खेलकुद

एनएसएलः उद्घाटन खेलमा काठमाडौँ उपत्यकाका दुई टिम भिड्दै

इकागज |
बैशाख ११, २०७८ शनिबार १३:४८ बजे

काठमाडौँ: सात टिम सम्मिलत नेपाल सुपर लिग (एनएसएल) शनिबारबाट काठमाडौँमा सुरु हुँदैछ । नेपालकै पहिलो फ्रेन्चाइज फुटबल लिग एनएसएलको उद्घाटन खेलमा काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् ।

उपत्यकाका दुई टिम आमनेसामने हुँदा राष्ट्रिय टोलीका अनुभवी खेलाडीहररू मैदानमा देखिनेछन् । काठमाडौँको कप्तानी विकेश कुथुले गर्दा ललितपुरको नेतृत्व अन्जन विष्टले गर्नेछन् । काठमाडौँको मुख्य प्रशिक्षक बालगोपाल महर्जन छन् । काठमाडौँमै सम्पन्न थ्री–नेसन्स कपको उपाधि नेपाललाई जिताएका बालगोपाल करिब एक दशक पछि नेपाली क्लबको जिम्मेवारीमा फर्किएका हुन् । 


उता ललितपुरको मुख्य प्रशिक्षक भने प्रदिप हुमागाई रहेका छन् । थ्रीस्टारले पछिल्लो पटक शहिद स्मारक ए डिभिजन लिग जित्दा प्रशिक्षक रहेका प्रदिपसँग अमेरिकामा विभिन्न टिमहरुलाई प्रशिक्षण गराएको पनि अनुभव छ ।  

काठमाडौँमा अनुभवी विकेश बाहेक राष्ट्रिय टिममा मौका पाइरहेका तेज तामाङ, त्रिदेब गुरुङ, सन्जोग राई लगायतका युवा खेलाडीहरू पनि छन् । त्यसैगरी ललितपुरका मुख्य फरवार्ड अन्जनलाई दुई विदेशी खेलाडी भिलिम पोसिनकोभिच र नुरलान नोभरुजोभले साथ दिनेछन् । 

नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल लिग आयोजना हुँदै गर्दा दर्शक प्रत्यक्षरुपमा त्यसको साँक्षी रहनेछैनन् । पछिल्लो समय कोभिड–१९ संक्रमणमा पर्नेको संख्या बढिरहेको परिपेक्ष्यमा दशरथ रंगशालामा दर्शकलाई प्रवेश दिइनेछैन । 

जेठ १ सम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौँ र ललितपुर बाहेक विराटनगर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी पनि सहभागी छन् । नेपाल स्पोटर्स म्यानेजमेन्टको आयोजनामा हुने लिग विजेताले ३५ लाख प्राप्त गर्नेछ भने उप–विजेताले १५ लाख पाउनेछ । ब्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीले भने जनही एक लाख पाउनेछन् । 
 
 


Author

थप समाचार
x