खेलको खुसी
नेपालले जित्यो पहिलो अन्तर्राष्ट्रिय टी-ट्वान्टी उपाधि
फाइनलमा कीर्तिमानको वर्षा
काठमाडौँ: नेपालले पहिलो पटक अन्तराष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता जितेको छ । आफैँले आयोजना गरेको त्रिकोणात्मक टी-ट्वान्टी श्रृंखलाको फाइनलमा पाहुना टोली नेदरल्यान्ड्सलाई १४२ रनले हराएपछि यस्तो सफलता प्राप्त गरेको हो ।
घरेलु मैदानमा ११ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता जित्दा नेपालले टी-ट्वान्टीमा कीर्तिमानी अन्तरको जित दर्ता गर्यो । यसअघि नेपालले सागमा भुटानलाई १४१ रनले हराएको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न फाइनलमा नेपालले कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई २३९ रनको लक्ष्य दियो । अन्तराष्ट्रिय टी-ट्वान्टीमा नेपालले विपक्षी टिमका सामु प्रस्तुत गरेको यो नै सबैभन्दा ठूलो लक्ष्य थियो । यसअघि नेपालले भुटानलाई गत वर्ष भएको सागमा २३६ को लक्ष्य दिएको थियो ।
नेपाललाई जिताउन कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । घरेलु मैदानमा भएको श्रृंखलाबाट अन्तराष्ट्रिय टी-ट्वान्टीमा डेब्यु गरेका कुशलले ५३ बलमा ७७ रन जोडे । जुन यस श्रृंखलामा कुशलले बनाएको चौँथो अर्धशतक थियो ।
निर्धारित २० ओभरमा तीन विकेटको क्षतीमा २३८ रनको योगफल तयार पारेको नेपालका लागि कुशल मल्लले अविजित ५० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन जोडे । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ४८ रन बनाए । डच टिमका लागि फिलिप्पे बोइसेभानले दुई विकेट लिए भने सेबेस्टियन ब्राटले एक विकेट हात पारे ।
विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७.२ ओभरमा ९६ रन बनायो । नेदरल्यान्ड्सका लागि ब्राटले सर्वाधिक २६ रन बनाए । उनी अविजित रहे । ओपनर म्याक्स ओडोडले २० रनको योगदान गरे भने कप्तान पिटर शिलारले १३ रन जोडे । बाँकी कुनै पनि ब्याट्सम्यानले पाहुना टिमका लागि दोहोरो रन बनाउन सकेनन् ।
डच टिमलाई सस्तैमा समेट्न करण केसीले किफायती बलिङ गरे । उनले ११ रन खर्चेर तीन विकेट लिए । त्यसैगरी, सन्दिप लामिछाने र कमल ऐरीले दुई-दुई विकेट लिए । र, अविनाश बोहोराको नाममा खेलको अन्तिम विकेट रह्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया