सूर्य नेपाल इस्टर्न ओपनमा स्थानीय गल्फर निरजलाई अग्रता
काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत इस्टर्न ओपनको पहिलो दिन घरेलु गल्फर निरज तामाङले एक स्ट्रोकको अग्रता बनाएका छन् । पार-७० को धरान गल्फ क्लबको कोर्समा उनले ५-अन्डर ६५ को कार्ड तयार पारे ।
नेपाल नम्बर एक शुक्र बहादुर राई र सञ्जय लामा ४-अन्डर ६६ को स्कोरकासाथ संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन् । ३-अन्डर ६७ मा पहिलो १८ होलको खेल सकाएका भुवन नगरकोटी चौथो स्थानमा रहँदा इभन-पार ७० सहित जयराम श्रेष्ठ पाँचौ स्थानमा छन् ।
एमेच्योर गल्फर राजकुमार राई १-ओभर ७१ सहित छैटौ स्थानमा छन् । यसैगरी २-ओभर ७२ को स्कोरमा सात व्यवसायी खेलाडीहरू रबि खड्का, रमेश अधिकारी, रामे मगर, टंकबहादुर कार्की, सुर्यप्रसाद शर्मा, दिनेश प्रजापति र बलभद्र राईले सातौं स्थान बाँडेका छन्।
लिडर निरजले सानदार सुरुवात गर्दै फ्रन्ट नाइन ६-अन्डर ३० मा सकाउने क्रममा दोस्रो, तेस्रो, पाँचौ, छैटौँ र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे । यसपछि आठौं होलमा बोगि खेपेका उनले चार पारको नवौ होलमा इगल प्रहार गरे । ब्याक नाइनको सुरूवाती तीन होलमा बर्डी प्रहार गर्दै उत्कृष्ट स्कोरतर्फ अग्रसर भएपनि १३औं, १४औं, १७औं र १८औं होलमा बोगीको सामना गरे । ब्याक नाइन उनले १-ओभर ३५ मा पूरा गरे।
नेपाल नम्बर एक शुक्रले १-अन्डर ३५ मा फ्रन्ट नाइनको खेल सकाउँदा ब्याक नाइनमा ३-अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे। सुरूवाती दुई होलमा बोगी खेपेका उनले पाँचौ, छैटौ र नवौ होलमा बर्डी प्रहार गरे। यसपछि १०औं, १३औं,१५औं र १८औं होलमा एक-एक सट बचाए भने १४ औं होलमा बोगी खेपे ।
यसैगरी सञ्जय लामाले फ्रन्ट नाइट ३-अन्डर ३३ मा पूरा गर्ने क्रममा दोस्रो, पाँचौ र छैटौ होलमा बर्डी प्रहार गरे। यसपछि १०औं,१६औं र १८औं होलमा एक-एक सट बचाए। तर १३औं र १४औं होलमा लगातार दुई बोगी प्रहार गर्दै ब्याक नाइन १-अन्डर ३३ मा सकाए।
प्रतियोगिताको एमेच्योरतर्फ राजकुमार राईले दुई स्ट्रोकको अग्रता बनाएका छन्। दोस्रो स्थानमा रहेका रूपेन्द्र गुरूङ र युवराज भुजेलले ३-ओभर ७३ को कार्ड बनाए। उनीहरू प्रोफेसनल गल्फर धन बहादुर थापासँग संयुक्तरुपमा १४औं स्थानमा रहेका छन्। प्रो दल बहादुर लामा, थाम बहादुर राई, दीपक आचार्य र भुवन कुमार रोक्कासँगै एमेच्योेर खेलाडीहरू शुक्र राज राई र सुन्दर राई संयुक्तरुपमा १७औं स्थानमा रहेका छन्।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन्। दोस्रो दिनको समाप्तिमा उत्कृष्ट २१ व्यवसायिक र कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेलका लागि कट बनाउने छन्।
कूल आठ लाख पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार प्राप्त गर्नेछन्। उपविजेताले ९० हजार तथा तेश्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया