सूर्य नेपाल इस्टर्न ओपनः दोस्रो दिन शुक्रलाई अग्रता
काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन नेपाल नम्बर एक शुक्र बहादुर राईले चार स्ट्रोकको अग्रता बनाउन सफल भएका छन् ।
पार-७० को धरान गल्फ क्लबको कोर्समा उनले बोगी रहित ६-अन्डर ६४ को कार्ड तयार पार्दा समग्रमा १०-अन्डर १ सय ३० को सानदार स्कोर बनाए । यो स्कोरमा उनले पहिलो दिनका लिडर निरज तामाङलाई चार स्ट्रोकले पछि पारेका छन् । दोस्रो दिन निरजले १-अन्डर ६९ खेल्दै समग्रमा ६-अन्डर १ सय ३४ स्कोर जोडे । सञ्जय लामाले इभन-पार ७० खेल्दै ४-अन्डर १ सय ३६ सहित तेस्रो स्थानमा दोस्रो दिनको खेल सकाए । भुवन नगरकोटीले दोस्रो दिनको खेल इभन-पार ७० मा सकाउदा कुल ३-अन्डर १ सय ३७ स्कोर सहित चौथों स्थानमा रहे ।
एमेच्योर खेलाडी राजकुमार राई ३-अन्डर ६७ को स्कोरमा समग्रमा २-अन्डर १ सय ३८ को नतिजामा पाँचौ स्थानमा रहे । दोस्रो दिन ४-अन्डर ६६ को सानदार प्रदर्शन गरेका धन बहादुर थापा समग्रमा १-अन्डर १ सय ३९ सहित छैटौं स्थानमा उक्लिए । जयराम श्रेष्ठले दोस्रो दिन १-ओभर ७१ को स्कोर कार्ड बनाउदा कुल १-ओभर १ सय ४१ सहित सातौं स्थानमा रहेका छन्।
यसैगरी इभन-पार ७० खेलेका रामे मगर कुल १ सय ४२ स्कोर सहित आठौं स्थानमा रहदा १-ओभर ७१ खेलेका दिनेश प्रजापति र सुर्य प्रसाद शर्मा १ सय ४३ स्कोर सहित संयुक्तरुपमा नवौं स्थानमा छन् ।
एमेच्योरतर्फ राजकुमार राईले युवराज भुजेललाई ६ स्ट्रोकले पछि पारे । युवराजले दोस्रो दिन १-ओभर ७१ को स्कोरमा स्थानीय प्रो बलभद्र राईसँग ११ औ स्थान बाडे । बलभद्रले दोस्रो दिन २-ओभर ७२ मा खेल सकाए ।
३६ होलको समाप्तीमा अग्रता बनाउने क्रममा शुक्रले ४-अन्डर ३२ मा फ्रन्ट नाइन सकाए । पहिलो चार होलमा पार बचाएका उनले पाँचौ, छैटौ, सातौ र नवौ होलमा बर्डी प्रहार गरे । यसपछि उनले १२औं र १५ औं होलको बर्डीको मद्दतले ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे।
निरजले फ्रन्ट नाइन २-अन्डर ३४ मा र ब्याक नाइन १-ओभर ३५ मा सकाए। फ्रन्ट नाइनको तेस्रो, पाँचौ र सातौ होलमा बर्डी प्रहार गरेका निरजले चौथो र १३ औं होलमा एक-एक सट खेर फाले।
यसैगरी सञ्जय लामाले फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए। उनले चौथो र सातौ होलमा बोगी खेल्दा पाँचौ होलमा बर्डी प्रहार गरे। ब्याक नाइन १-अन्डर ३३ मा सकाउने क्रममा १० औं, १५औं र १६औं होलमा बर्डीको सफलता प्राप्त गर्दा ११औं र १५औं होलमा एक-एक सट गुमाए।
३६ होलको समाप्तीमा कुल १४-ओभर १ सय ४४ सम्म स्कोर जोडेका २१ जना व्यवसायीक तथा ६ जना एमेच्योर खेलाडीहरूले कट बनाए । प्रोफेसनलतर्फ दीपक मगर, भुवन कुमार रोक्का, दीपक आचार्य, टंक बहादुर कार्की, रमेश अधिकारी, सबिन सापकोटा, थाम बहादुर राई, रबि खड्का, दल बहादुर लामा, कमल तामाङ र पशुपति शर्माले अन्तिम १८ होलको खेलको लागि स्थान पक्का गरे ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन्।
कुल आठ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार प्राप्त गर्नेछन्। उपविजेताले ९० हजार तथा तेश्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया