सहारा क्लब र हिमश्री फुड्सबीच थपियो १० वर्षसम्म मुख्य प्रायोजन सम्झौता

पोखरा। २२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता तयारीको संघारमा मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले थप १० वर्षको सम्झौता गरेको छ । मंगलबार आयोजित समारोहमा हिमश्री फुड्स प्रालितर्फबाट कार्यकारिणी अध्यक्ष प्रेमकुमारी केसी र आयोजक सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
२०८८ सम्म भएको सम्झौता बमोजिम हिमश्रीले कुल २ करोड ७१ लाख क्लबलाई प्रदान गर्नेछ । मुख्य प्रायोजनबापत पहिलो ३ वर्षमा वार्षिक १८ लाख, दोस्रो ३ वर्ष वार्षिक २१ लाख, तेस्रो ३ वर्ष वार्षिक २४ लाख र २०८८ सालमा २७ लाख रुपैयाँ चरणबद्ध रुपमा बुझाउने सहमति भएको छ । यस्तै, प्रतियोगिताको व्यवस्थापकीय पक्षको लागि पहिलाे ३ वर्ष ४ लाख ५० हजार, दोस्रो ३ वर्ष ५ लाख २५ हजार, तेस्रो ३ वर्ष ६ लाख २५ हजार र २०८८ मा ७ लाख रुपैयाँ बुझाउने छ ।
२०५९ सालमा आहा गोल्डकपको नामबाट १० वर्षको सम्झौता गरेको हिमश्रीले लगातार सम्झौता गर्दै आएको छ । पछिल्लोसहित ३० वर्षसम्मको दीर्घकालीन सम्झौता नेपाली खेल क्षेत्रमा मुख्य प्रायोजनबापत सबैभन्दा लामो समयसम्मको पहिलो सम्झौता हो । यसबाहेक हिमश्रीले स्व. सूर्यबहादुर केसी सहारा फुटबल एकेडेमीलाई गएको २ वर्षदेखि वार्षिक १५ लाख रुपैयाँ प्रदान गर्दै आएको छ । १० वर्षसम्मको सो सम्झौताबमोजिम ३० लाख रुपैयाँ प्राप्त भइसकेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया