कीर्तिमानी जयरानी थारुः जो देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउन चाहन्छिन्
पोखरा- बर्दियाकी जयरानी थारुले गत असारमा भएको ४४ औँ राष्ट्रिय एथलेटिक्समा त्रिभुवन आर्मी क्लबलाई एक्लैले ४ स्वर्ण दिलाएकी थिइन् । २ कीर्तिमानी स्वर्णसमेत जितेकी जयरानी थारू महिलातर्फ उत्कृष्ट खेलाडी समेत बनिन् ।
ती कीर्तिमान मध्येको एक थियो, ४ सय मिटर हडर्ल्समा जयरानीको १ मिनेट ०७.०२ सेकेन्डको कीर्तिमान । उनले २०६८ मा भएको छैटौं राष्ट्रिय खेलकुदमा नेपाल एपिएफ क्लबकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान तोडेकी थिइन् ।
तर केही महिना नवित्दै जयरानीले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार मात्र गरेकी छैनन्, उनले नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण समेत हात पारिन् ।
४ सय मिटर हडर्ल्समा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गरिन् । कीर्तिमानी स्वर्ण हात पारेपछि पत्रकारहरुसँग कुरा गर्दै जयरानीले आफ्नो लक्ष्य पुरा भएको प्रतिक्रिया दिइन् ।
'यो विधामा धेरै प्रतिस्पर्धा गर्ने खेलाडी नभएकाले सजिलो भयो । मेरो लक्ष्य कीर्तिमान कायम गर्नु थियो र त्यसमा म सफल भए,’ उनले भनिन् ।
२०७२ देखि एथलेटिक्समा लागेकी तथा २१ वर्षमात्र पुरा गरेकी जयरानीको अबको लक्ष्य भनेको देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने प्रयास गर्नु हो । उनका अनुसार यस अघि यस विधामा प्रतिस्पर्धा गर्दै आएकी केशरी चौधरी वैदेशिक रोजगारीमा गएपछि उनलाई पदक जित्न सजिलो भएको छ ।
‘केसरी नहुँदा पदक जित्न सजिलो भएको छ । तयारी पनि राम्रो भएको थियो,’ उनले थपिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया