एनएसएलः
दर्शकबिनाको रंगशालामा काठमाडौँको जित, निर्णायक विदेशी खेलाडी नै
काठमाडौँ: नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा शनिबार काठमाडौँ रेजर्स विजयी भएको छ । दशरथ रंगशालामा भएकाे खेलमा मेसौके ओलौमौले गाेल गरेपछि काठमाडौँले ललितपुर सिटी एफसीमाथि १-० को जित दर्ता गर्यो ।
जितबाट लिगको सुरुवात गरेको काठमाडौँका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ललितपुरविरुको खेल सजिलो नभएको प्रतिक्रिया दिए । ‘विपक्षी बलियो थियो । ललितपुरसँग राम्रा खेलाडीहरु छन् । लिगको पहिलो खल भएकाले पनि हामीलाई सहज थिएन । तर अग्रपंक्ति सम्हालेका खेलाडीहरुले प्रभावकारी खेल देखाउँदा हाम्रो जित भयो’, बालगोपालले भने ।
बालगोपालले भनेझै काठमाडौँका फरवार्डहरुले बलियो खेल देखाए । विशेषगरी विदेशी खेलाडीहरु ओलौमौ र स्टेफन विनोङको प्रदर्शन तारिफयोग्य थियो । गोल हुनुमा पनि ती दुईको साझेदारी महत्वपूर्ण रह्यो । दोस्रो हाफको ६६ औँ मिनेटमा विनोङले गरेको प्रहार ललितपुरका गोलरक्षक अर्पण कार्कीले पन्च गरे । रिवाउन्डमा आएको बललाई ओलौमौले प्रहार गर्दा अपर्णले बचाउन सकेनन् ।
उता ललितपुरले खेलमा केही मौका गुमायो । विशेषगरी पहिलो हाफमा । खेलमा सन्तोषजनक सुरुवात गरेको ललितपुरले १३ औँ मिनेटमा फ्रि–किक पायो । तर कमल श्रेष्ठको प्रहार कमजोर रह्यो । पहिलो हाफमो उर्ताद्दमा ललितपुरले अर्को मौका गुमायो ।
क्रोएसियन फरर्वाड भिलिम पोसिनकोभिचले १८ यार्ड भित्रबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । दोस्रो हाफमा पनि ललितपुरले आक्रमण नबुनेको होइन । तर उसका आक्रमणहरु विकेश कुथु नेतृत्वको काठमाडौँ रक्षापंक्तिले विफल तुल्याइरह्यो ।
खेलपछि आयोजित पत्रकार सम्मलेनमा बोल्दै ललितपुरका मुख्य प्रशिक्षक प्रदिप हुमागाईले आफ्नो टिमले सुन्दर खेलेको तर नतिजा काठमाडौँको पोल्टामा परेको बताए । ‘हाम्रो खेल राम्रो थियो । बल पोसेसन राख्न देखि आक्रमण बुन्नेसम्ममा हामी अगाडि रह्याैँ । तर पाएको एउटा मौकामा गोल गर्दा काठमाडौँले खेल जित्यो,’ प्रदिपको भनाई थियो ।
एनएसएलमा आइतबार दुई खेल हुनेछन् । दिनको पहिलो खेलमा विराटनगर सिटी एएफसी र धनगढी एएफसी आमनेसमाने हुनेछन् । त्यस्तै दोस्रो खेलमा भने पोखरा थन्डर्सले बुटवल लुम्बिनी एएफसीको सामना गर्नेछ ।
दर्शकबिनाको खेलमा पनि समर्थकको उपस्थिती
कोभिड–१९ को संक्रमणमा पर्नेको संख्या बढ्दै गएका कारण एनएसएल भइरहेको दशरथ रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ । तर लिगको पहिलो दिन दुबै टिमका समर्थक भने देखिए । भीआइपी प्याराफिटमा बसी आ–आफ्ना टिमको पक्षमा हुटिङ गरिरहेका समर्थक करिब एक सयको हाराहारीमा थिए ।
दर्शकलाई नै रंगशालामा प्रवेश निषेध गरिएको खेलमा आफू नजिकका समर्थकलाई के आधारमा प्रवेश गर्न दिइयो, प्रष्ट छैन । महामारीबीच भइरहेको लिगलाई दर्शकबिना सञ्चालन गर्ने भनिए रंगशालाको भीआइपी प्याराफिटले न्यास्रो मान्ने अवस्था आएन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया