खेलकुद

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : मधेश प्रदेश सेमिफाइनलमा प्रवेश

इकागज |
कात्तिक २१, २०७९ सोमबार १६:४६ बजे

काठमाडौँ- मधेश प्रदेश प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बागमती प्रदेशसँगको खेल टाई भए पनि मधेश ३ खेलबाट पाँच अंक जोड्दै सेमिफाइनलमा पुगेको हो । बागमती भने यसअघि नै प्रतियोगिताबाटै बाहिरिसकेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा मधेशले दिएको १९१ रनको लक्ष्य पन्छाएको बागमती ४९.२ ओभरमा १९० रनमा अलआउट भएपछि खेल टाई भएको हो ।


खेल टाई भएपछि दुवै टोलीले एक-एक अंक बाँडेका हुन् । बागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ४०, रित गौतमले ३२, ईसान पाण्डेले ३१, सुर्य तामांगले २८, विवेक मगरले २५ रन जोडे ।  त्यसअघि टस जितेर ब्याटिङ मधेश ४६.२ ओभरमा १९० रनमा अलआउट भयो । जसमा रोहन विकले सर्वाधिक ६३ रन बनाए ।

त्यस्तै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकाल्यो । कर्णालीले दिएको १ सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५० रन बनाएको थियो ।

प्रतियोगिताबाट बाहिरिसकेको सुदूरपश्चिमको यो सान्त्वना जित हो । कर्णालीको यो लगातार तेस्रो हार हो ।


Author

थप समाचार
x