प्रधानमन्त्री कप क्रिकेटः आर्मीकाे पहिलाे जित
काठमाडाैं । सुदूरपश्चिम प्रदेशमाथि १ सय ६९ रनको फराकिलो जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मीले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न शुक्रवारको खेलमा आर्मीले सुदूरपश्चिमलाई फराकिलो अन्तरले पराजित गरेर दोस्रो खेलबाट पहिलो जित निकालेको हो । यसअघि पहिलो खेलमा आर्मीले अर्को विभागीय टोली एपीएफलाई ५६ रनको नतिजा सुम्पिएको थियो । आर्मीले दिएको २ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो ।
सुदूरपश्चिमका लागि वसन्त खत्रीले सर्वाधिक २५ रन जोड्दा नारायण जोशीले १९ रन जोड्दा गजेन्द्र भण्डारीले १७ तथा टेक रावलले १५ रन बनाए । वसन्त कार्की १४ तथा मिलन बोहरा १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । सुदूरपश्चिमको इनिङलाई सस्तैमा समेट्ने क्रममा जितेन्द्र मुखियाले ३ विकेट लिए । विक्रम सोब र शादव खानले २÷२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो । आर्मीका लागि अर्जुन साउदले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेले । अर्धशतकीय इनिङ खेलेका रोहित पौडेलले ५२ रन जोडे । त्यस्तै कुशल मल्लले ४३ रन जोड्दा भीम सार्कीले ३४ तथा कप्तान विनोद भण्डारीले २८ रन बनाए । विक्रम सोब १५ रनमा अविजित रहदा सोनु तामाङ १६ रनमा आउट भए । सुदूरपश्चिमका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले २÷२ विकेट लिए । यस जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ । आर्मी तेस्रो स्थानमा उक्लिएको छ । उता लगातार तेस्रो हार व्यहोरेको सुदूरपश्चिम पुछारमा छ भने सुदूरपश्चिम प्रतियोगिताबाट समेत बाहिरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया