खेलकुद

दाइ भुपेन्द्रको पदचाप पछ्याएका चन्द्रबहादुरलाई बक्सिङमा स्वर्ण

इकागज |
कात्तिक २, २०७९ बुधबार १३:४८ बजे

पोखरा- नेपाल पुलिस क्लबका चन्द्रबहादुर थापाले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत बक्सिङमा स्वर्ण पदक हात पारेका छन् । बुधबार भएको पुरुषको ५१ केजी तौलसमूहको फाइनलमा नेपाल एपीएफ क्लबका प्रदिप महर्जनलाई पराजित गर्दै चन्द्र बहादुरले स्वर्ण जितेका हुन् ।

चन्द्र बहादुरका अनुसार यो उनको जीवनकै पहिलो स्वर्ण पदक हो । यसअघि आठौँ राष्ट्रिय खेलकुदमा उनीले कास्य पदकमा चित्त बुझाउनु परेको थियो ।


'जीवनको पहिलो स्वर्ण जितेकोमा खुसी लागेको छ,' चन्द्र बहादुरले भने ।

खासमा चन्द्र बहादुर १३ औँ दक्षिण एसियाली खेलकुदको बक्सिङमा नेपाललाई स्वर्ण दिलाएका भुपेन्द्र थापाका भाइ हुन् । रोल्पा घर भएका चन्द्र बहादुर दाई भुपेन्द्र थापाबाट प्रेरित भएर बक्सिङमा लागेका हुन् ।

'दाइ भुपेन्द्रलाई नै पछ्याएर म पनि बक्सिङमा लागेको हुँ । दाइले १३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्नु भएको थियो । मेरो लक्ष्य पनि नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउनु हो,' चन्द्र बहादुरले भने ।


Author

थप समाचार
x