खेलकुद

एथलेटिक्सः ८ सय मिटर दौडमा फूलमति र सोमलाई स्वर्ण

इकागज |
कात्तिक २, २०७९ बुधबार १९:३४ बजे

काठमाडौं– विभागीय टोली एपीएफकी फूलमती राना र आर्मीका सोमबहादुर कुमालले एथलेटिक्स ८ सय मिटर दौडमा बुधवार स्वर्ण पदक जितेका छन् । 

पोखरा रंगशालामा बुधवार भएको दौडमा महिलातर्फ एपीएफकी फूलमतिले निर्धारित दूरी २ मिनेट २७.३६ सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा सोमबहादुर कुमालले निर्धारित दूरी १ मिनेट ५४.०८ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डमा पूरा गर्दै रजत र आर्मीकै रेखा लिम्बूले २ मिनेट ३०.४८ सेकेण्डमा पूरा गर्दै काँस्य पदक जितिन् । पुरुषतर्फ पुलिसका तेजबहादुर कार्कीले रजत र आर्मीकै सुनिल सुनारले काँस्य पदक जिते । निर्धारित दूरी कार्कीले १ मिनेट ५५.२१ सेकेण्ड र सुनारले १ मिनेट ५५.५२ सेकेन्ड पूरा गरेका थिए । 


यस्तै ४ सय मिटर हडल्समा त्रिभुवन आर्मीका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन् । थारुले ४ सय मिटर ५३.५३ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जिते । आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेण्डमा पूरा गर्दै रजत पदक जिते । एपीएफका निरप्रताप महतोले ५३.९२ सेकेण्डमा पार गर्दै कास्य पदक जिते । 

यस्तै महिला ४ सय  मिटर रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ । आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक निकालेको हो । आर्मीका लागि रमिता गुरुङ, सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९.६० सेकेण्डमा दूरी परा गरे । गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक जित्यो । वागमतीका लागि रजिता दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजना आमात्यले ५२.७६ ले दूरी पूरा गर्दै कास्य पदक जितेका छन् ।

यस्तै पुरुष ४ सय मिटर रिले दौडमा एपीएफले स्वर्ण पदक जित्यो । एपिएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामीमगरले ४२.४४ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । त्यसैगरी आर्मीका जीवन चौधरी, विवश थारु, युवराज विक र डिल्ली भण्डारीलाई ४२.६० सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक जितेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुल्सीराम थारुले ४४.३८ सेकेण्डमा पूरा गर्दै कास्य पदक जितेका छन् । 

एथलेटिक्स महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकला लाम्गाडेले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । बुधबार पोखरा रंगशालामा भएको प्रतिष्पर्धामा लामगाडेले ४७.६० मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा रहेको थियो । आठौं राष्ट्रिय खेलकुदमा उनले ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन् । उक्त कीर्तिमानलाई लाम्गाडेले तोड्न सफल भएकी हुन् । सोही इभेन्टमा आर्मीकी लक्ष्मी थारुले ४५.५६ मिटर थ्रो गर्दै रजत पदकमा चित्त बुझाउँदा एपीएफकी सीमाकुमारी थारुले ४५.२० सकेन्डमा पूरा गर्दै काँस्य पदक जितिन् । 

यस्तै ज्याभ्लिन थ्रोको पुरुषतर्पmको प्रतिष्पर्धामा आर्मीका रोहित चौधरीले स्वर्ण पदक निकाल्न सफल भए । बुधबार पोखरा रंगशालामा चौधरीले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् । एपीएफका रमेश पोख्रेल र मनोज डगौंराले क्रमशः रजत र कास्य पदक जिते । पोख्रेलले ५५.४३ र डगौंराले ५३.३९ मिटर थ्रो गरेका थिए । 


Author

थप समाचार
x