२४ उसु खेलाडी क्वाटरफाइनलमा
पोखरा- नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतको उसुतर्फ २४ खेलाडी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । उसुको सान्सौतर्फ पुरुषमा १६ र महिलामा ८ खेलाडी अन्तिम ८ मा प्रवेश गरेका हुन् ।
महिला ४८ केजीमा एपीएफकी गौरी घर्तीमगर र सुदूरपश्चिम प्रदेशकी अस्मिताकुमारी गाहामगर क्वाटरफाइनल प्रवेश गरे । उनीहरुले क्रमशः बागमती प्रदेशकी सञ्जिता ग्लान र मधेस प्रदेशकी कञ्चन पाललाई हराएका हुन् ।
महिलाको ५२ केजीमा बागमतीकी साशन थिङले लुम्बिनीकी शारदा पौडेल तथा गण्डकीकी सीमा गुरुङले सुदूरपश्चिमकी पिंकी ठकुल्लालाई पराजित गरे ।
५६ केजीतर्फ बागमतीकी शशिकला राईलाई पराजित गरेर एपीएफकी विद्या गुरुङ अन्तिम ८ मा प्रवेश गरिन् । ६० केजी समूहमा नेपाल पुलिसकी रोजिना सुनुवार र कर्णाली प्रदेशकी गोमा अघिल्लो चरणमा प्रवेश गरे । ६५ केजी समूहमा एपीएफकी मनिषा रावत क्वार्टरफाइनलमा प्रवेश गरिन् ।
सान्सौको पुरुषतर्फ ४८ केजी तौल समूहमा प्रदेश १ का गणेश लिम्बु र आर्मीका यमराज थापामगर अघिल्लो चरणमा प्रवेश गरे । ५२ केजीमा गण्डकी प्रदेशकी शिरिष सिंजाली र नेपाली सेनाका मदनकुमार श्रेष्ठ क्वार्टरफाइनल पुगे ।
५६ केजीमा एपीएफका रोहित चुनारा र आर्मीका जनक धामी विजयी भए भने ६० केजीमा बागमतीका बुद्धमान तामाङ र सुदूरपश्चिमका सुवास बुढा अघिल्लो चरण प्रवेश गरे ।
६५ केजीमा बागमतीका आशीषा लामा र आर्मीका राजेश चौधरी तथा ७० केजी तौल समूहमा एपीएफका सुवास भुल सेठी र पुलिसका मिलन दनुवार विजयी भएका छन् ।
पुरुषतर्फकै ७५ केजीमा एपीएफका अनिष शाही र सुदूरपश्चिमका हरिचन्द्र कार्की अघिल्लो चरण प्रवेश गरे । ८० केजीमा सुदूरपश्चिमका आलोक बुढामगर, ८५ केजीमा बागमतीका विदेश श्रेष्ठ विजयी भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया