खेलकुद

माघमा तेस्रो टाइगर कप भलिबल हुने

इकागज |
पुस १८, २०७९ सोमबार १९:३६ बजे

पोखरा- टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा माघको दाेस्रो साता तेस्रो टाइगर कप भलिबल हुने भएको छ । आगामी माघ ८ देखि १४ गतेसम्म ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ हुने भएको हो । 

पोखरामा रंगशालामा हुने प्रतियोगितामा दुई विदेशी क्लबसहित महिला र पुरुषतर्फ ५–५ टिम गरी १० टिमको सहभागिता हुने संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जनाएका बताए । शर्माका अनुसार राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंका, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गण्डकी प्रदेशको सहभागिता रहने छ ।


यस्तै महिला तर्फ केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र होङ्गवान्जी  न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहने छ ।  

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशि दोब्बर बनाएको जानकारी दिएको छ । महिला/पुरुष दुवैतर्फ उपाधि विजेता टिमले ५/५ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक देवेन्द्र केसीले जानकारी दिए । उपविजेता टिमलाई समान नगद २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमले नगद ६५ हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए । 

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक/एक खेलाडीले जनही समान नगद २५/२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरू प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार रुपैयाँ र ट्रफीसहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लब र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेका थियो ।


Author

थप समाचार
x