्ट्रिय कीर्तिमान थियो ।


यता गोपी चन्द्र भने ३० मिनेट ३८.३२ सेकेन्डमा दोस्रो हुँदा ३० मिनेट ४९.५० सेकेन्ड लगाएका आर्मीका गजेन्द्र राई तेस्रो भए ।

कीर्तिमानी दिपकको खेलकुद यात्रा भने धेरै लामो छैन । २७ वर्षीय धादिङ निवासी दिपकले २०७१ मा आर्मीमा प्रवेश पछि त्यसभित्रै हुने एथलेटिक्सका विभिन्न इभेन्ट्समा सहभागी हुँदै उनको यात्रा सुरु भएको हो ।

उनले सुरुवातमा १५ सय मिटरबाट दौडिन सुरुवात गरेका थिए । अहिले भने १० हजार मिटरको दौडमा आइपुगेका छन् ।

१३ औँ दक्षिण एसियाली खेलकुदमा कास्य जितेका दिपकलाई परिवारको पनि समर्थन र सहयोग छ । तर उत्तरी धादिङबाट आएका दिपकले भने बाल्यकालमा कुनै पनि खेल खेल्न पाएनन् । यहाँसम्मकी उनी बस्ने स्थानमा दौडका लागि समेत भौगोलिक अवस्था उपयुक्त थिएन् ।

'बच्चा अवस्थामा कुनै पनि खेल खेल्ने मौका पाइन् । आर्मीमा आवद्ध भएपछि मात्र एथलेटिक्सतिर ध्यान गयो,' कीर्तिमान कायम गरेपछि दिपकले बताए ।


Author

थप समाचार
x