खेलकुद

पोखरामा ‘टुर दी पोखरा’

इकागज |
पुस ४, २०७९ सोमबार १८:३९ बजे

पोखरा- साइकल सिटी पोखराको आयोजनामा ‘टुर दी पोखरा’ हुने भएको छ । बढ्दो प्रदूषण, सवारी चाप कम गर्ने उद्देश्यले पोखरामा पुस ६ देखि ९ गतेसम्म उक्त कार्यक्रम हुन लागेको हो । 

छैटौं संस्करणको टुर दी पोखरा कार्यक्रम अन्तर्गत साइकल र्‍याली र साइकल दौड प्रतियोगिता हुने कार्यक्रम संयोजक राजन गोंगजुले जानकारी दिए । स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।


‘थोपा थोपा इन्धन बचाऔं’ भन्ने मुल नाराका साथ हुने कार्यक्रम अन्तर्गत पुस ६ गते दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता २०७९ हुँदैछ । जसको आयोजना पोखरा महानगर र पोखरा महानगरपालिका खेलकुद विकास समितिले गर्ने संयोजन गोंगजुले बताए ।

सो प्रतियोगितामा प्राविधिक सहयोग साइकल सिटी पोखराले गर्नेछ । 

प्रतियोगितामा ८० जना साइकल यात्रीहरूले भाग लिने साइकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्राचार्यले जानकारी दिए । महिला, पुरुष र ४० वर्ष माथिको ३ विधामा प्रतियाेगिता हुनेछ । पुरुष र महिलातर्फ प्रथम, द्वितीय, तृतीय सान्त्वना हुनेले समान स्वरूप क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्ने पूर्वअध्यक्ष बज्राचार्यले बताए ।

यस्तै ४० वर्षभन्दा माथिको प्रतियोगीहरूमा प्रथम, द्वितीय र तृतीयले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत पुस ८ गते बाग्लुङ कालिकादेखि विन्ध्यवासिनीसम्म साइकल यात्रा गरिने साइकल सिटी पोखराका अध्यक्ष अभिषेश कोइरालाले जानकारी दिए ।

अन्तिम दिन पुस ९ गते पोखरा उपत्यका भित्र नै साइकल र्‍याली आयोजना हुने आयोजकले जानकारी दिएको छ ।


Author

थप समाचार
x