सात स्वर्णसहित आर्चरीमा गण्डकी टीम च्याम्पीयन
पोखरा- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आर्चरीतर्फ गण्डकी प्रदेश टिम च्याम्पीयन बनेको छ । कूल १३ स्पर्धामा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पीयन बनेको हो ।
दोस्रो भएको त्रिभुवन आर्मी क्लबले ३ स्वर्ण, १ रजत र ५ कास्यसहित कुल ९ पदक तथा एपीएफ क्लब तेस्रो बन्दा २ स्वर्ण, ३ रजत र ३ कास्य जित्यो ।
नेपाल पुलिस क्लब १ स्वर्ण, २ रजत र १ कास्य तथा प्रदेश १ ले २ रजत हात पार्यो । सुदुरपश्चिमले १ रजत र २ काँस्य तथा बागमती प्रदेशले १ कास्य जित्यो ।
बुधबार रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जिते । उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । तिलकले रजत पदक जित्दा एपीएफका विराट थापा तेस्रो हुँदै कास्यमा सिमित भए ।
रिकर्भ वुमेन व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै स्वर्ण जितिन् । बजगाईंले रजत पदक जित्दा आर्मीकै ज्ञानु अवाले तेस्रो हुँदै कास्य पदक जितिन् ।
कम्पाउण्ड मेन व्यक्तिगततर्फ गण्डकीकै दुई खेलाडी फाइनलमा भिडे । जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते । पराजित क्षेत्रीले रजत पदकमा चित्त बुझाउँदा सुदुरपश्चिमका सुरेश गुरुङ तेस्रो भए ।
कम्पाउण्ड वुमेन व्यक्तिगततर्फ पहिलो वरियताकी पार्षदा आचार्य (एपीएफ) पछि परिन् । दोस्रो वरियताकी आर्मीकी इमायुङ राईले १३६–१३० ले हराउँदै स्वर्ण जित्दा वरियतामा अघि रहेकी आचार्य रजत पदकमा सिमित बनिन् । तेस्रो वरियताकी एपीएफकी निर्मला कानवाङ राईले तेस्रो हुँदै कास्य जितिन् ।
स्टान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरियताका नगेन्द्र आचार्य (नेपाल पुलिस) ले स्वर्ण जिते । गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पछि पर्दै रजत पदकमा सिमित भए । वागमतीका फर्माचन शेरचनले तेस्रो भए ।
स्टान्डर्ड वुमेन व्यक्तिगततर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन् । आर्मीकी शारदा बिक तेस्रो भइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया