नवौं राष्ट्रिय खेलकुद: शारीरिक सुगठनमा गण्डकी, आर्मी र पुलिसलाई स्वर्ण
पोखरा- नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठनमा आयोजक गण्डकी प्रदेश र त्रिभुवन आर्मीले २-२ स्वर्ण जितेका छन् । नेपाल पुलिस क्लबले एक स्वर्ण जितेको छ ।
गण्डकीले ५५ र ६५ किलो समूहमा स्वर्ण जित्दा आर्मीले ७० र ७५ किलो समूहमा स्वर्ण हात पारेको हो । पुलिसले ६० किलो तौल समूहमा स्वर्ण जितेको हो ।
पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै बागमतीका दिनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बोले कास्य पदकमा चित्त बुझाए । स्वर्णका लागि प्रि–जज राउण्डबाट छनोट भएका ५ जनाबाट विजेता बनेका हुन् ।
प्रि–जजबाट गण्डकीका विवेक हमाल, बागमतीका दिनेश गोसाई, नेपाल प्रहरीका तेजबहादुर हमाल, एपिएफका कपिल गौतम र त्रिभुवन आर्मीका रमेश फोम्बो छनोट भएका थिए । ५५ किलो तौल समूहमा उनीहरूसँगै प्रदेश १ का अजय राजवंशी, लुम्बिनी प्रदेशका भानुभक्त कडोरिया, कर्णाली प्रदेशका प्रकाशबहादुर शाही र सुदूरपश्चिम प्रदेशका सुनिल राईका प्रतिस्पर्धा गरेका थिए ।
यस्तै ६० किलो तौल समूहमा नेपाल पुलिसका डेबिड बलामीले स्वर्ण, एपिएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलले कास्य पदक जितेका छन् । उनीहरूसँगै यो विधामा प्रदेश १ का सन्देश राई र नेपाल आर्मीका जलबहादुर चौधरी उत्कृष्ट ५ मा परेका थिए ।
आइतबार नै भएको ६५ किलो तौल समूहमा गण्डकी प्रदेशका अशिम गुरुङले स्वर्ण जित्दा लुम्बिनी प्रदेशका नवराज डुम्रेले रजत र सुदूरपश्चिम प्रदेशका सुनिल चन्दले कास्य जितेका छन् । सो विधामा एपिएफका सेमान्त कडारा र आर्मीका निशान शाही उत्कृष्ट ५ मा थिए ।
७० किलो तौल समूहमा नेपाल आर्मीले स्वर्ण जितेको हो । सो तौल समूहमा आर्मीका प्रज्वलमान शाक्य, मधेश प्रदेशका किरण यादव, लुम्बिनी प्रदेशका बृजेन्द्रमान श्रेष्ठ र गण्डकी प्रदेशका निश्चल केसी उत्कृष्टमा ५ मा थिए । सो तौल समूहमा आर्मीका शाक्यले स्वर्ण जित्दा मधेश प्रदेशले रजत र लुम्बिनी प्रदेशले कास्य पदक जितेको हो ।
आइतबार भएको ७५ किलो तौल समूहमा नेपाल आर्मीले स्वर्ण जितेको छ । उनले मधेश प्रदेशका शनि अजाम, बागमती प्रदेशका योगशराज शाही, सुदूरपश्चिम प्रदेशका लक्ष्मीदत्त पन्त र लुम्बिनी प्रदेशका आकाश रानालाई पछि पारेका हुन् । ७५ किलो तौल समूहमा मधेश प्रदेशले रजत र बागमती प्रदेशले कास्य पदक जितेको हो ।
तौल समूहका खेलाडीहरूबीच प्रि–जज गरी उत्कृष्ट ५ बाट फाइनल खेलाइने शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । दोस्रो दिन ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा हुनेछ । महिलाहरूको खुल्ला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा पनि सोमबार नै हुने संयोजक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबका ९४ खेलाडीले सहभागिता जनाएका छन् । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया