खेलकुद

म्यानचेस्टर सिटीविरुद्ध नेयमार पोचेटिनोको मुख्य हतियार बन्‍न सक्लान् ?

इकागज |
बैशाख १५, २०७८ बुधबार १९:४८ बजे

काठमाडौँ: माउरिसियो पोचेटिनो पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षक बनेको धेरै समय भएको छैन । तर पेरिसमा उनी प्रतिको विश्वास बलियो बनेको छ । अनि विश्वाससँगै चुनौती पनि उनका अगाडि छन् । 

बुधबार राती पीएसजीले म्यानचेस्टर सिटीको सामना गर्दैछ । च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा । सिटी जस्तो बलियो टिमको सामना गर्दा पोचेटिना दबाबमा त हुुने नै छन् । त्यो बाहेक, पीएसजीका खेलाडीहरूलाई आफ्नो रणनीति बुझाउने अर्को चुनौती पनि छ । 


पीएसजीमा नेयमार, किलियान एमबाप्पे लगायतका खेलाडी छन् । जो टिमको रणनीति भन्दा आफ्नो व्यक्तिगत कौशलको उपयोग गर्दै खेल्न चाहन्छन् । यस्तोमा यी स्टारहरुलाई रणनीतिको अनुशासनमा बाध्नु पोचेटिनोलाई सजिलो छैन । फेरि पीएसजीमा आफैँ पनि पोचेटिनो नयाँ छन् । जसको अर्थ हो, पोचेटिनो रणनीति पूर्णरुपमा बुझ्नलाई पीएसजीका खेलाडीहरुलाई पर्याप्त समय चाहिन्छ । 

कतारी लगानी भित्रिएपछि खरिद गरिएका मुख्य खेलाडी हुन्, ब्राजिलियन नेयमार । क्लबमा उनको उपस्थितीलाई कतारीले प्रतिष्ठाको विषय पनि बनाएका छन् । नेयमार पएिसजीमा रहिरहँदा, उनी र क्लब दुबैलाई फाइदा नै छ । नेयमार पीएसजीको सबैभन्दा ठूलो स्टार बन्न पाएका छन् भने टिम पनि बलियो बनेकै छ । फेरि नेयमारलाई स्वतन्त्रतापूर्व खेल्न पनि दिइएको छ । 

यद्यपि फुटबलमा खेलाडीको व्यक्तिगत कौशलले मात्रै उपाधि जित्न सम्भव छैन । बलियो रणनीतिको पनि आवश्यकता रहन्छ । टिममा भएका स्टारलाई आफ्नो रणनीतिको घेराभित्र कसरी ल्याउने भन्ने विषयमा ज्ञान चाहिए पोचेटिनोले ग्वार्डिओलाबाट लिन सक्छन् । किनभने ग्वार्डिओलासँग त्यस प्रकारको अनुभव छ । 

बार्सिलोनाले ग्वार्डिओलालाई प्रशिक्षक बनाइरहँदा त्यस टिममा लियोनल मेस्सी बाहेकका अर्का स्टार थिए, ज्लाटन इब्राहिमोभिच । ग्वार्डिओला र इब्राहिमोभिचबीच सम्बन्ध कहिले पनि हार्दिक भएन । उनीहरुबीच छ महिनामा एकपटक मात्रै बोलचाल भयो । इब्राहिमोभिच प्रशिक्षक ग्वार्डिओलाको खेल रणनीतिको हिस्सा बन्न सकेनन् । जसका कारण इब्राहिमोभिचको बार्सिलोना बसाई एक सिजनमै अन्त्य भयो । 

नेयमार र पोचेटिनोबीचको सम्बन्धलाई ग्वार्डिओला र इब्राहिमोभिचबीचको सम्बन्धसँग सिधा तुलना गरिहाल्ने अवस्था आइहालेको होइन । हो, पीएसजीमा नेयमर शक्तिशाली छन् । क्लबले ब्राजिलियन स्टारको महत्व पोचेटिनोको भन्दा धेरै रहेको मान्छ । तर उनी इब्राहिमोभिच भन्दा फरक प्रकारका खेलाडी हुन् । अनि पोचेटिनो पनि ग्वार्डिओला जस्ता छैनन् ।

तर नेयमार टिममा धेरै मेहेनत गर्ने खेलाडी होइनन् । न त उनी रक्षापंक्तिका साथी खेलाडीलाई सहयोग गर्छन् । त्यसकारण नेयमारलाई पीएसजीमा आफ्नो रणनीति अनुसार खेलाउन पोचेटिनोलाई सजिलो छैन । फेरि पोचेटिनोले बनाएको संरचनामा नेयमारको भूमिका भएमात्रै सिटी जस्तो विपक्षीलाई हराउन सकिन्छ । 


 


Author

थप समाचार
x