खेलकुद

नेपालविरुद्ध मलेसिया : बलिङ राम्रो, ब्याटिङ झनै राम्रो

इकागज |
बैशाख ९, २०७८ बिहीबार १७:० बजे

काठमाडौँ:त्रिकोणात्मक टि-ट्‍वान्टी श्रृंखलाको अन्तिम राउण्ड रोबिन खेलमा बिहीबार नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । यसअघि नै श्रृंखलाको फाइनलमा पुगिसकेको नेपालले मलेसियालाई दोस्रो भेटमा पनि हराएपछि चार खेलबाट छ अंक बनायो । अंक तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले चार खेलबाटै पाँच अंक बनायो । मलेसियाले भने एक खेल पनि जित्न सकेन ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेललमा टस हार्दै नेपालले पहिले ब्याटिङ गर्‍यो । करण केसीले विष्फोटक ब्याटिङ गरेपछि नेपालले निर्धारित २० ओभरमा २१७ को योगफल तयार गर्‍यो । करणले १३ बल सामना गर्दा ४५ रन बनाए । 


त्यसअघि नेपालका लागि ओपनरद्वय आशिफ र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मंंगलबार नेदरल्यान्ड्ससँगको खेलमा शून्यमा आउट भएका आशिफले मलेसियाविरुद्ध ३२ बलमा ४२ रन जोडे । त्यस्तै पछिल्ला तीन खेलमा अर्धशतक बनाएका कुशलले भने १६ रन बनाए । 

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान ज्ञानेन्द्रले २५ बल सामना गर्दा ४१ रन बनाए । त्यस्तै, दिपेन्द्र सिंह ऐरीले १७ बलमा ३३ रन बनाए । कुहल मल्लले नेपालका लागि १९ रन थपे । 

बलिङतर्फ मलेसियाका तीन बलरले दुई-दुई विकेट लिए । फिट्री शाम, अनवर रहमान र सैयद अजिजको नाममा दुई-दुई विकेट रहँदा मुहम्मद वाफिखले एक विकेट हात पारे । 

२१८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.१ ओभरमा १४८ रन बनायो । मलेसियाका ब्याट्सम्यानहरुले खराब सुरुवात गरे । ओपनरद्वय सैयद अजिज र अनवर अरुद्विन त्रमशः चार र छ रनमा पभेलियन फर्के । अजिजलाई सोमपाल कामीले एलबीडब्लु धरापमा पारे । अरुद्विन पनि सोमपालकै बलमा आउट भए । मलेसियाको इनिङ सम्हाल्ने प्रयास गरेका कप्तान अहमद फैजले २१ बलमा ३१ रन बनाए । त्यस्तै मध्यक्रमका अमिनुद्विन राम्लीले सर्वाधिक ४१ रन जोडे । 

नेपालका लागि कमल ऐरी, सोमपाल कामी र सन्दिप लामिछानेले तीन-तीन विकेट लिए । कमल र सोमपालले किफायती बलिङ गरे । कमलले १६ रन खर्चिए भने सोमपालले २० रन दिए । त्यस्तै शुसन भारीको नाममा एक विकेट रह्यो ।  
 


Author

थप समाचार
x