खेलकुद

रोहिणीमा बृहत् खुल्ला कुस्ती प्रतियोगिता सुरु

इकागज |
कात्तिक १५, २०७९ मंगलबार २०:४२ बजे

बुटवल- रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा मंगलबारदेखि बृहत् खुल्ला कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा  श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेल प्रांगणमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका पहलमानको सहभागिता रहेको छ । 

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले लोप हुन लागेको कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुद क्षेत्रको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए ।


गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीरबहादुर क्षेत्रीले युवाहरूलाई प्रोत्साहन गर्न र तराई–मधेशमा लोकप्रिय कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । उनले भने, ‘लोप हुन लागेको कुस्तीको संरक्षणका लागि पाँच लाख बजेट विनियोजन गरी गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको छ ।'

प्रतियोगितामा प्रथम हुनेलाई रु. १ लाख १ हजार १ सय ११, द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्तत्वनालाई १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए । उनले भने, ‘निर्णायकको निर्णयअनुसार पहलमानहरूलाई प्रोत्साहनवापत साइकल र टेलिभिजनको व्यवस्था गरिएको छ ।’ 

गाउँपालिकाले आयोजना गरेको कुस्ती प्रतियोगिता खेलाडीहरूलाई प्रोत्साहन गर्ने पर्सा जिल्लाबाट आएका पहलमान राज यादवले बताए ।

रोहिणी गाउँपालिकाका प्रवक्ता वीरबहादुर क्षेत्रीको अध्यक्षता, गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवको प्रमुख आतिथ्यता, योजना शाखा प्रमुख राजकुमार मिश्राको स्वागत तथा पत्रकार पशुपति यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ ।


Author

थप समाचार
x