नवौं राष्ट्रिय खेलकुदका पदक विजयी खेलाडी प्रदेश १ सरकारबाट सम्मानित
विराटनगर- पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ बाट पदक विजेता खेलाडीहरू मंगलबार सम्मानित भएका छन् । प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले खेलाडी, प्रशिक्षक र खेल व्यवस्थापक गरी कूल एक सय ९६ जनालाई नगदसहित सुनसरीको इटहरीमा सम्मान गरेको हो ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले खेलाडीहरूलाई सम्मानित र प्रोत्साहित गर्दै आएको बताए । खेलाडीले राज्यबाट अपेक्षाकृत सेवासुविधा नपाए पनि प्रदेश सरकारमार्फत प्रोत्साहनमूलक कार्य गरिएको उनले जानकारी दिए ।
प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले बजेट अभाव र पूर्वतयारीका लागि छोटो समय लगायतका कारणले प्रदेश १ ले अपेक्षाकृत रूपमा नतिजा ल्याउन नसकेको स्वीकार गरे । तर, प्रदेश १ को खेल क्षेत्रको वरीयता भने केही सुधार आएको उनकाे दाबी छ ।
खेलकुद क्षेत्रलाई चलायमान बनाउन बोर्डलाई मार्गनिर्देश गर्न प्रदेश सरकार र खेलकुद पदाधिकारीको महत्व हुने उनले बताए । सदस्य सचिव वाग्लेले खेलाडीको स्वास्थोपचारमा सुविधा दिने उद्देश्यले विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।
नवौं राष्ट्रिय खेलकुदमा २ स्वर्ण र १ रजत हात पारेका संखुवासभाका पौडीवाज विकास कुमाल र सफ्ट टेनिसमा ३ स्वर्ण र १ रजत पदक जितेका मोरंगका युकेश योञ्जनले प्रदेश सरकारले खेलाडीलाई सम्मान दिएर हौसला बढाएको भन्दै खुसी व्यक्त गरे । उनीहरूले खेलाडीहरूलाई प्रतियोगिता अगावै आवश्यक सामग्री र तयारीका लागि प्रदेश सरकारले लगानी बढाउनु पर्नेमा जोड दिए ।
प्रतियोगितामा प्रदेश १ बाट ३५ खेलमा खेलाडीहरू प्रतिष्पर्धामा उत्रिएका थिए । जसमध्ये १० स्वर्ण तर्फका १५ जना, २३ रजत तर्फका ३४ जना र ५३ कास्य तर्फका ९६ जना खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरिएको बोर्डकी उपाध्यक्ष जीनाजंग कार्कीले बताइन् ।
स्वर्ण पदक विजेता खेलाडीलाई नगद एक लाख, स्वर्णमै इभेन्ट्सतर्फ ७५ हजार, रजत एकलमा ७५ हजार र रजतकै इभेन्ट्समा ५० हजार, कास्य एकलमा ५० हजार र इभेन्ट्समा २५ हजार, प्रशिक्षकलाई २५ हजार र खेल व्यवस्थापकलाई २० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया