नवौं राष्ट्रिय खेलकुद : जिल्ला तहमा पनि राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ भन्ने सन्देश
बागलुङ- कतिपय त्रुटी र अभावबीच बागलुङले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दो प्रतियोगितालाई सफल पार्यो । पहिलोपल्ट जिल्लामा भएको राष्ट्रिय खेलले जनसाधारणमा सोचेजति उत्साह भर्न नसकेपनि खेलाडीले भने सुखद् स्मरण लिएर फर्किए ।
लगानी, पूर्वाधार र सही व्यवस्थापन नभए ठूला खेल प्रतियोगिता सञ्चालनमा आउने चुनौतीबारे पनि आयोजक/व्यवस्थापक यसपाली राम्रैसँग सचेत बने । कमीकमजोरीका बाबजुत सौहाद्र स्थितिमा खेल सकिनुले जिल्ला तहमा पनि राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भयो ।
पूर्वाधार र समन्वयको कमी इत्यादि कारणले खेल सञ्चालन तथा व्यवस्थापनप्रति छिटपुट गुनासा उठे पनि आम रूपमा प्रतियोगिता सफल भएको आयोजकको दाबी छ । आइटिएफ नेपालका महासचिव अञ्जु रावतले बागलुङमा खेल पूर्वाधारको कमी औँल्याइन् । 'कभर्डहल अलि सानो भयो, खेलाडी मात्रै अटे, दर्शकले ढोकामा उभिएर खेल हेर्नुपर्ने स्थिति रह्यो,' उनले भनिन्, 'राष्ट्रियस्तरका प्रतियोगिता खेलाउन व्यवस्थित खेल मैदान र कभर्डहलको खाँचो देखियो, खेलमा लगानी थप्न सरकार र सम्बन्धित निकायले पहल लिनुपर्छ ।' व्यवस्थापनका दृष्टिले भने दुःखेसो गर्नुपर्ने ठाउँ नरहेको महासचिव रावतले बताइन् ।
'आवास, भोजन जस्ता कुरामा खेलाडीले पाँचौ खेलकुददेखि अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट बागलुङलाई माने, स्तरीय होटलको प्रबन्ध भयो,' उनले भनिन्, 'स्थानीय रूपमा बागलुङ नगरपालिकासहित अरू सङ्घसंस्थाले गरेको सहयोग र लिएको अपनत्व हाम्रा लागि महत्वपूर्ण रह्यो ।'
महासचिव रावतले कतिपय प्रतियोगितामा जाँदा खेलाडीले भोकभोकै हिँड्नुपरेको, होटलको खानाले बिरामी परेको, एकै विस्तारामा दुई/तीन जना सुत्नुपरेको जस्ता नमिठो विगतलाई बागलुङले बिसाइदिएको धारणा राखिन् ।
प्रतियोगितामा स्वर्ण पदक विजेता विभागीय टिम नेपाल आर्मीकी सुस्मिता श्रेष्ठले खेलसँगै बागलुङका पर्यटकीय स्थलको घुमघामले आफू रोमाञ्चित बनेको बताइन् । खेलाडीले प्रसिद्ध कालिका भगवती, विश्वकै ‘लामो’ दाबी गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल लगायतका ठाउँ घुम्ने मौका पाएका थिए । आर्मीका प्रशिक्षक ज्ञानप्रसाद खत्रीले बागलुङ नगरपालिकाको आतिथ्यता र स्थानीय व्यवस्थापन प्रशंसायोग्य रहेको बताए । ठूला सहरमा जस्तो खेल पूर्वाधार बनाउन नसकेपनि जिल्लामा भएका खेल संरचनालाई व्यवस्थित र सुविधायुक्त बनाउनुपर्ने उनको सुझाव छ ।
बागलुङ नगरपालिकाका प्रमुख एवं आइटिएफ तेक्वान्दो प्रतियोगिता व्यवस्थापन आयोजना समितिका संयोजक वसन्तकुमार श्रेष्ठले पहिलोपल्ट जिल्लामा भएको राष्ट्रिय खेलकुद बृहत् र उत्साहपूर्ण ढङ्गले सम्पन्न भएको बताए । 'छोटो समयको तयारीमा हामीले सक्दो प्रयास गर्याैँ, खासमा यो खेलकुदसँग सम्बन्धित सङ्घ संस्थाले नै गर्नुपर्ने काम थियो, तैपनि हामीले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका छौँ,' उनले भने, 'प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, निर्णायक, व्यवस्थापकलगायत उत्साहित भएर फर्कनुभएको छ ।'
उनले खेल पूर्वाधार, खेलाडीको सेवा सुविधा जस्ता विषयमा भने धेरै गर्न बाँकी रहेको उल्लेख गरे । खेलाडीको भत्ता, बीमालगायत सेवा सुविधाका विषयमा गुनासो उठेको नगरप्रमुख श्रेष्ठको भनाइ छ । 'यो राज्यकै दायित्वभित्रको कुरा हो, पूर्वाधारदेखि खेलाडीको व्यावसायिक सुरक्षामा लगानी बढाउनुपर्छ,' उनले भने, 'स्थानीय तहले पनि खेल क्षेत्रमा स्रोतसाधन जुटाउने, पूर्वाधार बनाउने जस्ता विषयमा संवेदनशील बन्नुपर्नेमा यो प्रतियोगिताले पाठ सिकाएको छ ।'
उनले अहिलेको प्रतियोगिता सञ्चालनमा खेलकुद क्षेत्रका निकाय, सङ्घसंस्था र पदाधिकारीसँग समन्वय नभएको बताए । आयोजक राष्ट्रिय खेलकुद परिषद्ले बेलैमा प्रतियोगिता सञ्चालन बारेको कार्ययोजना ठोस नगर्दा अन्यौल सिर्जना भएको उनको भनाइ छ । खेल सुरु हुनुभन्दा एक हप्ताअघि मात्र राखेपको पत्र पाएपछि नगरपालिकाले समिति बनाएर व्यवस्थापकीय काम थालेको थियो ।
सात प्रदेश र तीन विभागीय टिमका खेलाडी बीचको स्वस्थ खेल प्रतिस्पर्धाले बागलुङबाट एकता र भाइचाराको सन्देश देशैभर गएको नगरप्रमुख श्रेष्ठले बताए । 'बागलुङ पनि राष्ट्रियस्तरका खेलको आयोजना र व्यवस्थापनमा सक्षम छ भन्ने प्रमाणित भएको छ, भएका कमीकमजोरी सच्चाउने तत्परता हामी सबैमा भयो भने आउँदा दिनमा अझ उत्कृष्ट गर्न सकिन्छ,' उनले भने ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले भने यत्रो प्रतियोगिता हुँदा आफूहरुलाई उपेक्षा गरिएको बताए । आयोजक राखेपले एउटा पत्रसम्म समितिलाई नपठाएको उनको गुनासो छ । 'हामीसँग कुनै समन्वय भएन, जिल्लामा क्रियाशील अरू खेल सङ्घ र तिनका पदाधिकारीलाई उपेक्षा गरियो,' अध्यक्ष खड्काले भने ।
उनले आइटिएफ प्रतियोगिताका लागि आएका ‘म्याट’समेत उठाएर लैजान खोजिएकामा आपत्ति जनाए । 'म्याट जिल्लामै राख्ने समझदारी भएको हो, अहिले त्यही पनि लैजान खोजिँदैछ भन्ने सुनिएको छ, हामीले त्यो गर्न दिँदैनाैँ,' अध्यक्ष खड्काले भने, 'खेलकुद समितिलाई गरिएको बेवास्ताका विषयमा राखेपका सदस्य सचिवसँग पनि मैले कुरा राखेको छु ।'
खेलकुद विकास समितिले राखेपको आर्थिक सहयोगमा कभर्डहलमा रङ्गरोगन, वाइरिङ र ट्रस निर्माणका काममा सहजीकरण गरेको थियो । समितिले नै बागलुङ नगरपालिका–१ मा रहेको बाङ्गेचौर कभर्डहलमा प्रतियोगिता सञ्चालनका लागि पहल गरेको हो । लामो समयसम्म प्रतियोगिता कहाँ खेलाउने भन्नेमा विवाद थियो ।
प्रतियोगिता अवधिमा प्रभावकारी सञ्चार समन्वय हुन नसकेकामा पनि टिप्पणी भएको छ । आयोजकले ‘मिडिया डेस्क’ नराख्दा समाचार सम्प्रेषणमा कठिनाई व्यहोर्नुपरेको दुःखेसो पत्रकारले गरेका थिए । ठूला खेल प्रतियोगिता हुँदा पत्रकारलाई अलग्गै स्थल तोकिएको हुन्छ । यसमा भने आयोजक र स्थानीय व्यवस्थापक चुकेका थिए ।
शनिबारदेखि बुधबारसम्म चलेको प्रतियोगितामा १३ स्वर्ण पदकसहित विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको थियो । आठ रजत र तीन कास्यसमेत गरेर कूल २४ पदक हासिल गर्दै आर्मीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो । यसअघि नेपालगञ्जमा भएको आठौँमा १६ र विराटनगरमा भएको सातौँ खेलकुदमा १७ स्वर्णसहित आर्मी पहिलो बनेको थियो । प्रतियोगितामा छ स्वर्ण, तीन रजत र तीन कास्य जितेर बागमती प्रदेशले दोस्रो स्थान बनायो । तेस्रो स्थान हासिल गरेको गण्डकी प्रदेशले पाँच स्वर्ण, आठ रजत र दुई कास्य पदक जित्यो । १ नं प्रदेशले तीन स्वर्ण, दुई रजत र पाँच कास्य पदक हात पार्यो । लुम्बिनी प्रदेशले एक स्वर्ण, तीन रजत र आठ कास्य पायो ।
सशस्त्र प्रहरी बलले एक स्वर्ण, तीन रजत र दुई कास्यमा चित्त बुझायो । कर्णाली प्रदेशले दुई रजत र दुई कास्य पदक हात पार्यो । नेपाल पुलिसले चार कास्य पदक जित्दा मधेश प्रदेशले एउटा मात्र कास्य पदकमा सीमित भयो । सुदूरपश्चिम प्रदेशले कुनैपनि पदक जित्न सकेन ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पदक विजेता खेलाडीलाई २३ नं बाहिनी अड्डाका सहायक रथी रामप्रसाद अधिकारी, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायतले पदक र पुरस्कार प्रदान गरेको बागलुङ नगरपालिकाका उपप्रमुख एवं आइटिएफ नेपालमा सचिव राजु खड्काले बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया