नेपाली युवा शिशिर बने युएसए नेशनल च्याम्पियन
काठमाडौँ- नेशनल फिजिक कमिटि युएसए नेशनल च्याम्पियनशीप (एनपीसी युएसए नेसनल च्याम्पीएनसिप) जितेर नेपाली युवा शिशिर राना इन्टरनेशनल फेडेरेशन अफ बडीविल्डिङ एण्ड फिटनेश (आईएफबीबी) प्रो कार्ड प्राप्त गर्ने पुरुषतर्फ पहिलो नेपाली बनेका छन् । डिसेम्बरको पहिलो साता अमेरिकाको फ्लोरिडा राज्यमा भएको प्रतिस्पर्धाका लागि उनले विभिन्न क्षेत्रीय प्रतियोगिताहरू जितेर सो प्रतियोगिताको लागि छनौट भएका थिए ।
नेशनल च्याम्पियनसिपका लागि भएको कडा प्रतिस्पर्धामा रानाले आफ्नो बजन समूह, १४३.५ पाउण्ड का लागि १३ जनालाई पछि पार्दै पहिलो स्थान हासिल गरेका हुन । २५ वर्षीय रानाले सात वर्षअघि शारीरिक सुगठनको यात्रा प्रारम्भ गरेका थिए । सामान्यतः प्रो कार्ड प्राप्त गर्न कम्तीमा १० देखि १५ वर्षको नियमित अभ्यास जरुरी हुने भएता पनि रानाले निकै छोटो समयमा नै यो सफलता हासिल गरेका हुन ।
उनी कम उमेरमा प्रो कार्ड लिने केही सीमित विदेशी च्याम्पियनमा पनि परेका छन् । सात वर्षसम्मको अथक र निरन्तर अनुशासित खानपान र व्यायामले आफूलाई यो स्थानमा पुर्याएको राना बताउँछन् । ‘मैले यो सातवर्षसम्म कुनै पनि पारिवारिक भेटघाट र चाडपर्वमा सामेल हुन सकिन’ उनले भने, ‘मैले पहिलो नेपाली पुरुष प्रो कार्ड होल्डर हुने सपना बोकेर अभ्यासमा होमिएको थिए ।‘
सन् २०१४ देखि आफ्नो परिवारसँग अमेरिकाको न्युयोर्कमा बसोवास गर्दै आएका रानाले कक्षा १० सम्मको अध्ययन काठमाडौंबाटै गरेका थिए । उनी अहिले सिटी युनिभर्सिटी अफ न्युयोर्कमा मेकानिकल इन्जिनियरिङका विद्यार्थी समेत हुन् । उनले यी दुवैलाईसँगै लैजानका लागि आफूले कडा मेहनत गरिरहेको बताए ।
आइबीबी प्रो कार्ड प्राप्त गरेपछि राना समान कार्ड होल्डरसँग प्रतिस्पर्धाका लागि योग्य भएका छन्, त्यसमा छानिएका उनले बडिबिल्डिङको उच्च स्थान मिस्टर ओलम्पियाका लागि प्रतिस्पर्धा गर्ने छन् । आफ्नो अबको सपना मिस्टर ओलम्पियामा नेपालको झण्डा फहराउनु रहेको रानाले बताए ।
नेपालमा बाग्लुङ स्थायी घर भएका राना सिंह बहादुर राना र चन्द्रिकादेवी जिरेलका जेष्ठ छोरा हुन । उनका पिता सिंह बहादुर पनि नेपालमा कराँतेका राष्ट्रिय स्तरका पूर्व खेलाडी हुन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया