खेलकुद

अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि भुटनदेवीलाई

इकागज |
मंसिर १, २०७९ बिहीबार २०:४७ बजे

मकवानपुर- हेटाैंडामा भएकाे जिल्ला स्तरीय अन्तरविद्यालय टि २० क्रिकेट प्रतियाेगितकाे उपाधि भुटनदेवी मावि हेटाैंडाले हात पारेकाे छ । मकवानपुर क्रिकेट संघको आयोजनामा भएको निरज श्रेष्ठ स्मृति जिल्ला स्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको बिहीबार भएकाे फाइनल खेलमा सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीलाई ७८ रनले पराजित गर्दै भुटनदेवीले उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भुटनदेवीले निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय रनमा समेटिएकाे थियाे । जवाफी ब्याटिङमा उत्रिएको सोलिड्यारिटीको पनि ब्याटिङ चल्न सकेन । सोलिड्यारिटी १२ ओभरमा अलआउट हुँदा ३८ रनमै समेटियो । प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।


मकवानपुर जिल्लाको क्रिकेट टिमका पूर्वकप्तान निरज श्रेष्ठको स्मृतिमा पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको उपाधिसँगै भुटनदेवीले ३० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको सोलिड्यारिटीले २० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता आयोजनाका लागि ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । प्रथम पुरस्कार रकम रुपकराज मानन्धरले प्रायोजन गरेका हुन् ।

प्रतियोगिताको समापन कार्यक्रम संघका अध्यक्ष बासुलाल श्रेष्ठको अध्यक्षतामा तथा संघका सल्लाहकार पुरनबहादुर जोशीको प्रमुख आतिथ्यमा भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि जोशीले आफू सम्बद्ध हेटौंडा स्कुल अफ म्यानेजमेन्टको प्रायोजनमा क्याम्पस स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेका छन् ।

समापन समारोहमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीको पनि उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x