खेलकुद

टेनिसमा गण्डकीका प्रदीपलाई ह्याट्रिक स्वर्ण

इकागज |
कात्तिक ३, २०७९ बिहीबार १५:४३ बजे

काठमाडौं– नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका प्रदीप खड्काले व्यक्तिगत विधामा बिहीबार स्वर्ण पदक जित्दा समग्रमा तीन इभेन्टमा तीन स्वर्ण पदक जित्दै ह्याट्रिक गरेका छन् । 

बिहीबार पोखरा रंगशाला टेनिस कोर्टमा व्यक्तिगत विधामा स्वर्ण पदक जित्दै स्वर्णको ह्याट्रिक गरेका हुन् । व्यक्तिगत विधामा टेनिसका शीर्ष वरियताका खड्काले एनआरएनका आरभ हाडालाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।


०–३ सेटको दयनीय अवस्थामा पुगेका प्रदीपले लगातार सर्भिस प्वाइन्ट ब्रेक गर्दै पहिलो सेट टाईब्रेकरमा लिँदै खेलमा फर्किएका थिए । आफनो सर्भिस प्वाइन्ट गुमाएपछि दबाबमा रहेको प्रदीपले खेल उल्ट्याउन निकै मेहनत गरे । एकपछि अर्को सर्भिस ब्रेक गरेपछि खड्का खेलमा फर्किएका थिए । ६–६ को अवस्था निकै प्रतिष्पर्धात्मक रह्यो । टाईबेकमा ७–६ (७) ले लिँदै पहिलो सेट आफनो पक्षमा पारे ।

एक सेटले पछि परेका आरभ दोस्रो सेटमा भने प्रतिष्पर्धात्मक बन्नै सकेनन् । दोस्रो सेट ६–३ ले सोझो रुपमा लिएपछि प्रदीपले टेनिसका तीन विधामा तीन स्वर्ण पक्का गर्दै ह्याट्रिक गरे । महिला एकलतर्फको प्रतिष्पर्धामा नेपाली सेनाकी अभिलाषाले सेनाकै इरा रावतलाई ६–१, ६–६ सेटमा पराजित गर्दै स्वर्ण जितिन् । पुरुष सशस्त्र प्रहरीका सन्तोष खत्री र नेपाली सेनाका प्रणव खनालले कास्य जिते ।

महिला एकलतर्फ सेनाले स्वर्ण र रजत पदक जित्दा वागमतीका रायना शाह र प्रकृति श्रेष्ठले कास्य पदक जित्न सफल भए ।  पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल साइको जोडीले स्वर्ण पदक जित्दा सेनाका प्रणव र अकि जुवेन रावतको जोडी रजत पदक जितेको छ । गण्डकीका आशिष खड्का र सौगात विकको जोडी र बागमतीका निसान श्रेष्ठ र प्रितम परियारको जोडीले कास्य जिते । गण्डकी प्रदेशले पुरुष टिम इभेण्टमा समेत स्वर्ण पदक जितेको थियो ।

टेनिसमा विभागीय नेपाली सेना चार स्वर्णसहित दश पदक जितेर टिम च्याम्पियन बनेको छ । यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्यसहित पाँच पदक जितेर द्वितीय बन्न सफल भयो । वागमती प्रदेश एक कांस्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जिते । नेपाल प्रहरीले एक रजत र तीन कास्य पदक जित्दा एनआरएनले एक रजतमा चित्त बुझायो ।
 


Author

थप समाचार
x