खेलकुद

आठाैं हेटौंडा भेट्रान्स फुटबल प्रतियोगिता पुसमा हुने

इकागज |
मंसिर २६, २०७९ सोमबार २०:२१ बजे

मकवानपुर- मकवानपुरकाे हेटौंडामा राष्ट्रिय भेट्रान्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएकाे छ । आठौं हेटौंडा राष्ट्रिय भेट्रान्स कप ८ ए साईड फुटबल प्रतियोगिता आगामी पुस १९ बाट हुने भएको हाे ।

आयोजक हेटौंडा भेट्रान्स क्लबले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी गराएकाे छ । प्रतियोगिता आगामी पुस १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष रमेशकुमार उप्रेतीले बताए । हेटौंडा–५, पिप्लेस्थित क्याम्पाचौरमा हुने प्रतियोगितामा देशभरका २० वटा भेट्रान्स टिम सहभागी रहने अध्यक्ष उप्रेती जानकारी दिए ।


प्रतियाेगितामा मकवानपुरसहित चितवन, वीरगञ्ज, बारा, नवलपरासी, पोखरा, काठमाडौं र विराटनगरका २० टाेली सहभागी हुने क्लब सचिव कविन सांगामीले बताए । उनका भने, ‘प्रतियाेगितामा सहभागिताका लागि सम्भव भएसम्म भारत र बंगलादेशबाट पनि टिम ल्याउने तयारी गरिरहेका छौं ।’ प्रतियाेगितामा पूर्वराष्ट्रिय खेलाडीहरू समेत सहभागी हुने अपेक्षा आयाेजकले गरेकाे छ ।

४० वर्ष माथिका खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, रोटरी क्लब, जेसीज, लायन्स क्लब तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त हुने बताइएकाे छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, दोस्रो हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । खेलमा म्यान अफ दी सिरिजलाई १५ हजार, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने खेल संयाेजक राजकुमार श्रेष्ठले बताए ।


Author

थप समाचार
x