निर्मलको कोर्टले जुराएको राष्ट्रिय खेलकुदको अवसर
दमौली- तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा दुई वटा बास्केटबल कोर्ट निर्माण हुँदा यहाँ राष्ट्रियस्तरको खेल सञ्चालन हुनेमा कमैलाई मात्र विश्वास थियो । बास्केटबल कोर्ट निर्माण हुँदा यहाँका स्थानीय खेलाडीले खेल्न पाउनेमा भने धेरै खुसी थिए ।
राष्ट्रिय खेलकुद परिषद्को लगानीमा विसं २०७७ मा विद्यालय प्राङ्गणमा दुई वटा कोर्ट निर्माण भएका छन् । उक्त बास्केटबल कोर्टमा दमौलीकै खेलाडीले खेल खेल्ने अवसर पाएका छन् भने केहीले प्रशिक्षण लिने अवसर पाएका छन् ।
निर्मलमा बनेको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कोर्टका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल प्रतियोगिता तनहुँले गर्ने अवसर प्राप्त गरेको छ ।
यसअघि महिला बास्केटबल पनि पोखरामै गर्ने तयारी भइसकेको थियो । तर, अनेकौं प्रयासका बीच महिला बास्केटबल यहाँ सञ्चालन भएको छ । 'विद्यालयमा बनेको कोर्टका कारण राष्ट्रकै गौरवका रूपमा रहेको नवौँ खेलकुदको एउटा खेल तनहुँले सञ्चालन गर्न पाउनु गौरवको कुरा हो,' निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले भने, 'यसले समग्र तनहुँको इज्जत बढाएको छ, साथै विद्यालयको पनि नाम बढेको छ ।'
देशभरका बास्केटबल खेलाडी तनहुँमा आएर खेल खेल्दा तनहुँको नाम विश्वमाझ परिचित हुन सक्ने बस्नेतले विश्वास व्यक्त गरे । 'निर्मलमा बनेको बास्केटबल कोर्ट तनहुँकै गहनाका रूपमा लिनुपर्छ, यसैका कारण आज देशभरका महिला खेलाडी तनहुँ आउने अवसर जुरेको छ, यसले गर्दा यहाँको प्रचारप्रसारमा पनि सहयोग पुगेको छ ।'
राष्ट्रिय खेलकुद परिषद्को रु ४० लाख लगानीमा दुईवटा मापदण्ड अनुसारको कोर्ट निर्माण भएको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।
'पूर्वाधार नभएका कारण जिल्लामा अन्य खेल खेलाउन सक्ने स्थिति थिएन, यहाँको बास्केटबल कोर्ट मापदण्ड अनुसारको थियो । तर, केही पूर्वाधार अभावका कारण खेल नहुने हो कि भन्ने चिन्ता थियो,' पाण्डेले भने, 'स्थानीय सरकारको सहयोगमा केही पूर्वाधार बनाउन सहयोग पुगेपछि राष्ट्रियस्तरको खेल सञ्चालन गर्ने अवसर पायौँ ।'
राष्ट्रिय खेलकुद परिषद्को टोलीले जिल्लामा विभिन्न पूर्वाधारको अनुगमन गरेको थियो । उक्त टोलीले निर्मलस्थित बास्केटबल कोर्टको निरीक्षण गरेको थियो । अन्य खेल जिल्लामा नहुने भएपछि महिला बास्केटबल खेलाउन सकिने निष्कर्ष निकालिएको थियो । परिषद्का सदस्य राजेश गुरुङले महिला बास्केटबल कोर्ट निरीक्षणका क्रममा भनेका थिए, 'कोर्ट वरपरको मैदान सम्याउनका लागि व्यास नगरपालिकाले बजेट सहयोग गरोस्, खेल सञ्चालन हुन्छ ।'
परिषद् र जिल्ला खेलकुद विकास समितिको आग्रहबमोजिम व्यास नगरपालिकाले कोर्टको वरपरको जमिन सम्याउन रु सात लाख बजेट सहयोग गरेको छ । सोहीबमोजिम कोर्टको नजिक रहेको जमिन ढलान गरी सम्याइएको छ ।
खेलमा सहभागी हुन आएका खेलाडी तथा प्रशिक्षकलाई जिल्लाका महत्वपूर्ण धार्मिकस्थल भ्रमणको व्यवस्था मिलाइएको छ । दमौली नजिक रहेका व्यासगुफा, छाब्दीवाराही मन्दिर, मानुङकोट भ्रमणको व्यवस्था मिलाइएको समितिका अध्यक्ष पाण्डेले बताए । 'नवौँ राष्ट्रिय खेलकुदले जिल्लाको पर्यटन प्रवर्द्धनका लागि सहयोग पुर्याएको छ,' पाण्डेले भने ।
लुम्बिनी प्रदेशबाट अफिसियलको रूपमा आएका दाङका बिपिन केसीले गण्डकी प्रदेशको एउटा सानो जिल्लामा पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कोर्ट बन्नु पनि निक्कै महत्वपूर्ण रहेको बताए । खेलकुदको सामान्य पूर्वाधार निर्माण हुँदा पनि जिल्लालाई राष्ट्रियस्तरमा खेलकुदमा चिनाउन र खेल क्षेत्रको गतिविधि बढाउन सकिने उनले बताए ।
बागमती प्रदेशबाट सहभागी खेलाडी अनुषा मल्लले आफ्नै जन्म ठाउँमा आएर खेल्न पाउँदा खुसी लागेको बताइन् । 'म जन्मेको तनहुँको भानुमा हो, अहिले काठमाडौँमा बस्दै आएको छु, अहिले पनि तनहुँमा मेरा आफन्तहरु हुनुहुन्छ,' उनले भनिन्, 'आफ्नै ठाउँमा आएर नवौँ खेलकुदमा सहभागी हुन पाउँदा खुसीको अनुभव भएको छ ।'
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) तनहुँका निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार श्रेष्ठ नवाैं खेलकुदको एउटा खेल तनहुँमा हुनु गौरवको कुरा रहेको बताए ।
बास्केटबल खेलाडी एवं प्रशिक्षक कृष्णकुमार श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले तनहुँको नाम देशभर चिनिन सहयोग पुगेको बताए । श्रेष्ठले यहाँ रहेको कोर्टमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रशिक्षण सञ्चालन गर्दै आएका छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया