नवौँ राष्ट्रिय खेलकुदः पार्की दाइ-भाइलाई एकै दिन स्वर्ण
पोखरा- गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत दाइ गोपी चन्द्र पार्की र भाइ शिवराज पार्कीले एकै दिन स्वर्ण जितेका छन् । राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन एथलेटिक्समा दुवैले स्वर्ण जितेका हुन् ।
पोखरा रंगशालामाको ट्रयाकमा दाइ गोपी चन्द्रले ५ हजार मिटर दौडमा नेपाल एपीएफ क्लबका लागि स्वर्ण जिते । गोपी चन्द्रले निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेन्डमा पुरा गरे ।
जारी प्रतियोगितामा गोपी चन्द्रको यो पहिलो स्वर्ण हो । त्यसैगरी, गोपी चन्द्रको ५ हजार मिटरमा राष्ट्रिय खेलकुदमा ह्याट्रिक पनि हो । उनले यसअघि सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेका थिए ।
'ह्याट्रिक गर्न पाउँदा खुसी लागेको छ,' गोपी चन्द्रले भने ।
यसैबीच, ५ हजार मिटर दौडमा कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट र २९.९३ सेकेन्डमा रजत तथा त्रिभुवन आर्मी क्लबका मुकेश पालले १४ मिनेट र ३६.६० सेकेन्डमा कास्य हात पारे ।
यता एपीएफबाट खेल्ने शिवराजले पुरुषको २ सय मिटर दौडमा स्वर्ण जिते । शिवराजले निर्धारित दूरी २१.९१ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे । उनले एक सय मिटर दौड तथा रिलेमा पनि स्वर्ण जितेका थिए ।
यता एपीएफकै आशिष चौधरीले २२.०५ सेकेन्डमा रजत तथा आर्मीका युवराज विकले २२.५० सेकेन्डमा कास्य हात पारे ।
एकै दिन दाई-भाईले स्वर्ण जितेपछि शिवराजले आफूले भन्दा पनि दाईले स्वर्ण जित्दा बढी खुसी लागेको प्रतिक्रिया दिए ।
आफू भन्दा पनि दाइले स्वर्ण जित्दा बढी खुसी लागेको छ । म दाइलाई धेरै माया गर्छु र उहाँले जित्दा असाध्यै खुसी लागेको छ । दाइले नै सिकाएर यहाँसम्म आएको हुँ,' शिवराजले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया