खेलकुद

'स्कुल टु ओलम्पिक' सुदूरपश्चिमबाट सुरु

इकागज |
पुस ११, २०७९ सोमबार २१:० बजे

काठमाडौँ- विद्यार्थीहरूलाई खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देश्यका साथ स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको छ ।

सात वटै प्रदेशमा आयोजना गर्ने लक्ष्य रहेको कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको बताइएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल ओलम्पियन्स संघको संयोजनमा सोमबार धनगढीमा भएको कार्यक्रममा धनगढीका सामुदायिक र निजी विधालयका विधार्थीहरूसँग ओलम्पियनहरूको अन्तरक्रिया भएको थियो ।


कार्यक्रमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्दराज बोहोराले खेलकुद क्षेत्रको विकास गर्नका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । उनले स्कुल टु ओलम्पिक कार्यक्रमले खेलाडी उत्पादनमा टेवा पुग्ने बताए ।

स्कुल टु ओलम्पिक कार्यक्रममा ओलम्पियनहरू बैकुण्ठ मानन्धर, दिपक विष्ट, डम्मर दत्त भट्ट, विष्णुवहादुर सिंह, देवु थापा, प्रमिला रिजालका साथै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले विभिन्न विद्यालयका विद्यार्थी र खेलाडीहरूसँग एकै मञ्चमा बसेर आफ्ना अनुभवहरू साटेका थिए । उनीहरूले आफ्नो खेलकुदको सुरुवातदेखि सफलतासम्मका संघर्ष, खेलकुद क्षेत्रले आफ्नो जीवनमा परेको प्रभावका बारेमा चर्चा गरेका थिए ।

अधिकांशले सफलताका लागि इच्छा शक्ति, लगनशीलता र इमान्दारिता आवश्यक रहेको औँल्याए । उनीहरूले जुनसुकै क्षेत्रमा प्रवेश गर्नका लागि पनि तीन चिज आवश्यक रहने उल्लेख गर्दै शिक्षा भने अनिवार्य रहेको सुनाए ।

खेलकुद क्षेत्रमा लाग्नका लागि नाम सुनेका र उनीहरूको बारेमा जानेका विद्यार्थीहरूले उनीहरूसँग कुराकानी गर्दै प्रश्नोत्तर समेत गरेका छन् । विद्यार्थीहरूले खेल क्षेत्रको अवस्था, विगत वर्तमान र भविष्यका साथै पारिवारिक वातावरण, आर्थिक पाटो लगायत विभिन्न विषयमा प्रश्नहरू सोधेका थिए । उनीहरूका प्रश्नलाई ओलम्पियनहरूले क्रमशः जवाफ फर्काउने क्रममा खेलकुदमा आर्थिक दृष्टिकोणले विगतमा भन्दा सहज भएको बताए ।

कार्यक्रमको सहजीकरण हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमिल्सेनाले गरेका थिए ।

कीर्तिमानी खेलाडीहरूसँग साक्षात्कार र भलाकुसारी गर्न पाउँदा विद्यार्थीहरू हर्षितसाथै उत्साहित देखिन्थे । कार्यक्रम प्रभावकारी भएको र आगामी दिनमा यसले नतिजा ल्याउने प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहले बताए ।

धनगढीका विद्यार्थीहरूमाँझ गरिएको कार्यक्रमलाई प्रदेशका अन्य जिल्लाहरूमा पनि पुर्‍याइने लक्ष्य राखिएको छ । यसपालि कैलालीका विद्यार्थीहरूसँग ओलम्पियनको छलफल गराउँदा यसले खेलकुद क्षेत्रको अवस्था बारेमा अवगत गराउन मद्दत मिलेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपकबहादुर सिंहले बताए । उनले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी दिए ।

सुदूरपश्चिमबाट सुरुवात भएको कार्यक्रम सात वटै प्रदेशहरूमा खेलकुद परिषद्सँग समन्वय गरेर आयोजना गरिने नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले जानकारी दिए । धनगढीमा भएको कार्यक्रममा विभिन्न विद्यालयका झण्डै चार सय बढी विद्यार्थीको सहभागिता रहेकाे थियो ।


Author

थप समाचार
x