नवौं राष्ट्रिय खेलकुदः विभागीय टिम नै हावी
पोखरा- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । बुधबार भएको फाइनल खेलको टाइ ब्रेकरमा गण्डकीलाई ३–० को गोल अन्तरले हराउँदै आर्मी विजयी भएको हो । टाइ ब्रेकरमा आर्मीको लागि सीता कुमारी चौधरी, सरस्वती तामाङ र सीता माया बलले गोल गरे ।
त्यसअघि खेलको ९ औं मिनेटमा आर्मीको तर्फबाट सरस्वती तामाङले १ गोल गरेकी थिइन् । त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले एक गोल गरिन । खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा सकिएको हो ।
प्रदेश १ लाई हराउँदै सुदुरपश्चिमले कास्य पदक जितेको छ । सुदुरपश्चिमले २–० को गोल अन्तरले प्रदेश १ लाई हराएको हो ।
ट्रायथलनः
ट्रायथलन प्रतियोगितामा आर्मी र एपीएफ क्लबले १-१ वटा स्वर्ण जितेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्रायथलन प्रतियोगितामा पुरुषतर्फ आर्मीका वसन्त थारु र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जितेका हुन् ।
पुरुषतर्फ निर्धारित २० किमि साइक्लिङ, ७ सय ५० मिटर पौडी र ५ किमि दौड १ घण्टा ९ मिनेट ४३ सेकेन्डमा पार गर्दै आर्मीका वसन्तले स्वर्ण पदक जितेका हुन् ।
महिलातर्फ भने निर्धारित दुरि १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गर्दै एपीएफकी सोनी गुरुङले स्वर्ण पदक जितेकी हुन् ।
पुरुषतर्फ निर्धारित दूरी १ घण्टा १० मिनेट ५ सेकेन्डमा पार गर्दै आर्मीकै दीपेश चौधरीले रजत पदक जिते भने नेपाल पुलिसका मौलिक महर्जनले निर्धारित दूरी १ घण्टा १४ मिनेट ५६ सेकेन्डमा पार गर्दै कास्य पदकमा चित्त बुझाए ।
महिलातर्फ पुलिसकी श्रीवी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जित्दा आर्मीकी केशरी थापाले १ घण्टा ३२ मिनेट २९ सेकेन्डमा पार गर्दै कास्य पदक जितिन् ।
भारोत्तोलनः
नेपाल पुलिसकी विद्या राईले भारोत्तोलनमा कीर्तिमान राखेकी छन् । उनले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जितिन् । ८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार बहन गरेको हुन् ।
महिला ८७ केजी तौल समूहमा एपीएफकी नीशा बलालले स्वर्ण पदक जितिन् । उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार बहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।
नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार बहन गर्दै रजत जितिन् भने नेपाल आर्मीकी अस्मिता राई कास्यमा सीमित भइन् । उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाएकी हुन् ।
एपिएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कास्य पदक जितिन् । शिखाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार बहन गरिन् भने गण्डकीलाई पहिलो कास्य दिलाउन सिन्जलले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ५० सहित ९० केजी भार उठाईन् । घरेलु टोली गण्डकीले यसअघि रजत जितेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया