खेलकुद

एनएसएलमा धनगढीको खराब हार

इकागज |
बैशाख १२, २०७८ आइतबार १७:४१ बजे

काठमाडौँ: नेपाल सुपर लिग (एनएसएल) को आफ्नो पहिलो खेलमा आइतबार विराटनगर सिटी एफसीले धनगढी एफसीलाई ३-० ले पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा विराटनगरका लागि विक्रम धिमाल, एडेलेजा ओलुवावुन्मी र सन्तोष तामाङले एक-एक गोल गरे ।    

भारतीय प्रशिक्षक यान लको प्रशिक्षणमा खेलिरहेको विराटनगरले खेलको १५ औँ मिनेटमा अग्रता लियो । रक्षक विक्रमले बक्सबाट ‘क्लोज रेन्ज’ गोल गरे । दोस्रो हाफमा विराटनगरले दुई गोल थप्यो । ओलुवावुन्मीले धनगढीका गोलरक्षक किरण कुमार लिम्बुलाई बिट गर्दै विराटनगरको दोस्रो गोल गरे । ६९ औँ मिनेटमा सन्तोषले विराटनगरलाई ३-० को स्थितीमा पुर्‍याए । 


खेलपछि धनगढीका मुख्य प्रशिक्षक युगल किशोर राईले आफ्नो टिमले खराब हार ब्यहोरेका प्रतिक्रिया दिए । ‘खेल जित्न गोल गर्ने र गोल रोक्ने हो । तर दुबैमा हामी चुक्यौँ । पाएको मौका सदुपयोग गर्न सकिएन,’ युगलको भनाई थियो । 

पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका युगलले कुनै खेलाडीको गल्तीले नभई टिमको समग्र प्रदर्शन फितलो भएकाले पराजित भएको पनि बताए । ‘स्कोरिङ भएन । रक्षापंक्तिमा पनि गल्ती भए । तर म कुनै एक खेलाडीलाई दोष दिन चाहन्न । अब आउँदा खेलहरुमा सुधार गर्नु बाहेक हामीसँग अर्को विकल्प छैन,’ युगलले थपे । 

उता विजयी टिमक मुख्य प्रशिक्षक लले टिमको प्रदर्शनबाट आफू पूर्णरुपमा सन्तुष्ट नभएको बताए । ‘समयमै गोल भयो । राम्रो गोल अन्तरले खेल जितियो । खेलाडीहरुले आफ्नो तर्फबाट सकदो प्रयास गरे । तर हामीले अझैँ धेरै मेहेनत गर्न बाँकी छ,’ भारतबाट आएका लको भनाइ थियो ।   
 


Author

थप समाचार
x