फुटबलपछि क्रिकेटमा पनि उपाधिको खोजीमा नेपाल
काठमाडौँ : आफैँले आयोजना गरेको त्रिकोणात्मक टी-ट्वान्टी श्रृंखलाको फाइनलमा नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ । अहिलेसम्म अन्तराष्ट्रिय टी-ट्वान्टी प्रतियोगिता जित्न नसकेको नेपालका अगाडि त्यस्तो सफलता प्राप्त गर्ने अवसर छ । त्यो पनि घरेलु मैदानमा ।
तीन टिम सम्मिलित श्रृंखलाको फाइनलमा पुगेका नेपाल र नेदरल्यान्ड्सले लिग चरणमा क्रमशः तीन र दुई खेलमा जित हासिल गरे । तेस्रो टोली मलेसियाले भने एकै खेल पनि जितेन । लिग चरणमा नेपाल र नेदरल्यान्ड्स दुई खेलमा आमनेसामने भए । जसमध्ये पहिलो भेटमा नेपाल नौ विकेटले विजयी बन्यो भने दोस्रो खेल पाहुना टिमले तीन विकेटले जित्यो ।
गत जनवरीबाट प्रशिक्षक बनेका डेभ ह्वाटमोरको नेतृत्वमा नेपाली टिमले सन्तुलित खेल देखाइरहेको छ । विशेषगरी ब्याटिङमा नेपालले आफूलाई बलियो प्रमाणित गरेको छ । नेपालले नेदरल्यान्ड्सविरुद्धको पछिल्लो खेलमा २१७ रन बनायो । त्यस्तै, मलेसियासँगको दोस्रो खेलमा २०६ रन जोड्यो ।
यसपटक नेपाली ओपनरद्वयले बलियो खेल देखाएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी श्रृंखलाबाट नेपालको टी-ट्वान्टी टिममा डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेख सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा छन् । कुशलले चार खेलमा २०१ रन बनाएका छन् । उनी श्रृंखलामा सर्वाधिक रन बनाउने खेलाडी हुन् । कुशल र नेदरल्यान्ड्सका म्याक्स ओडोड पछि धेरै रन बनाउने ब्याट्सम्यान आशिफ शेख हुन् । उनले १३८ रन जोडेका छन् ।
बलिङ र फिल्डिङमा भने नेपाल तुलनात्मक रुपमा केही कमजोर देखिएको छ । सर्वाधिक विकेट लिने बलरको सूचीमा नेपाली खेलाडी अग्रस्थानमा रहे पनि उनीहरू खर्चिलो देखिएका छन् । सन्दिप लामिछानेले चार खेलमा ११ विकेट लिँदा १३७ रन खर्चेका छन् भने सामेपाल कामीले ६९ रनको क्षतिमा पाँच विकेट लिएका छन् ।
पहिलो पटक अन्तराष्ट्रिय टी-ट्वान्टी खेलिरहेका कमल सिंह ऐरी भने एकै खेलमा तीन विकेट लिएर आफूलाई उपयोगी बलरका रुपमा प्रमाणित गर्ने लक्ष्यमा छन् ।
करिब डेढ वर्षपछि अन्तराष्ट्रिय क्रिकेटमा फर्किएको डच टिम केही मुख्य खेलाडीहरू बिना नै काठमाडौँ उत्रिएको हो । अन्तराष्ट्रिय टी-ट्वान्टी वरियतामा आफू भन्दा तल रहेको नेदरल्यान्ड्सविरुद्ध नेपाल बलियो सावित बन्न चाहन्छ । घरेलु मैदानमा, त्यो पनि महामारीबीच, आयोजना गरिएको श्रृंखला जित्दै नेपाल नयाँ प्रशिक्षकको नेतृत्वमा फरक ढङ्गले अघि बढेको सन्देश दिने धेयमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया