खेलकुद

नेपालगन्ज म्याराथनको उपाधि आर्मीका खडकबहादुरलाई

इकागज |
मंसिर २४, २०७९ शनिबार १५:४५ बजे

काठमाडौँ- ८ औं नेपालगन्ज म्याराथनको उपाधि आर्मीका खडकबहादुर खड्काले जितेका छन् ।

शनिबार सम्पन्न म्याराथनमा खड्काले २ घन्टा २० मिनेट २८ सेकेन्डमा ४२ किलोमिटरको दूरी पार गर्दै उपाधि जितेका हुन् । यस्तै आर्मीकै नरेन्द्रसिंह रावत २ घन्टा २२ मिनेट २९ सेकेन्डमा उक्त दूरी पार गर्दै दोस्रो भएका छन् ।


तेस्रो हुनेमा आर्मीकै मोहनदेव जोशी रहेका छन् । उनले २ घन्टा २४ मिनेट ३६ सेकेन्डमा उक्त दूरी पार गरेका हुन् । ४२.१९५ किमी विजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । त्यस्तै म्याराथनतर्फ दोस्रोले ६० हजार, तेस्रोले ३० हजार, चौथोले १५ हजार, पाँचौंले १० हजार, छैटौंले ८ हजार, सातौंले ७ हजार र आठौं स्थानमा आउनेले ६ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

यस्तै महिलातर्फ भएको हाफ म्याराथनमा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले लगातार दोस्रोपटक उपाधि हात पारेकी छन् । उनले १ घन्टा १६ मिनेट २६ सेकेन्डमा २१ किलोमिटर दौडिएर दोस्रोपटक उपाधि जित्ज सफल भएकी हुन् । भारत देहरादूनकी अञ्जली चौहान १ घन्टा २५ मिनेट १५ सेकेन्डमा उक्त दूरी पार गर्दै दोस्रो भइन् । वाग्मती प्रदेशकै अन्जु खड्का १ घन्टा ३६ मिनेट ४५ सेकेन्डमा उक्त दूरी पार गर्दै तेस्रो भइन् । महिला हाफ म्याराथन विजेताले ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार, सातौंले ६ हजार र आठौंले ५ हजार रुपैयाँ पाएका छन्  ।

त्यसैगरी पुरुष १० किमी खुलातर्फ विजेताले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुला विजेताले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार प्राप्त गरेका छन्। ५ किमी छात्र दौडमा विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार तथा ३ किमी छात्रा विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पुरस्कार पाएका छन्। ह्विलचेयरतर्फ शीर्ष तीन विजेताले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार पाएका छन् ।


Author

थप समाचार
x