आहा रारा पोखरा गोल्डकप : उद्घाटन खेलमा आयोजक पराजित
पोखरा- पोखरामा बिहीबारदेखि सुरु भएको २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोलले पराजित गर्दै धरान क्वार्टर फाइनल प्रवेश गरेको हो । धरानको जितमा प्रकाश बुढाथोकीले निर्णायक गोल गरे । उनले खेलको पाँचौं मिनेटमा फ्रिकिक मार्फत गोल गरेका थिए ।
दोस्रो हाफमा दुवै टिमले केही राम्रा अवसर पाए पनि गोल हुन नसक्दा धरान विजयी बनेको हो । शुक्रबार चर्च ब्वाइज क्लब र नेपाल पुलिसबीच दोस्रो प्रि–क्वार्टर फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् । आयोजकले यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको गरेको हो ।
प्रतियोगिता हेर्न आउने दर्शकका लागि टिकट मूल्य राखिएको छ । सामान्य प्यारापिटतर्फ प्रि–क्वाटरफाइनल र क्वाटरफाइनलको टिकट मूल्य १ सय, सेमिफाइनलमा २ सय र फाइनलका लागि ३ सय टिकट मूल्य राखिएको छ । भिआईपीतर्फ २ सय, ४ सय र ५ सय टिकट मूल्य राखिएको छ ।
हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
यसपटक साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया