खेलकुद

युरोपियन सुपर लिगबारे केही तथ्य

इकागज |
बैशाख ७, २०७८ मंगलबार ६:३५ बजे

काठमाडौँ : युरोपियन क्लब फुटबलमा स्थापित १२ क्लबले सोमबार एउटा घोषणा गरे । जसमा भनियो, अब १२ क्लबले नयाँ लिगको स्थापना गरिनेछ । र, अब उप्रान्त युरोपियन फुटबल महासंघ (यूइएफए) ले सञ्चालन गर्ने च्याम्पियन्स लिगमा भाग नलिने ।

ती १२ क्लबको निर्णयप्रति कोही पनि खुसी छैनन् । समर्थकदेखि राजनीतिज्ञसम्मले विरोध जनाएका छन् । घोषणा गरिएको युरोपियन सुपर लिगबारेमा केही तथ्य यस आलेखमा प्रस्तुत गरिएको छ ।


सुरुवात
इंगल्यान्ड, स्पेन र इटाली १२ क्लब युरोपियन सुपर लिगको आयोजनामा लागेका छन् । म्यानचेस्टर युनाइटेड, लिभरपुल, आर्सनल, चेल्सी, मयानचेस्टर सिटी र टोटनहम इंगल्यान्डबाट सुपर लिगसँग जोडिन लागेका क्लब हुन् । 

त्यस्तै, बार्सिलोना, रियल म्याड्रिड र एथलेटिको म्याड्रिड गरी तीन स्पेनी क्लबले पनि सुपर लिगमा भाग लिनेछन् । अनि इटालीबाट इन्टर मिलान, एसी मिलान र युभेन्टस पनि सुपर लिगसँग जोडिने छन् । यी १२ क्लबले युरोपियन क्लब फुटबलमा कुल ९९ उपाधि जितेका छन् ।

आयोजना हुने लिगको नेतृत्व ती १२ क्लबले गर्नेछन् । तर अझैँ तीन क्लबका लागि संस्थापक बन्‍ने मौका छ । कुल १५ संस्थापक र अन्य पाँच क्लबलाई यस लिगमा समावेश गराउने योजना छ । तर ती पाँच क्लब भने प्रत्येक वर्ष छनौट चरण पार गरेर सुपर लिगमा सहभागी हुनेछन् । सबै खेलहरू च्याम्पियन्स लिगमा जस्तै साताको मध्यमा गरिने बताइएको छ । 

लिग संरचना 
सुपर लिगको पहिलो संस्करणको मिति तोकिएको छैन । यद्यपि अगस्टबाट सुरु गर्ने योजना भएको बताइएको छ । सुपर लिगमा २० टिमलाई दुई समूहमा विभाजित गरिनेछ । सुपर लिग ‘होम एण्ड अवे’ कै ढाँचामा खेलाइनेछ । समूहको शीर्ष तीनमा रहने टिमले क्‍वार्टरफाइनलमा प्रवेश गर्नेछन् । अनि चौँथो र पाँचौँ हुने टिमले अन्तिम आठमा प्रवेश पाउन प्ले-अफ खेल्नेछन् । क्‍वार्टरफाइनल र सेमिफाइनलका दुई-दुई लेग हुनेछन् भने उपाधि भिडन्त तटस्थ मैदानमा खेलाइनेछ । 

सुपर लिग कसको योजना ? 
च्याम्पियन्स लिगको कमाई ठूलो छ । त्यसकारण युरोपका ठूला क्लबहरूले च्याम्पियन्स लिगले गर्ने कमाईको ठूलो हिस्सा आफूले पाउनु पर्ने माग राख्दै आइरहेका थिए । फेरि यो वर्ष कोभिड-१९ ले विश्‍व अर्थतन्त्र नै तहसनहस बनायो । ठूला स्टारहरू अनुबन्ध गर्ने ती क्लबहरू मारमा परे । जसका कारण सुपर लिगको योजना चाँडै कार्यन्वयनमा ल्यान सहमती गरियो । 

सुपर लिगको कमाई च्याम्प्यिन्स लिगको भन्दा धेरै हुने अनुमान गरिएको छ । संस्थापक रहेका १० क्लबले मात्रै करिब १० अर्ब यूरो प्राप्त गर्नेछन् । त्यो पनि सुपर लिगको सुरुवाती संस्करणमा भाग लिए वापत । तीन अर्ब यूरो भन्दा धेरै रकम क्लबहरुको पूर्वाधार र कोभिड-१९ ले पुर्‍याएको घाटालाई पूर्ति गर्न प्रयोग गरिने योजना छ । 

क्रोधित यूइएफए 
सुपर लिगको योजनाले यूइएफए खुसी छैन । इगंलयान्ड, स्पेन र इटालीका फुटबल संघहरु पनि क्रोधित बनेका छन् । सुपर लिगमा भाग लिने क्लब तथा खेलाडीहरूलाई घरेलु लिग र युइएफए तथा फिफाले आयोजन गर्ने कुनैपनि प्रतियोगितामा भाग लिन बन्देज लगाइने बताइएको छ ।  

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि सुपर लिगको विरोध गरेका छन् । फ्रान्सका राष्ट्रपतिले आफ्ना मुलुकका कुनै पनि क्लब सुपर लिगको हिस्सा नबन्‍ने भएपछि खुसी ब्यक्त गरेका छन् । ग्यारी नेभिलदेखि राफ हसेनहुटेलसम्मले सुपर लिगको विरोध गरेक छन् । त्यस्तै इंगल्यान्डबाट सुपर लिगमा सहभागी हुन भनिएका सबै क्लबका समर्थक समूहहरुबाट पनि सुपर लिगको विरोध भइरहेको छ । 

सम्भव छ सुपर लिग ? 
सुपर लिगको घोषणासँगै युइएफए र सबै घरेलु संघहरू विरोधमा उत्रिसकेका छन् । अनि रियल, युनाइटेड, लिभरपुल जस्ता क्लबहरूले आफ्नै समर्थकबाट पनि समर्थन पाइरहेका छैनन् । फिफाले गत जनवरीमै सुपर लिगलाई मान्यता नदिने बताइसकेको छ । 

त्यसो त बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पएिसजी) जस्ता क्लबले सुपर लिगको हिस्सा बन्‍न इन्कार गरिसकेका छन् । बोरुसिया डर्टमन्ड, एएफसी पोर्टो जस्ता स्थापित क्लब पनि सुपर लिगमा हुनेछैनन् । सुपर लिग अमेरिकी मोडलमा सञ्चालन हुने हुँदा रेलिगेसनको व्यवस्था छैन । जसले गर्दा प्रत्येक क्लबले प्रायोजक सजिलै पाउने विश्वास गरिएको छ ।  

सोमबार मात्रै युइएफले च्याम्पियन्स लिगमा केही परिवर्तनको घोषणा गरेको छ । टिम संख्या ३६ बनाइएको छ भने खेल संख्या पनि बढेको छ । सुपर लिग र च्याम्पियन्स लिग सम्बन्धि घोषणा एकैपटक हुँदा ठूला क्लबहरुले युइएफएसँग ‘बार्गेन’ गर्न खोजेको हो की भन्‍ने शंका पनि उत्पन्‍न भएको छ । 

बेलायती अखबारले आफ्नो स्रोतलाई उल्लेख गर्दै लेखेको छ, ‘सुपर लिगको घोषणा बार्गेनिङ चिप हुनसक्छ । ठूला क्लबहरुले च्याम्पियन्स लिगको कमाईमा आफ्नो हिस्सा बढ्नुपर्ने बताइरहेका छन् । यद्यपि यो बार्गेन नै गर्न खोजिएको भए पनि तारिक सही भएन ।' (अन्तराष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)


Author

थप समाचार
x