खेलकुद

शिवसुन्दर र राजेन्द्र च्याम्पियन

इकागज |
मंसिर ३, २०७९ शनिबार १५:४६ बजे

काठमाडौँ- शिवसुन्दर गोथे र राजेन्द्र कपालीले दोश्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि शिव र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन् । विजेताद्वय गोड स्पिन टीटी एकेडेमीका हुन् ।

भैसेपाटीस्थित आयोजक नेपाल एपीएम प्रा.लि. को हलमा भएको ४० वर्षमाथि फाइनलमा तीनपटकका राष्ट्रिय च्याम्पियन शिवले अर्का राष्ट्रिय खेलाडी चन्दन शाहीलाई ११–४, ११–६ र ११–७ को सोझो सेटमा पराजित गरे । ललितपुर टीटी क्लबका नवीनबहादुर शाक्य र सीवाइसी टीटी क्लबका रविन्द्र शाक्य तेश्रो भए ।


राजेन्द्रले ५० वर्षमाथि स्वर्ण भिडन्तमा ललितपुरका कपुर शर्मा पौडेललाई सीधा सेटमा १२–१०, ११–१ र ११–३ ले हराए । सीवाइसीका राजेन्द्र वज्राचार्य र कान्तिपुर भ्याली पिङपोङ क्लबका निशान प्रधान तेश्रो बने ।

भेट्रान पुरुष टिम इभेन्टमा गोड स्पिन (राजेन्द्र कपाली, शिवसुन्दर गोथे, रोशन प्रधान, रविनमुणि वज्राचार्य र जविन्द्र वज्राचार्य) पहिलो भयो । फाइनलमा गोड स्पिनले राजेन्द्र वज्राचार्य, रविन्द्र शाक्य, राजिप वज्राचार्य, किरण ब्यञ्जनकार र आनन्दरत्न धाक्वा सम्मिलित सीवाइसी टोलीलाई ३–१ ले पाखा लगायो । ललितपुरका चन्दन शाही, जयराम महर्जन, निम जोशी, नवीनबहादुर सिंह र कपुर शर्मा पौडेल तथा आयोजक एपीएमका विश्वास गौचन, ठाकुर थापा, पूर्णशंकर श्रेष्ठ र सुमन खड्गी तेश्रो स्थानमा रहे ।

प्रतियोगिताअन्तर्गत पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष ६० वर्षमाथि सिंगल्समा नेपालका रञ्जन सुब्बा पहिलो, दक्षिण कोरियाका नाम साङ वन दोश्रो तथा नेपालका आनन्दरत्न धाक्वा र जगदीश्वर जोशी तेश्रो भएका थिए । महिला ४० वर्षमाथि सिंगल्समा नेपालकी इन्दिरा पराजुलीले स्वर्ण, नेपालकी सम्झना पोखरेलले रजत तथा नेपालकी सरिता बस्नेत र दक्षिण कोरियाकी इम ए सुकले कांस्य जितेका थिए ।

सोही प्रतियोगिताका दौरान यु–१६ ब्वाइज-गल्र्सको एकिकृत प्रतिस्पर्धा पनि गराइएको थियो । एपीएमका आशिष महता पहिलो, बुटवलका विसु सुनार दोश्रो तथा एपीएमकी योङगी पौडेल र दक्षिण कोरियाकी पार्क तेश्रो भएका थिए ।

भेट्रानतर्फ कुल पुरस्कार राशि ४ लाख ५० हजार रुपैयाँ रहेको थियो । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २० हजार र १०–१० हजारका दरले नगद पुरस्कार प्राप्त गरे । यु–१६ का पदक विजेतालाई १ लाख रुपैयाँ बराबरको जिओम नेपालको टेबलटेनिस खेल सामग्री प्रदान गरिएको थियो ।


Author

थप समाचार
x