खेलकुद

मेस्सी–रोनाल्डोको सदाबहार युग समाप्त

इकागज |
मंसिर २६, २०७९ सोमबार १३:५९ बजे

काठमाडौँ - ‘पोर्चुगलका लागि विश्वकप जित्ने मेरो जीवनको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना थियो । त्यसका लागि म लडेँ । उठे । धेरै मेहनत गरें । मैले गर्न सक्ने सबथोक गरेँ’ आधुनिक फूटबलका महान खेलाडी क्रिष्टियानो रोनाल्डोले कतार विश्वकपबाट बाहिरिएपछि आइतबार बेलुकी भने, ‘तर हिजोदेखि त्यो सपना समाप्त भएको छ ।’

कतार विश्वकपबाट बाहिरिएपछि रोनाल्डोले लेखेको यो भावुक सन्देशले विश्व फुटबलको भावनालाई गहिरोसँग तरंगित बनाएको छ । अनि विश्वभर रहेका उनका लाखौँ फुटबलप्रेमीको भावना समेटेको छ । 


एक महान खेलाडीले आफ्नो देशको लागि, टिमका लागि के गर्न सक्छ ? कतिसम्म लडाई लड्छ, त्यो रोनाल्डोको करियरले बताउँछ । 

विश्व फुटबलको अन्तर्राष्ट्रिय करियरमा रोनाल्डो सर्वाधिक गोलकर्ता हुन् । जसले १९६ खेलमा ११८ गोल गर्न सफल भए । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने खेलाडी पनि रोनाल्डो बनेका छन् । जसले कतार विश्वकप गरेर १९६ खेल खेले । 

एक खेलाडीका लागि यो भन्दा ठूलो उपलब्धि अरु के हुन सक्छ ? जसले आफ्नो देशलाई फुटबलमार्फत विश्वभर चिनाए । विश्वभरका धेरैभन्दा धेरै रेकर्ड तोड्दै आफ्नो नाममा लेखाए ।

यदि क्रिष्टियानो रोनाल्डो नहुन् त पोर्चगल सायदै विश्वभर करोडौँ फुटबलप्रेमीका लागि चिनिने देश हुन्थ्यो । हिजोसम्म रोनाल्डो खेल्थे, विश्वभर पोर्चुगलले पनि विश्वकप जित्न सक्ने सम्भावित बलियो देशको रुपमा चिनिन्थ्यो । किनकि पोर्चुगलले विश्वकप जितेको छैन ।

कतार विश्वकपमै रोनाल्डोले भनेका थिए, ‘पोर्चुगल कहिल्यै पनि विश्वकपको उपाधि दाबेदार थिएन । अहिले पनि छैन । हामी आश गर्न सक्छौँ । त्यसका लागि सबै प्रयास गर्छौ ।’

रोनाल्डोले भनेजस्तै पोर्चुगल एकपटक विश्वकपको सेमिफाइनल पुगेको छ । धेरैपटक समूह चरण र क्वाटर फाइनलबाटै बाहिरिएको छ । रोनाल्डो भएकै कारण पोर्चुगलले सन् २००६ यता लगातार विश्वकप खेलिरहेको छ ।

रोनाल्डो हुँदा पोर्चुगलले विश्वकप जित्ने आशा गरेको थियो । सन् २००६ यता लगातार पाँच वटा संस्करणका विश्वकपमा गोल गर्ने रेकर्डको नाममा रोनाल्डोले लेखाएका छन् ।

यो कीर्तिमान सायदै कसैले तोड्न सक्छ । किनकि विश्वकपका लागि छनौट हुनै धेरै कठिन पर्छ । छनौट भएपनि विश्वकपमा गोल गर्न सहज हुँदैन । जुन रोनाल्डोले आफ्नो करियरमा विश्वकपमा गोल गर्न पनि सहज बनाए । 

पोर्चुगलले धेरै फुटबल खेलाडी जन्माएको छ । तर रोनाल्डो मात्रै यस्ता खेलाडी हुन्, जसले फुटबलका नायक भनिने पेलेजस्तै गरी विश्व फुटबललाई रोमान्चित बनाए । आधुनिक पुस्तालाई फुटबलमा पागल बनाए ।

सायद त्यस्तो रोनाल्डो अब विश्वमा सायदै जन्मिनेछन् । सन् १९८५ मा पोर्चुगलको एक मध्यमवर्गीय परिवारमा जन्मेका रोनाल्डो विश्वभर सबैभन्दा धेरै रुचाइने, पछ्याइने र धनी फुटबलर हुन् । 

सफल फुटबलरका रुपमा चिनिएका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै ११८ गोल गरेका छन् । विश्वमा सबैभन्दा ठूलो क्लब उपाधि मानिने च्याम्पियन्स लिग रोनाल्डोले पाँच पटक जितेका छन् । विश्वका सबैभन्दा उत्कृष्ट फुटबलरलाई दिइने बालोन डिओर उपाधिमात्रै रोनाल्डोले पाँच पटक जितेका छन् । रोनाल्डोभन्दा धेरै मेस्सीले सात पटक जितेका छन् ।

रोनाल्डो स्पेनको लालिगा, इंग्ल्याण्डको प्रिमियर लिग र इटालीको सिरी ए मा गरेर तीन वटा फरक फरक लिगमा १०० गोल गर्ने पहिलो खेलाडी हुन् ।

उनले तीन वटै देशमा आफ्नो क्लबबाट लिग उपाधि जितेका छन् । रोनाल्डोका यस्ता सयौँ तथ्य छन् । गोल–मेशिनका रुपमा चिनिने रोनाल्डोले राखेका यस्ता सयौँ तथ्य पनि अब केवल इतिहासमा सीमित रहनेछन् । किनकि कतार विश्वकपकै दौरानमा म्यान्चेष्टर युनाइटेडले उनलाई कारबाही गर्दै क्लबबाट निकालिदिएको छ । एउटा विवादास्पद अन्तर्वार्तामा क्लब र प्रशिक्षकको आलोचना गरेको भन्दै म्यान्युले रोनाल्डोलाई निकालेको थियो । 

विश्वकपकै पछिल्ला खेलहरुमा रोनाल्डोले पोर्चुगलबाट सुरुवाती टिममा परेर खेल्न सकेनन् । क्वाटर फाइनलमा पनि उनी दोस्रो हाफमा मात्रै मैदान छिरेका थिए । ३७ वर्षीय रोनाल्डो अब फुटबल करियरको उत्तराद्र्धमा छन् ।

सायदै उनले अब युरोपका ठूला लिगहरु खेल्नेछन् । किनकि उनलाई कुनै पनि ठूलो क्लबबाट आफ्नो टिममा राख्ने प्रस्ताव सजिलै आएको छैन । विश्वकपकै बेला कतारी क्लबबाट महँगो मूल्यको अफर आएको थियो । त्यो रोनाल्डोले स्वीकार गरेका छैनन् ।

सबैभन्दा ठूलो कुरा अब रोनाल्डोले विश्वकप खेल्ने छैनन् । त्यो उनी आफैँले घोषणा गरेका छन् । अब आफू केवल सल्लाहकारको भूमिकामा रहन सक्ने भन्दै रोनाल्डोले विश्वकप जित्ने सपनाको अन्त्य भएको स्पष्ट पारेका छन् ।

अब रोनाल्डो–मेस्सीको सदाबहार लडाई पनि समाप्त भएको देखिन्छ । किनकि रोनाल्डोले विश्वकप खेल्ने मात्रै होइन, युरोपका ठूला लिग खेल्ने सम्भावना छैन ।
रोनाल्डोले लालिगा छाडेर रियल मड्रिडबाट युभेन्ट्स पुग्दा मेस्सी पनि बार्सिलोनामा टिक्न सकेनन् । रोनाल्डो र मेस्सीका लागि सबैभन्दा सफल क्लब रियल र बार्सिलोना हुन् । यी दुई क्लबबीचको प्रतिष्पर्धा अर्थात् एलक्लासिको विश्वभर प्रख्यात छ ।

रोनाल्डो र मेस्सीका कारण एलक्लासिको झन् उचाईमा पुगेको थियो । तर रोनाल्डोले लालिगा छाडेपछि मेस्सीले पनि बार्सिलोना छाड्नुपर्यो । मेस्सी अहिले फ्रान्सको पीएसजी क्लबमा छन् । नेयमार र एमबाप्पे भएका कारण मेस्सीले अझै केही वर्ष खेल्न सक्लान् ।

तर अब धेरै वर्ष खेल्ने मेस्सीको सम्भावना पनि छैन । कतार विश्वकपको सेमिफाइनल पुगेका मेस्सीको पनि यो अन्तिम विश्वकप हो । कतार विश्वकप जित्ने उनको सपना र धेरैको अनुमान छ । यदि त्यो सपना पूरा भएन भने रोनाल्डोको जस्तै आँशु मेस्सीको आँखामा पनि हुनेछ ।

विश्व फुटबललाई निकै रोमाञ्चित बनाएका र झण्डै दुई दशक राज गरेका महान फूटबल मेस्सी–रोनाल्डोको अन्तिम विश्वकप कतार बन्नु पनि आफैँमा ठूलो रोचकता हो । जसले पहिलोपटक विश्वकप आयोजना गरेर देखायो । सुरुवातमै मेस्सी र रोनाल्डोको चेस खेल्दै गरेको फोटो सेसन गराएर कतार विश्वकपले नयाँ चर्चा र सफलता पाएको थियो ।

अब कम्तीमा मेस्सी र रोनाल्डोको सफलता केवल इतिहासमा हुनेछ । फुटबल रंगशालामा उनीहरु अब आइडलका रुपमा रहनेछन् । मेस्सीले अझै केही वर्ष गोल गर्नेछन् । तर रोनाल्डो अब सायदै मैदानमा देखिनेछन् । देखिए पनि उनी पूरा समय खेल्न पाउने छैनन् । जुन कतार विश्वकपले देखाइसकेको छ ।
किनकि आफूलाई प्रमाणित गर्ने, अब्बल देखाउने रोनाल्डो अब कहिल्यै विश्वकप खेल्ने छैनन् ।
 


Author

थप समाचार
x