पीएम कप क्रिकेटः आर्मीमाथि हावी हुँदा एपीएफको विजयी सुरुआत
काठमाडौं– एपीएफ क्लवले आईतबारबाट शुरु भएको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा विजयी सुरुआत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा एपीएफले विभागीय टोली त्रिभुवन आर्मीमाथि ५६ रनको जित निकाल्यो । पहिला ब्याटिङ गर्दै एपीएफले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको आर्मीले ३२.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६३ रन बनाउन सक्यो ।
ओपनर हरि चौहान र रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेलेको खेलमा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । चौहानले ६७ बलमा ७ चौका र १ छक्कासहित ६५ रनको व्यत्तिगत स्कोर बनाउँदा रोहित पौडेलले ५९ बलमा ७ चौकासहित ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । २ विकेट गुमाउँदा ४७ रन बनाएको आर्मीले ३ विकेट गुमाउँदा १ सय ४२ बनाएको थियो । त्यसपछि मध्यक्रमका ब्याट्सम्यानले जमेर खेल्न सकेनन् ।
आर्मीविरुद्ध कसिलो बलिङ गर्ने क्रममा एपीएफका लागि अमर रौटेलालले ५.१ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । यस्तै, कमलसिंह ऐरीले १० ओभरमा ५६ रन खर्चेर १ मेडनसहित ३ विकेट निकाल्दा किशोर महतोले ८ ओभरमा २९ रन खर्चेर २ विकेट आफ्नो नाममा लेखाए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले ४७.४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रन जोडेको थियो । पुलिसका लागि ओपनर प्रदीप ऐरीले ८० बलमा ४ चौका र ६ छक्कासहित ७१ रनको अर्धशतकीय इनिङ खेल्दा अर्का ओपनर आशिफ शेख ९ रन बनाएर पेभेलियन फर्किएका थिए ।
लोकेश बम शुन्यमा पेभेलियन फर्किएपछि भुवन कार्कीले २६ रन बनाएर आउट हुँदा पाँचौं नम्बरमा क्रिजमा उत्रिएका सन्दीप जोराले अर्धशतक बनाएका थिए । एपीएफका लागि ६२ बलको सामना गरेका सन्दीपले ६ चौका प्रहार गरे । कप्तान शरद भेसवाकर १६ रन बनाएर पेभेलियन फर्किंदा अमरसिंह रौटेला १० रनमा अविजित रहे ।
बलिङ तर्फ आर्मीका विक्रम सोबले सर्वाधिक ४ विकेट लिए । विक्रमले ७.४ ओभरमा २३ रन खर्चिएका थिए । यस्तै, साहब आलम र कुशल मल्लले २-२ तथा सुशन भारी र जितेन्द्र मुखियाले १-१ विकेट निकाले ।
प्रतियोगितामा सोमवार पनि दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच खेल हुँदा मुलपानीमा नेपाल पुलिस र प्रदेश १ बीच प्रतिष्पर्धा हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया