खेलकुद

ठूला क्लबको नजर युलियान नागल्सम्यानमाथि किन ?

इकागज |
बैशाख ९, २०७८ बिहीबार ६:२६ बजे

काठमाडौँ : टोटनहमले गत सोमबार जोसे मौउरिन्होलाई प्रशिक्षकबाट बर्खास्त गर्‍यो । उता बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले पनि जर्मन क्लब छाड्ने घोषणा गरेको धेरै भएको छैन । यसको मतलब यी दुबै क्लबले आउँदो सिजनका लागि नयाँ प्रशिक्षकको खोजी गर्नुपर्नेछ । अनि अन्य ठूला युरोपियन क्लबले पनि नयाँ प्रशिक्षकको खोजी गर्ने अवस्था आउन सक्छ ।

युरोपियन क्लब फुटबलमा धेरै प्रशिक्षक स्थान्तरणका लागि उपलब्ध हुनेछैनन् । त्यसकारण ठूला क्लबहरूका लागि विकल्प धेरै छैनन् । टोटनहम र बायर्न जस्ता क्लबहरूको नजर एक युवा जर्मन प्रशिक्षकमाथि छ । उनी हुन्, युलियान नागल्सम्यान । हाल आरबी लाइपजिगमा रहेका नागल्सम्यान आउँदो सिजन नयाँ क्लब जाने अनुमान गरिएको छ ।


यसअघि होफनहाइम र हाल लाइपजिगमा नागल्सम्यानले आफूलाई प्रतिभाशाली प्रशिक्षकका रुपमा सिद्द गरेका छन् । त्यसकारण पनि उनलाई अनुबन्ध गर्न ठूला क्लबहरू लालयित छन् । तर ३३ वर्ष मात्रै पुगेका नागल्सम्यान कसरी यति चाँडै विश्व फुटबलमै ठूला मानिने क्लबहरुको नजरमा पर्ने हैसियतमा पुगे ? यस आलेखमा उनको कौशल र यात्राबारेमा उल्लेख गरिनेछ । 

को हुन् युलियान नागल्सम्यान ? ठूला क्लबहरू किन उनलाई अनुबन्ध गर्न चाहन्छन् ? 
युवा प्रशिक्षक नागल्सम्यान गत सिजनबाट लाइपजिगको प्रशिक्षक बनेका हुन् । पहिलो सिजनमै उनले लाइपजिगलाई च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्‍याए । जसका कारण नागल्सम्यान च्याम्पियन्स लिगको इतिहासमै सबैभन्दा कम उमेरमा नकआउट खेल जित्ने प्रशिक्षक बने ।

खेलाडीका रुपमा नागल्सम्यानले जर्मन फुटबलको उपल्लो श्रेणीको लिग खेलेनन् । १८६० म्युनिखको युवा टिमको कप्तान रहेका नागल्सम्यानले चोटका कारण धेरै समयसम्म खेल्न पाएनन् । उनले सन् २००८ मा एफसी अग्सबर्गमा रहँदा सन्यास घोषणा गरे । त्यसपछि नागल्सम्यान अग्सबर्ग प्रशिक्षण टोलीको हिस्सा बने । थोमस टुचेल प्रशिक्षक रहेको अग्बसबर्गमा नागल्सम्यान विपक्षीको खेल विश्लेषण गर्ने स्काउट बने ।

प्रशिक्षण करियर 
नागल्सम्यानको प्रशिक्षण करियर सन् २०१० मा होफनहाइमबाट सुरु भयो । जहाँ उनी एकेडेमीको प्रशिक्षक बने । विभिन्‍न उमेर समूहको प्रशिक्षक बनेका उनी सन् २०१६ मा होफनहाइमको सिनियर टिमको प्रशिक्षकमा नियुक्त भए । त्यसबखत उनी २८ वर्षका थिए । जसका कारण उनी बुन्डेसलिगा इतिहासकै कान्छो प्रशिक्षक बने । 

नागल्सम्यान प्रशिक्षकमा नियुक्त हुँदा होफनहाइम रेलिगेसन क्षेत्रबाट मात्रै सात अंकले माथि थियो । नागल्सम्यानको प्रशिक्षणमा होफनहाइमले अन्तिमका १४ मध्ये सात खेलमा जित दर्ता गर्‍यो । अर्को सिजन होफनहाइम बुन्डेसलिगाको शीर्षचारमा रहँदै च्याम्पियन्स लिगमा छनौट भयो । २०१७/१८ सिजनमा होफनहाइम जर्मन लिगमा तेस्रो भयो ।

होफनहाइममा आफूलाई अब्बल सावित गरेका नागल्सम्यानलाई रियल म्याड्रिडले अनुबन्ध गर्ने इच्छा राख्यो । तर जर्मन प्रशिक्षकले बुन्डेसलिगामै रहने निधो गरे । त्यसै अनुरुप उनी लाइपजिग हानिए । पहिलो सिजनमै नागल्सम्यानले कमाल गरे । बुन्डेसलिगामा उनले लाइपजिगलाई तेस्रो बनाए भने च्याम्पियन्स लिगको अन्तिम चारमा पुर्‍याए । त्यो पनि टोटनहम र एथलेटिको म्याड्रिडलाई प्रि-क्‍वार्टर र कवार्टरफाइनलमा पन्छाएर । 

मैदानको रणनीति 
नागल्सम्यान यदि टोटनहमको प्रशिक्षक बनेमा त्यस क्लबको खेल्ने शैली परिवर्तन हुनेछन् । कारण ? उनी मौउरिन्होले जस्तो रक्षात्मक फुटबल खेलाउँदैनन् । उनी अन्य जर्मन प्रशिक्षक जस्तै ‘काउन्टर प्रेसिङ’ मा विश्वास गर्छन् । अनि विपक्षीको पोष्टमा आक्रमण गर्दा स्ट्राइकरको मात्रै भर पर्दैनन् ।  

नागल्सम्यानको टिममा खेलाडीहरुले बल तुरुन्त पास गर्ने गर्छन् । अनावश्यक रुपमा पोसेसज राख्ने भन्दा धेरै भन्दा धेरै आक्रमण बुन्‍नेमा नागल्सम्यानको ध्यान रहन्छ । ‘दर्शक हाम्रो खेल हेरेर दंग परुन् । रंगशालाबाट घर फर्कदा हामीले देखाएको खेलबारेमा सोचुन् । मेरो र मेरो टिमको चाहना यही नै हुन्छ, दर्शकलाई खुशी बनाउनु,’ नागल्सम्यानले एक अन्तवार्तामा भनेका थिए । 

खेलाडीसँगको सम्बन्ध 
नागल्सम्यान खेलाडीहरू माँझ लोकप्रिय छन् । उनी पत्रकार सम्मलेनमा खासै ब्यक्तिगत कुरा गर्न रुचाउँदैनन् । न त सञ्चार माध्यमलाई अन्तवार्ता दिइरहन्छन् । टाढाबाट उनी शान्त देखिन्छन् । नजिकबाट चिन्‍नेहरू नागल्सम्यानलाई एकदमै मिजासिलो रहेको मान्छन् । प्रशिक्षण दौरान उनी नयाँ प्रविधि र शैली प्रयोग गर्न मन पराउँछन् । तर खेलाडीलाई अनुशासित राख्‍न भने उनी पाका प्रशिक्षकहरू जस्तै शसक्त मानिन्‍नछन् ।

कमजोरी  
च्याम्पियन्स लिगमा नागल्सम्यान इंग्लिस प्रतिद्वन्द्वीसँग ठूलो अन्तरमा हारेका छन् । यस सिजन लाइपजिग लिभरपुलसँग समग्रमा ४-० ले पराजित भयो । त्यस्तै समूह चरणमा म्यानचेस्टर युनाइटेडसँग ५-० ले हार्‍यो । त्यस्तै लाइपजिग पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पनि निरिह बन्यो । यी नतिजाहरुरूले नागल्सम्यान बलिया टिमविरुद्ध फिक्का भइरहेको देखाउँछ । तर फेरि नागल्सम्यानले डिएगो सिमओने र जोसे मौउरिन्होलाई पराजित गरेका छन् । यति चाँही भन्‍न सकिन्छ, नागल्सम्यानसँग ठूला क्लब सम्हालेको अनुभव छैन । तर प्रश्न उठ्छ । के लाइपजिगको भन्दा टोटनहमको जिम्मेवारीमा नागल्सम्यानले बढी दबाब महसुस गर्नेछन् ? (बेलायती अखबार दी टाइम्सबाट) 
     
 


Author

थप समाचार
x