जिल्लामा छैन व्यवस्थित खेल मैदान
नवलपुर- विभिन्न खेलकुदमा राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा व्यवस्थित खेल मैदान बन्न सकेको छैन । सामान्य खेल मैदानमा प्रशिक्षण लिएकै भरमा भलिबल तथा फुटबलजस्ता खेलमा जिल्लाले राष्ट्रिय खेलाडी उत्पादन गरेको छ ।
नवलपुरका तेक्वान्दो खेलाडी गोपाल परियारले खेल मैदान र खेल्नका लागि आवश्यक सामग्रीको अभाव हुने गरेको बताए । 'हामी दिनरात मेहनत गरेर खेल खेल्छौँ,' परियारले भने, 'जिल्लामा न व्यवस्थित खेल मैदान छ । न त, हामीलाई खेल्नका लागि आवश्यक पर्ने म्याट, ग्लोब्स, चेस्ट गार्ड, हेडगार्डजस्ता सामग्री नै छन् ।' खेल मैदान र खेलकुदका आवश्यक पर्ने पूर्वाधार अभावमै खेलेर भए पनि राष्ट्रको नाम उच्च बनाउन खेलाडीले सक्दो प्रदर्शन गर्ने परियारले बताए ।
भलिबलका राष्ट्रिय खेलाडी किरण गुरौले पछिल्लो समय खेल क्षेत्रमा केही सुधार भएको भन्दै खेलेरै जीवन धान्न सक्ने अवस्था नआएको गुनासो गरे । 'खेलाडीहरूले सबै कुरा बिर्सिएर राष्ट्रका लागि पदक ल्याउने गरी खेल्छन्,' गुरौले भने, 'खेलाडीका पनि घर परिवार हुन्छन् । जिम्मेवारी हुन्छ । खेलेकै भरमा परिवार पाल्नुपर्छ । अहिलेको अवस्थामा यो सम्भव भएको छैन ।' खेलेर जीवन धान्न नसक्ने अवस्था आएपछि कतिपय उत्कृष्ट खेलाडी विदेशिन बाध्य भएका गुरौले बताए ।
तङ हिल मोदो युनिफाइड मार्सल आर्ट नवलपुरका अध्यक्ष कुसुम सुवेदीले राष्ट्रका लागि खेल्ने खेलाडीलाई राज्यले हेर्नुपर्ने बताए । 'स्रोत, साधन र पूर्वाधार अभाव हुँदा पनि मार्सल आर्टमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्,' सुवेदीले भने, 'व्यवस्थित खेल मैदान निर्माणसँगै खेल्नका लागि आवश्यक सामग्री र खेलेरै जीवन निर्वाह गर्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो ।' मार्सल आर्टका खेलहरू इन्डोर (हलमा खेलिने खेल) खेल भएको भन्दै सुवेदीले जिल्लामा व्यवस्थित कभर्ड हल निर्माण हुनुपर्ने बताए ।
पछिल्लो समय स्थानीय सरकारले मार्सल आर्टका खेलको प्रवर्द्धनका लागि केही लगानी गर्न लागेको भए पनि त्यो पर्याप्त नभएको सुवेदीको भनाइ छ । 'खेलकुदका लागि नवलपुर उर्बर भूमि हो, यहाँ धेरै राष्ट्रिय खेलाडी पनि उत्पादन भएका छन्,' सुवेदीले भने, 'खेलेरै जीवन धान्न नसकेपछि खेलाडीले पेसामा विकल्प रोज्ने तथा विदेश जाने गरेका छन् ।' खेलाडी देशका गहना भएकाले उनीहरूको संरक्षण गर्नु राज्यको दायित्व भएको सुवेदीले बताए ।
खेलकुदको पूर्वाधार निर्माणमा सरकारको लगानी शून्य जस्तै भएको राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक टार्जन श्रेष्ठले बताए । 'खेलाडीले देशका लागि सबैभन्दा बढी पदक मार्सल आर्टमा ल्याउने गरेका छन्,' श्रेष्ठले भने, 'मार्सल आर्ट प्रशिक्षणका लागि आवश्यक पर्ने सामग्रीमा राज्यको लगानी नहुँदा प्रशिक्षक तथा खेलाडी आफैँले किन्नुपर्ने बाध्यता छ ।' मार्सल आर्टको करातेमा जनसङ्ख्याको अनुपात गर्दा विश्वकै सबैभन्दा बढी खेलाडी नेपालमा रहेको भन्दै श्रेष्ठले अहिलेसम्म सुरक्षा निकायमा मात्रै खेलाडीलाई व्यावसायिक रुपमा राख्ने गरिएको बताए ।
'राज्यका तीन सुरक्षा अङ्गमा मात्रै खेलाडीलाई लिने गरिएको छ,' श्रेष्ठले भने, 'निजी तथा अन्य संस्थामा खेलाडीलाई व्यावसायिक रुपमा राख्ने गरियो भने खेल क्षेत्रमा लाग्न थप प्रेरणा मिल्छ ।' मार्सल आर्टको कराते विधाको उद्गमस्थल नेपाल भए पनि यो खेलको व्यावसायिक प्रवद्र्धनका लागि राज्यले लगानी नगरेको उनको भनाइ छ । 'गौतम बुद्धको पालामा मङ्स (भिक्षु)हरूलाई आत्मरक्षाका लागि बुद्धले कराते सिकाउनुभएको थियो,' श्रेष्ठले भने, 'पछि यो खेलको जापानबाट आधुनिकीकरण हुँदै विश्वभर फैलिएको छ ।'
जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले जिल्लामा खेल मैदान भए पनि व्यवस्थित मैदानको अभाव रहेको बताए । 'स्थानीय तहका प्रत्येक वडामा खेल मैदान छन् । भएका खेल मैदान व्यवस्थित बनाउन सकिएको छैन,' पुनले भने, 'ती खेल मैदान खेल्न लायक र व्यवस्थित बनाउनका लागि राज्यको लगानी आवश्यक छ ।' जिल्लामा खेलकुद प्रतियोगिता सञ्चालनका लागि रङ्गशाला नभएको उल्लेख गर्दै उनले कोल्हुवा, चोरमारा, अरुणखोला र गैँडाकोटमा सामान्य खेल मैदान भएको बताए ।
'इन्डोर खेल गर्नका लागि हामीसँग समस्या छैन,' पुनले भने, 'हामीले सेपाकताक्रो र कुस्तीको राष्ट्रिय प्रतियोगिता कात्तिकको अन्तिम सातामात्रै सम्पन्न गरेका छौँ ।' राष्ट्रिय भलिबल टिममा नवलपुरका तीन जना खेलाडी रहेका उल्लेख गर्दै उनले फुटबल र महिला भलिबलमा पनि नवलपुरबाट राष्ट्रिय खेलाडी सहभागी भएका बताए । 'भलिबलको राष्ट्रिय टिममा हाम्रो जिल्लाबाट घनश्याम चौधरी, किरण गुरौ लगायतका खेलाडी छन् भने जिल्लाबाट राष्ट्रिय महिला फुटबल टिममा पाँच जना खेलाडी सहभागी छन्,' पुनले भने ।
जिल्लामा खेलकुदको राम्रो विकास भएको भए पनि आवश्यकताअनुसार प्रशिक्षकको व्यवस्था गर्न नसकिएको पुनले बताए । 'भलिबल, फुटबल तथा मार्सल आर्टका खेलमा जिल्लामा राम्रा खेलाडी छन्,' पुनले भने, 'नवलपुरमा स्तरीय खेल मैदान र प्रशिक्षकको अभाव हुँदा सोचेजस्तो राम्रो गर्न सकिएको छैन ।' नवलपुरबाट प्रतिनिधित्व गर्ने सङ्घीय जनप्रतिनिधिले गैँडाकोटमा व्यवस्थित रङ्गशाला निर्माण गर्छौँ भनेर प्रतिबद्धता जनाएको भए पनि त्यो भाषणमा मात्रै सीमित भएको पुनले बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया