भारत्तोलनमा जूनमायाको राष्ट्रिय कीर्तिमान
पोखरा- नेपाल पुलिस क्लबकी जुनमाया छन्त्यालले नवौँ राष्ट्रिय खेलकुदको भारत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा जुनमायाले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा रेकर्ड कायम गरेकी हुन् ।
जुनमायाले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान भंग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल १६७ केजी उठाउँदै स्वर्ण जितेकी हुन् । यसअघि उनले स्न्याचमा ६८ तथा क्लीन एण्ड जर्कमा ८८ केजी भार बहन गरेकी थिइन् ।
एपिएफ क्लबकी सरिता लामाले स्न्याचमा ५२ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११७ केजी बहन गर्दै रजत जितिन् । कास्य जितेकी नेपाल पुलिसकी सरस्वती पुरीले कुल ११५ केजी भार बहन गरिन् । उनले स्न्याचमा ५० र क्लीन एण्ड जर्कमा ६५ केजी उठाएकी हुन् ।
मंगलबार नै सम्पन्न महिला ६४ केजीतर्फ त्रिभुवन आर्मीले स्वर्ण जित्यो । आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४७ केजी भार बहन गर्दै आर्मीलाई स्वर्ण दिलाएकी हुन् ।
पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२८ केजी भार गर्दै रजत जितिन् भने आर्मीकी प्रशंसा पुनले कास्य जितिन् । उनले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११८ केजी भार बहन गरेकी हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया