नवौं राष्ट्रिय खेलकुदः स्वर्णमय शनिबार
फुल कन्ट्याक्ट कराँतेः
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी प्रदेश, आर्मी र एपीएफले समान ३-३ वटा स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषतर्फको ३०-४०, ४५-५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०-५५ तौल समूहमा १ स्वर्ण जितेको हो । त्यसैगरी आर्मीले खुला तौल समूह पुरुष, महिला र पुरुषतर्फ ६०-६५ केजी तौल समूहमा स्वर्ण जितेको हो । एपीएफले महिलातर्फको ४५ केजी मुनि र ५० केजी मुनि तौल समूह र पुरुषतर्फको ४५ केजी मुनि तौल समूहमा स्वर्ण जितेको हो ।
खेलमा पुरुषतर्फको खुल्ला तौल समूहमा आर्मीका विजय सिंहले स्वर्ण जिते । उनले गण्डकीका रुपक नेपालीलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका हुन् । सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बने । नेपालीले रजत पदकमा चित्त बुझाए ।
पुरुष तर्फकै ६०-६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेका हुन् । भुजेलले रजत पदक जिते ।
पुरुष तर्फकै ५५-६० केजी तौल समूहमा नेपाल प्रहरीका शुशान लामिछानेले स्वर्ण र आर्मीका विकास गुरुङले रजत पदक जितेका छन् ।
पुरुष तर्फकै ५०-५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए ।
यसैगरी ४५-५० केजी तौल समूहमा गण्डकीका अनीष बुढामगरले वागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जितेका छन् भने वागमतीका राइले रजत पदकमा चित्त बुझाए । ४०-४५ केजी तौल समूहमा एपीएफका सुनील तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत पदक जितेका छन् ।
पुरुषतर्फको ३५-४० तौल समूहमा गण्डकीका अभिसेक डिमडुङले आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन् । थिङले रजत पदक पाए ।
महिलातर्फको खुला तौल समूहमा आर्मीका मञ्जु विकले स्वर्ण पदक जितेकी छन् । उनले वागमती प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन् भने बोहोराले रजत पदक पाइन् ।
५०-५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन् भने चन्दले रजत पदकमा चित्त बुझाइन् । ४५-५० केजी तौल समूहमा एपीएफकी करिष्मा कार्कीले वागमती प्रदेशकी नविना घमाललाई पराजित गरी स्वर्ण जित्दा घमालले रजत पदक जितिन् । ४० देखि ४५ केजी तौल समूहमा एपीएफकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छन् भने ढुंगेलले रजत पदक जितिन् ।
महिलातर्फको ३५-४० तौल केजी समूहको खेल भने स्थगित भएको छ । एपीएफले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगित भएको फुल कन्ट्याक्ट कराँते प्रतियोगिताका सह–संयोजक दीपक गोदारले बताए । विवादका कारण दिउँसो साढे २ घण्टा सबै प्रतिष्पर्धा रोकिएका थिए ।
पोखराको प्रदर्शनी केन्द्रमा भएको प्रतिष्पर्धा खेलमा सातवटै प्रदेश, नेपाल प्रहरी, एपीएफ, आर्मी र एनआरएनए गरी ११ टिम सहभागी भएका थिए । अन्तर्राष्ट्रिय स्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियमअनुसार प्रतिष्पर्धा गराइएको थियो ।
महिला हक्कीः
महिला हक्की खेलमा प्रदेश नम्बर १ र आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो । खेलको पहिलो क्वाटरमा पुर्णिमा राइले गरेको गोल नै निर्णायक बन्यो । उनले प्रदेश १ को तर्फबाट १५ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । योसँगै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ ।
यस्तै दोस्रो खेलमा आर्मीले ३–० को गोल अन्तरले सुदूरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
सुटिङः
सुटिङ प्रतियोगिताको तेश्रो दिन आइतबार पुरुष व्यक्तिगत १० मिटर एयर राइफलमा बागमतीका हरिबहादुर थापाले ५९०.७ अंक जोडेका छन् । सुदूरपश्चिमका शंकर दाहालले ५८०.५ तथा टंकप्रसाद जैसीले ५६८.५ अंक बटुले । उक्त स्पर्धाको महिलामा आर्मीकी राधा गुरुङले ६०५.४, प्रहरीकी अस्मिता राईले ५९४.१ र बागमतीकी आयुष्मा कसीले ५८४.३ अंक जोडे ।
पुरुष व्यक्तिगत १० मिटर एयर पेस्तोलमा गण्डकीका विजय कार्कीले ५५६, बागमतीका विपेश खड्काले ५५२ र आर्मीका विष्णु दिस्वा मगरले ५३८ अंक बटुले । सो स्पर्धाको महिलामा गण्डकीकी श्रेया केसीले ५३२, आर्मीकी राधिका घर्तीले ५३१ र प्रहरीकी दुर्गा सिन्जालीले ५२४ अंक जोडे ।
सेपाकताक्रोः
सेपाकताक्रोको पुरुष र महिला डबल्समा आर्मी क्लबले स्वर्ण पदक जितेको छ । नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फको डबल्समा आर्मीले प्रदेश नम्वर १ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो ।
अनिल जर्घा मगर, रोशन तामाङ र दिपेश जंग थापाले आर्मीलाई स्वर्ण दिलाएका हुन् । सो स्पर्धामा रजत पदक प्रदेश नं १ र कास्य पदक बागमती प्रदेशले जिते ।
यसैगरी महिला डबल्सतर्फ आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ । सेनाका लागि चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण दिलाएका हुन् । गण्डकी प्रदेशले कास्य पदक प्राप्त गरे।
सेपाकताक्रोमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र आर्मीका ९८ खेलाडीले भाग लिइरहेका छन् ।
साइक्लिङः साग विजेता लक्ष्मीलाई स्वर्ण
साइक्लिङको महिला क्रसकन्ट्रीमा बागमतीकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी छिन् । बागमतीकी मगर १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता हुन् । १५ किलोमिटर दुरीको सो स्पर्धा मगरले एक घण्टा ९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी थिइन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी उशा खनालले १ घण्टा १२ मिनेट ३९ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जितिन् । त्यस्तै एपिएफकी हुमी बुढामगरले १ घण्टा २० मिनेट ०४ सेकेन्डको समयका साथ साथ कांस्य पदक जिते ।
त्यस्तै आइतबार नै भएको पुरुषतर्फ १९ किलोमिटरको दुरीको क्रसकन्ट्रीमा एपिएफका सुरज राना मगरले स्वर्ण पदक जिते । उनले १ घण्टा ९ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । आर्मीका हिमाल टमाटाले रजत पदक जित्ने क्रममा १ घण्टा ११ मिनेट ४३ सेकेन्डको समय लिए । त्यस्तै एपिएफका लक्ष्मण मल्लले १ घण्टा १३ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै कास्य पदक जिते ।
टेनिसः
टेनिसको टिम इभेन्टतर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ आर्मीले स्वर्ण पदक जितेका छन् । प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो ।
टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा आर्मीका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३ र ६–३ सेटमा पराजित गरे ।
एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रनव खनाल माथि ६–३ र ७–५ सेटमा जित निकाले । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रदीप र अनिलको जोडीले प्रनव र अकिको जोडीलाई २–६, ६–३ र १०–७ को सेटमा पराजित गरेपछि गण्डकी च्याम्पियन बनेको हो । पुरुषतर्फ गण्डकीले स्वर्ण पदक जित्दा सेनाले रजत पदकमा चित्त बुझायो ।
महिलातर्फ एकलमा आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीलाई हराएको हो । आर्मीका अभिलाषा विष्टले सशस्त्रका सर्भानी श्रेष्ठलाई ७–५,१–६ र ६–१ को सेटमा पराजित गरे । अर्को खेलमा आर्मीका आइरा एम रावतले सशस्त्रका सुनिरा थापालाई ६–१, १–६ र ७–५ सेटमा पराजित गर्यो ।
महिला टिम इभेन्टमा वागमती प्रदेश र नेपाल प्रहरीले कास्य पदक जित्दा पुरुषतर्फ नेपाल प्रहरी र एपीएफले कास्य पदक जिते ।
खोखोः
खोखो प्रतियोगितामा लुम्बिनी प्रदेश हाबी भएको छ । राउन्ड रोबिन लिग आधारमा भइरहेको समूह चरणको खेलमा महिला पुरुष दुवैमा लुम्बिनीले सिंगल इनिङमै जित निकालेको हो ।
पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६–६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै लुम्बिनीले ३०–२ को फराकिलो अन्तरको जित निकाल्यो ।
चार इनिङ्समा हुने खोखो खेलमा प्रत्येक इनिङ्समा ९ मिनेटको समय छुट्याइएको हुन्छ । जसमा निर्धारित समयभित्र बढी अंक प्राप्त गर्ने टिम विजेता घोषित गरिन्छ । तर, पहिलो इनिङ्समा अंकभार फराकिलो पर्न गए बढी अंक ल्याउनेले सोझै जित्ने नियम हुन्छ ।
आइतबार विहान मधेश प्रदेश र नेपाल आर्मीबीच भएको खेलमा पनि विभागीय टिम नेपाल आर्मीले सिंगल इनिङ्समै जित निकालेको थियो । जसमा आर्मीले पहिलो इनिङमा १७ अंक ल्याउँदा मधेस प्रदेश ३ अंकमा समेटिएको थियो ।
त्यस्तै आइतबार दिउँसो भएको आर्मी र प्रदेश नं १ बीच भएको महिला खोखोमा आर्मी क्लबले फराकिलो अंकसहित जित दर्ज गर्यो । प्रदेश १ केवल १ अंकमा समेटिँदा आर्मीको टिमले ३३ अंक ल्याएको थियो ।
महिला बास्केटबलः
महिला बास्केटबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजय हासिल गरेको छ । आइतबार तनहुँ दमौलीको निर्मल मावि स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा मधेश प्रदेशलाई ४५–२१ अन्तरमा सुदूरपश्चिम विजयी भएको हो ।
प्रतियोगिताको पहिलो चरणमा सुदूरपश्चिमले १२–३ को अन्तर बनाएको हो । दोस्रो प्रतियोगितामा ११–७ को अन्तर बनाएको थियो । तेस्रो चरणमा भने निकै प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै दुबै टिमले ६–६ अंक जोडेको थियो । अन्तिम चरणमा भने सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गरि १६–५ को अंक जोड्दै मधेस प्रदेशलाई पराजित गरको हो ।
यसअघि सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश आर्मीसंग पराजित भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया