इएफएल कप फाइनल : सिटी र टोटनहमका लागि उपाधि जित्दै समर्थक फकाउने मौका
काठमाडौँ: यस सिजन म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग उपाधि नजिक छ । त्यति मात्रै होइन, सिटीसँग च्याम्पियन्स लिग र घरेलु इएफएल कप जित्ने मौका पनि छ । एकै सिजन तीन उपाधि जितेमा सिटीका लागि त्यो नयाँ कीर्तिमान हुनेछ ।
सिजनको पहिलो उपाधि जित्न सिटीले आइतबार टोटनहमको चुनौती पन्छाउनु पर्नेछ । वेम्बलीमा हुने इएफएल फाइनलमा भिड्दा दुबै क्लबको लक्ष्य एउटै हुनेछ । उपाधि जित्दै समर्थकबाट सान्त्वना प्राप्त गर्ने । किनभने सुपर लिगका कारण दुबै क्लबको चर्को आलोचना भएको छ । त्यो पनि आफ्नै समर्थकबाट ।
१२ ठूला क्लब मिलेर आयोजना गर्ने भनिएको सुपर लिग आयोजन हाललाई रोकिएको छ । सुपर लिगका विषयमा चौतर्फी विरोध भएपछि इंगल्यान्डका छ क्लब हच्किए । फलस्वरुप सिटीले अन्य क्लबले भन्दा पहिले सुपर लिगबाट बाहिरिएको घोषणा गर्यो । केही घण्टा पछि अन्य इंग्लिस क्लबले पनि सुपर लिग आयोजनाबाट हात झिके ।
यद्यपि इंग्लिस समर्थकहरुको आक्रोश मत्थर भएको छैन । त्यसकारण आइएफएल फायनल दौरान सिटी र टोटनहम समर्थकहरुले विरोध प्रदर्शन गर्ने सम्भावनालाई नर्कान सकिँदैन । वेम्बलीमा करिब आठ हजार समर्थकले प्रवेश पाउने भएकाले विरोध सम्भावना रहेको हो । उता दुबै टिमका प्रशिक्षकहरुलाई भने फाइनल खेलका अगाडि खेलाडीहरुलाई मानसिकरुपमा तयार पार्नु पर्ने चुनौती छ ।
बुधबार लिगमा एस्टन भिल्लालाई हराएको सिटी यस सिजन बलियो देखिएको छ । बाँकी रहेका पाँच खेलबाट आठ अंक बटुले सिटी २०२०÷२१ सिजनको च्याम्पियन बन्नेछ । गत साता मात्रै प्रशिक्षक परिवर्तन गरेको टोटनहम भने शीर्ष चारमै पर्न संघर्षरत छ ।
आइतबारको फाइनलका लागि सिटीको टिममा केभिन डे ब्रुएना हुनेछैनन् । गत साता एफए कपको सेमिफाइनलमा पनि डे ब्रुएना अनुपस्थित थिए । ब्रुएनाको स्थान अर्का युवा मिडफिल्डर फिल फोडेनले लिन सम्भावना छ ।
टोटनहमका नयाँ प्रशिक्षक रायन मेसनले गत बुधबार विजयी सुरुवात गरे । जोसे मौउरिन्होको स्थानमा नियुक्त भएका मेसनले आफ्नो पहिलो खेलमा टोटनमलाई साउथह्याम्पटनविरुद्धको खेलमा जित दिलाए । सिटीविरुद्ध टोटनहमले आक्रमक खेल खेल्ने बताएका छन्, ग्यारेथ केनले । यद्यपि ह्यारी केनबिनाको टोटनहम अग्रपंक्ति कति बलियो रहन्छ, अनुमान गर्न सजिलो छैन ।
तत्कालका लागि मौउरिन्होलाई प्रतिस्थापन गरेका मेसन भर्खर २९ वर्षका भए । यसअघि लन्डन क्लबको युवा टिमको जिम्मेवारी सम्हालिरहेका मेसन प्रिमियर लिगकै इतिहासमा कान्छो प्रशिक्षक बनेका छन् । चोटका कारण सन् २०१७ मा सन्यास लिएका मेसनसँग प्रशिक्षणको लामो अनुभव छैन । तर उनीसँग टोटनहमलाई सन् २००८ यताकै पहिलो उपाधि जिताउने मौका छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया