खेलकुद

एपीएफ र गण्डकी प्रदेशबीचको खेल 'टाइ'

इकागज |
कात्तिक १८, २०७९ शुक्रबार १८:४४ बजे

फाइल तस्वीर

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ र गण्डकी प्रदेशबीचको खेल टाइ भएको छ । शुक्रवार भएको खेलमा दुवै टोलीले १–१ अंक बाँडेका छन् । 

मैदान ओसिलो भएका कारण ४३ ओभरमा घटाइएको खेलमा एपीएफले दिएको १ सय १६ रनको लक्ष्य गण्डकीले ३१ ओभरमा ९ विकेट गुमाएर १ सय १५ रन बनाउन सक्यो । 


नौ विकेट गुमिसकेको अवस्थामा ३१ औं ओभरको अन्तिम बलमा ब्याटिङमा रहेका कमल परियार मौसम ढकालको बलमा बोल्ड हुँदै पवेलियन फर्किएपछि खेल टाई भएको थियो । यसअघि गण्डकीका अभिषेक बस्नेतले सर्वाधिक २४ रनको पारी खेल्दा ओपनर अर्जुन कुमालले १८, कप्तान विपिन खत्रीले १७ तथा कमल ढकालले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको व्यक्तिगत स्कोर बनाउन सकेनन् । बलिङतर्फ एपीएफका मौसम ढकाल र किशोर महतोले समान ४÷४ विकेट निकाल्दा भुवन कार्कीको नाममा दुई विकेट रह्यो ।

मूलपानी मैदानमा यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले ३५.१ ओभरमा सबै विकेट गुमाएर १ सय १५ जोडेको थियो । एपीएफका दुवै ओपनरले राम्रो शुरुवात गर्न सकेनन् । एपीएफका लागि भुवन कार्कीले बनाएको नट आउट २४ रनको पारी नै सर्वाधिक रन रह्यो । यसअघि पूर्ण विकले २३ को व्यक्तिगत स्कोर बनाउँदा लोकेश बम र सन्दीप जोराले समान २२÷२२ रनको योगदान गरे । 

अमर रौटेलाले १३ रन जोड्दा कप्तान शरद भेषवाकर विपिन खत्रीको बलमा बोल्ड हुँदै पवेलियन फर्किएका थिए । एपीएफका तीन ब्याट्सम्यान शून्यमा पवेलियन फर्किएका थिए । बलियो एपीएफलाई रोक्ने क्रममा अमृत गुरुङ र अर्जुन कुमालले समान ३÷३ विकेट लिए । यस्तै सुवास भण्डारीको नाममा २ विकेट रहँदा चन्द्र पौडेल र विपिन खत्रीले १÷१ विकेट निकाले । 

यससँगै एपीएफ र गण्डकीले समूह ‘ए’ को अंक तालिकामा समान ५ अंक बनाएका छन् । तीन खेलबाट दुवै टोलीले समान २÷२ खेलमा जित निकालेका छन् । एपीएफ रन रेटको आधारमा समूह तालिकाको शीर्ष स्थानमा छ ।

प्रतियोगितामा शनिबार दुई खेल हुनेछन् । कीर्तिपुरमा एपीएफ र कर्णालीबीच खेल हुनेछ भने मुलपानी मैदानमा लुम्बिनी र मधेस प्रदेशबीच खेल हुनेछ । 


Author

थप समाचार
x